
२ पुस, काठमाडौं । आइतबारसम्म हाइड्रोपावर समूहमा सेयर लगानीकर्ताको उच्च आकर्षण देखिएको थियो । गत साता सबैभन्दा धेरै १३ प्रतिशत बढेको हाइड्रोपावर समूह आइतबार थप ५.५ प्रतिशत बढ्यो । केही माथि पुगिसकेको हाइड्रोपावर समूहमा सोमबार भने ब्रेक लागेको छ । सोमबार समग्र बजारको परिसूचक १.८८ प्रतिशत बढ्दा हाइड्रोपावर समूह ०.३३ प्रतिशत घट्यो ।
सोमबार धेरै कारोबारीहरुले हाइड्रोपावरका कम्पनीहरुबाट नाफा बुक गरेर माइक्रोफाइनान्समा लगानी सिफ्ट गरेको देखिन्छ । यस दिन सबैभन्दा धेरै कारोबार हाइड्रोपावर समूहकै रह्यो । कुल ६ अर्ब ८६ करोडको कारोबार हुँदा हाइड्रोपावर समूहको मात्रै २ अर्ब ३३ करोडको कारोबार भयो ।
सोमबारको कारोबारपछि माइक्रोफाइनान्स समूहको सूचक २७५९ अंकमा अडिएको छ, जुन अघिल्लो दिनको तुलनामा १९७ अंक अर्थात ५.५ प्रतिशत बढी हो । बजारमा कुल ५४ माइक्रोफाइनान्स कम्पनी सूचीकृत छन् । सोमबार धेरै बढ्नेमा पनि माइक्रोफाइनान्स समूहका कम्पनी रहे भने धेरै मूल्य घट्नेमा हाइड्रोपावर समूहका कम्पनी रहे ।
कुल ९ कम्पनीको मूल्य १० प्रतिशत बढेकोमा ५ कम्पनी माइक्रोफाइनान्स मात्रै रहे । स्वरोजगार लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त, बीपीडब्लू लघुवित्त, नेरुडे लघुवित्त, धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
लगानीकर्ता किन माइक्रोफाइनान्स क्षेत्रमा आकर्षित भए ?
एउटा क्षेत्रमा बढिसकेपछि अर्को न्यून विन्दुको क्षेत्रमा लगानीकर्ता आकर्षित हुनु स्वभाविक रहेको बताउँछन् जय शम्भो इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष अजयसिंह थापा । ‘अघिल्लो साता बीमा कम्पनीमा आकर्षण देखियो भने गत साता हाइड्रोपावर क्षेत्रमा आकर्षण देखियो, त्यसअघि होटल समूहमा पनि आकर्षण थियो,’ उनले भने, ‘यी क्षेत्रहरु केही माथि नै पुगेपछि अरु तल भएका क्षेत्रहरुमध्ये माइक्रोफाइनान्स थियो, सोमबार यो क्षेत्रमा आकर्षण देखियो ।’
सूचक न्यूनतम विन्दुमा रहेका समूहहरु क्रमिक रुपमा पालैपालै बढ्ने गरेको उनको भनाइ छ । ‘एउटै क्षेत्र सधैं बढ्दा जोखिम पनि हुन्छ, त्यसपछि कतिपय लगानीकर्ता त्यो क्षेत्रको नाफा बुक गरेर फेरि अर्को क्षेत्रमा लगानी सार्छन्, यसले जोखिम पनि कम हुन्छ, सँगसँगै नाफा पनि बुक हुन्छ,’ उनले भने ।
अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको पहिलो त्रैमासिक वित्तीय विवरण खराब आएपछि यी कम्पनीहरुको मूल्य एकदमै न्यूनतम विन्दुमा झरिसकेको थियो । यसअघि होटल तथा पर्यटन, हाइड्रोपावर, बीमा जस्ता समूहले समग्र बजार माथि बढाउन मद्दत गरे । समग्र बजार केही माथि गएपछि न्यूनतम विन्दुमा रहेको माइक्रोफाइनान्स समूहमा लगानी सारिन थालेको जानकार बताउँछन् ।
त्यस्तै नेपाल राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत ऋण तिर्न नसकेकालाई पुनर्संरचना तथा पुनर्तालिकीकरणको सुविधा दिँदा पनि माइक्रोफाइनान्स समूह बढ्न टेवा पुगेको थापा बताउँछन् ।
‘एकातिर ब्याजदर नै घटिरहेको छ, यसले माइक्रोफाइनान्सको कस्ट अफ फण्ड घटाउँछ, त्यसपछि माइक्रोफाइनान्सले पनि ऋणीका लागि केही ब्याज घटाएर नउठेको कर्जा उठाउन सहज हुन्छ,’ थापाले भने, ‘अहिलेको पहिलो त्रैमासिक वित्तीय विवरण धेरै माइक्रोफाइनान्सहरुको केही खराब आएपनि अबका वित्तीय विवरणमा सुधार देखिन जान्छ ।’
कर्जा पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा र घट्दो ब्याजदरका कारण निष्क्रिय कर्जा घटाउन माइक्रोफाइनान्सलाई सहज हुने उनको भनाइ छ । ‘नउठेको कर्जा माइक्रोफाइनान्सहरुले उठाएपछि प्रोभिजनबापत छुट्याएको रकम फिर्ता हुन गई नाफा पनि बढ्न जान्छ,’ उनले भने ।
माइक्रोफाइनान्स कम्पनीहरुले दिएको लाभांश पनि बैंक तथा हाइड्रोपावर कम्पनीहरुको तुलनामा राम्रो रहेको उनले बताए । धेरै माइक्रोफाइनान्सहरुले यो पटक १५ प्रतिशत आसपासमा लाभांश दिइरहेका छन् । हालसम्म ११ वटा माइक्रोफाइनान्स कम्पनीहरुले लाभांश दिने घोषणा गरेका छन् । केही कम्पनीले भने लाभांश नदिने सूचना सार्वजनिक गरिरहेका छन् ।
‘सबै क्षेत्रमा केही कम्पनीहरुको अवस्था कमजोर नै छ, माइक्रोफाइनान्सका पनि कतिपय कम्पनी कमजोर छन्, तर ब्याजदर घट्नु र राष्ट्र बैंकको सहजीकरणले भोलिका दिनमा माइक्रोफाइनान्सलाई बिजनेस बढाउने आधार पनि राम्रो देखिन थालेको छ’ उनले भने ।
माइक्रोफाइनान्स समूह पनि सधैं बढिरहने अवस्था नहुने उनको भनाइ छ । ‘पालैपालो क्षेत्रहरुका सूचक बढ्ने हो, माइक्रोफाइनान्स केही बढेपछि फेरि वाणिज्य बैंक, विकास बैंकहरु पनि बढ्न सक्छन्,’ उनले भने ।
प्रतिक्रिया 4