
२ पुस, काठमाडौं । युरोपेली युनियन (ईयू) को कालोसूचीमा नेपाल दोहोरिएको सन्दर्भलाई लिएर नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्स (नेवानि) बीच आरोप प्रत्यारोप जारी छ । सो ऋङ्खला संसदीय समितिमा समेत दोहोरिएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल एयरलाइन्सका पदाधिकारीहरुलाई डाकिएको थियो । बैठकमा नेवानिका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्राधिकरणबाट निरन्तर नेवानिमाथि लगाइएको आरोपको खण्डन गरे ।
उनले भने, ‘नेवानिका कारण मात्र नेपाल कालोसूचीमा परेको भए नेपाल मुलुक कालोसूचीमा पर्ने थिएन, हाम्रो कम्पनीमात्र कालोसूचीमा हुने थियो ।’
यसअघि समितिले डाकेको बैठकमा प्राधिकरणका उच्च पदाधिकारीले नेवानिको कमजोर व्यवस्थापनका कारण नेपाल ईयूको कालोसूचीमा दोहोरिएको आरोप लगाएका थिए । बैठकमा प्रेम सुवाल, एकनाथ ढकाल, शिशिर खनालसहितका सांसदले प्राधिकरण र नेवानिका पदाधिकारीलाई संयुक्त बैठकमा डाकेर छलफल गराउन समिति सभापतिलाई निर्देशन दिएका थिए । समितिले आगामी ५ पुसमा नेवानिलाई ईयूले उठाएका विषय र यसको सम्बोधनका लागि गरिएका कार्ययोजनाबारे तयारीसहित आउन निर्देशन दिएको छ ।
बैठकमा नेवानिका पदाधिकारीले ईयूले कुल २५ वटा बुँदामा प्रश्न उठाएको र त्यसमध्ये केही सम्बोधन समेत गरिएको दावि गरे । उनीहरुको भनाइले प्रश्नको सम्बोधन नगरेको भन्दै प्रकाशमान श्रेष्ठ, शिशिर खनालसहितका सांसदले प्रतिप्रश्न समेत गरेका थिए ।
प्राधिकरण र निगमबीच ईयूको कालोसूचीका सन्दर्भमा एक अर्काको कमजोर देखाउने होडबाजी चलेको छ । यसले दुवै संस्थाका कमजोरी उदांगो बनेका छन् ।
प्रतिक्रिया 4