
२ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकाभित्र आफ्नो मन्त्रालय मातहतको सडकमा खाल्डाखुल्डी नभएको दाबी गरेका छन् ।
सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले उपत्यकाभित्र भौतिक पूर्वाधार मन्त्रालय मातहतका सडकमा खाल्डाखुल्डी नभएको दाबी गरेका हुन् ।
‘काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न’, उनले भने, ‘खानेपानीले समस्या बनाउँछ, विद्युतले समस्या बनाउँछ, र पनि हामीले हाम्रो मन्त्रालयअन्तर्गतका खाल्डाखुल्डी मर्मत गरेका छौँ । बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न प्रतिवद्ध छौं ।’
काठमाडौं उपत्यकाभित्र कतिपय सडक स्थानीय तह मातहत रहेका छन् भने कतिपय सडक शहरी विकास मन्त्रालय अन्तर्गत रहेका छन् । मन्त्री ज्वालाले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको सडकमा भने खाल्डाखुल्डी नभएको दाबी गरेका छन् ।
उनले तीन तहकै सरकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व कायम गरेर अघि बढ्ने हो भने पूर्वाधारको क्षेत्रमा धेरै काम गर्न सकिने बताए ।
‘तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्छ । त्यसका लागि नेपाल सरकार तयार छ । पूर्वाधार निर्माणको क्षेत्रमा, सडक निर्माण, खाल्डाखुल्डी ममर्तका कुरा हुन्, काठमाडौं उपत्यकालाई धुलो रहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनाउने कुरा होस्, यी सबै काममा सहकार्य गरेर अघि जाऔं’, मन्त्री ज्वालाले भने ।
प्रतिक्रिया 4