
१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका ढुंगेधारा तथा हितिहरु लोप हुँदै गएको एक अध्ययनले देखाएको छ ।
काठमाडौं महनगरपालिकाको सामाजिक विकास शाखा मार्फत अलान फाउन्डेसनले गरेको एक अध्ययनको प्रतिवेदन अनुसार महानगरभित्र १५४ वटा ढुंगेधारा तथा हिति रहेको छ । जसमध्ये अनुसार ६१ वटा पानी आउने ढुंगेधारा, ५० वटा पानी नआउने, संकटमा परेर लोप हुन लागेको अवस्थाका १० वटा, हराएका २१ वटा र फेला नपरेका १२ वटा हिति तथा ढुंगेधारा रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
अध्ययनका क्रममा ढुंगेधारा तथा हितिलाई यिनै ५ प्रकारमा बाँडेर तथ्यांक संकलन गरिएको महानगरको सामाजिक विकास शाखाले जनाएको छ ।
प्राप्त विवरणअनुसार १ सय २१ हिति भौतिक रुपमा भेटिए पनि ३३ वटाले आफ्नो निशान गुमाइसकेको अवस्था रहेको छ ।
कुन वडाका कति हिति ?
वडा नम्बर १५ र ३२ मा वडामा १२/१२ वटा हिति रहेका छन् । अध्ययनको क्रममा वडा नम्बर ११, २२, २३, २४, २५ र २७ गरी ६ वटा वडामा एउटा पनि हितिको अभिलेख नभेटिएको प्रतिवेदनमा उल्लेख छ ।
वडा नम्बर १२ र १३ मा १/१ वटा, वडा नम्बर ३, २१ र २९ मा २/२ हिति फेला परेका छन् । अध्ययन अनुसार २ र ३० नम्बर वडामा मा ३/३ वटा हिति छन् । वडा नम्बर ५, २८ र ३१ मा ४/४ वटा रहेका छन् । २० नम्बरमा ५ वटा, वडा नम्बर १, ८, १९, २६ मा ६/६ वटा हिति छन् । वडा नम्बर १८ मा ७ वटा, वडा नम्बर ४ र ७ मा ८/८ वटा, वडा नम्बर ९ र १६ मा ९/९ वटा, वडा नं. १७ मा १० वटा, वडा नं. ६ मा ११ वटा र वडा नम्बर १० मा १३ वटा हिति छन् ।
कसरी गरिएको थियो अध्ययन ?
प्रतिवदेन अनुसार भौतिक रुपमा नै उपस्थित भएर अध्ययन भएको थियो । ‘धारामा पानी आइरहेको छ, त्यो पानीको निकास राम्रो छ । मर्मत गरिएको छ । हिति मानिसहरु आएर पानीको प्रयोग गरिरहेका छन् । हिति र यसको परिसर संरचना कायम राखिएको छ भने यस्ता हितिलाई काम गर्ने प्रकारका राखिएको थियो । पानीको प्रवाह नभएका हितिलाई काम नगर्ने हितिका रुपमा राखिएको थियो,’ प्रतिवेदनमा भनिएको छ ।
बेलैमा ध्यान नदिए लोप हुने जोखिममा रहेका हितिलाई संकटमा रहेका (लोपोन्मूख) वर्गमा राखिएको थियो । अवलोकनका समयमा हितिको संरचनामा क्षति पुगेको, पानीको बहाव स्थितिलाई ध्यान नदिई वनस्पति वा अन्य वस्तु राखिएको, अन्य कुनै संरचना वा क्रियाकलापले हिटीको अस्तित्वलाई बाधा गरिएको अवस्थामा रहेका हितिलाई यस वर्गमा राखिएको प्रतिवेदनमा भनिएको छ ।
हिति थियो भनिएको ठाउँमा अवलोकन गर्दा हितिको कुनै दृश्य प्रमाण फेला नपरेको, यस अघिको तथ्यांकमा पनि नभेटिएको हितिलाई हराएका वर्गमा राखिएको थियो । यस अघिको तथ्यांकमा उल्लेख भएका तर अहिले स्थलगत रुपमा हेर्दा नदेखिएका ढुंगेधारालाई फेला नपरेको वर्गमा राखिएको थियो ।
महानगरका सामाजिक विकास महाशाखाले हिति जल प्रवाहसँग सम्बन्धित प्रणाली भन्दै जलाधार क्षेत्र, भूमिगत तह, अन्य जल भण्डार यसका स्रोत रहेको प्रतिवेदनमा ब्याख्या गरेको छ ।
प्रतिक्रिया 4