
काठमाडौं । द भ्वाइस अफ नेपाल हेर्नुहुन्छ भने सिक्किमका विवेक बस्नेतको गायकीले तपाईंलाई प्रभावित तुल्याएको हुनुपर्छ । शास्त्रीय संगीतको पृष्ठभूमिका यी तन्नेरी यतिबेला भ्वाइसको मञ्चमा रकदेखि फिल्मका गीत गुञ्जाइरहेका छन् ।
कोच उदय सोताङको टिमका प्रतिस्पर्धी विवेक अन्तिम ८ मा प्रवेश गरिसकेका छन् । गायकीसँगै मिजासिलो स्वभाव विवेकको अर्को खुबी हो, जसले धेरैलाई मन्त्रमुग्ध तुल्याउन सक्छ ।
नयाँ प्रस्तुतिका लागि तयार हुनुदेखि भोट माग्नेसम्मको दबाबमा उनी छन् । ‘लाइभ राउण्डमा अहिलेसम्मकै दबाब महसुस भएको छ,’ विवेकले भने, ‘सुरुदेखि नै मैले दुःख गर्नुपर्यो । सुरुदेखि नै आफूले छानेको गीत मिलेन । सुरुमा रक जनरा पर्यो, ब्याटलमा फिल्मी गीत पर्यो । त्यसपछि गजल पर्यो । लाइभमा आएर बल्ल मेरो जनरा परेको छ ।’
ब्लाइन्ड अडिसनदेखि लाइभ राउन्डसम्मको यात्रा विवेकका लागि नयाँ कुरासँग घुलमिल हुने मौका भएको छ । उनी नेपाली पप, शास्त्रीय र फिल्मी गीत रुचाइने सिक्किममा हुर्किए । त्यहीअनुसार आफूलाई तयार पारे । भ्वाइसमा चाहिं उनी पूर्वेली, पश्चिमेली र लोकदोहोरी सिक्दैछन् ।
‘सिक्किमतिर चलचित्रका गीत सुन्ने हो । यतातिर पूर्वेली र पश्चिमेली गीत भन्ने हुन्छ । नेपालभित्रका यी गीत उता धेरै सुनिंदैन । यी कुरा चुनौतीपूर्ण लाग्यो । अहिले पूर्वेली, पश्चिमेली र लोकदोहोरी सुनिरहेको छु,’ उनले भने ।
२६ वर्षका विवेक संगीतका स्नातकोत्तर हुन् । उनी सिक्किमको नाम्ची तुरुकमा संगीत विद्यालय चलाउँछन् जहाँ बालबालिका संगीत सिकिरहेका छन् । ‘म मेरो स्कुल र संगीतलाई सँगै अघि बढाउन चाहन्छु । म भुइँमान्छे । भुइँमा बसेर नानीबाबुलाई संगीत सिकाएको छु । मलाई देखेर कति प्रभावित भएका होलान् । म यो विश्वासलाई अघि बढाउन चाहन्छु,’ उनी भन्छन् ।
मातृभाषा नेपाली भएकैले विवेकलाई भ्वाइस अफ नेपालमा जोडिन सहज भयो । ‘भलै हाम्रो सिटिजन इण्डियन छ, हाम्रो मातृभाषा नेपाली हो । चाडबाड सबै उस्तै छ । हाम्रो हिन्दी हाउभाउ मिल्दैन । प्रतिस्पर्धा कडा हुन्छ उता । यहाँ नेपालीमा गाउँदा सजिलो हुन्छ,’ भ्वाइसमा जोडिनुको कारणबारे उनी खुले ।
विवेक परिवारमा संगीतको दोस्रो पुस्ता हुन् । उनका हजुरबुबा पनि संगीतमै सक्रिय थिए । हुन सक्छ हजुरबुबाको प्रभावले उनलाई संगीतमा डोर्यायो । यहीकारण उनी आफ्नो डीएनएमा संगीत देख्छन् ।
‘संगीत मेरो डीएनएमा छ । मैले जन्मिंदै लिएर आएको चीज हो यो चाहिं । राम्रो समयमा पाएको औजार हो । जिन्दगी चलाउने एउटा चीज । मान्छेको कर्म हुने रहेछ । लेखेको छ भने म्युजिकमै अघि बढिने रहेछ,’ आफ्नो सांगीतिक अभिरुचिबारे विवेकले भने ।
विश्वव्यापीकरणमा विश्वास गर्छन् विवेक । संसारको जहाँसुकै बसेपनि संगीतमार्फत विश्वव्यापी हुन सकिने उनको मत छ । ‘सिक्किममा नेपाली रियालिटी शोको लोकप्रियता राम्रो छ । म ग्लोबलाइजेसनमा विश्वास गर्छु,’ उनी भन्छन्, ‘सिक्किममा नेपाली गीत-संगीत पनि राम्रो चल्न थालेको छ । हामीले पनि मौका पायौं भने नेपालमा काम गर्ने आशा राखेका छौं ।’
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4