+
+

६ महिनापछि एक्सन रुममा झुल्किए प्रधानमन्त्री

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० पुष २ गते २१:२१

२ पुस, काठमाडौं । करिब ६ महिना हुनलाग्दा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारस्थित ‘एक्सन रुम’को ढोका खुल्यो ।

गत १३ असारमा यो रुमबाट भेरी–बबई र सुनकोशी–मरिण डाइभर्सन परियोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यता छिरेका थिएनन् ।

तर, आफू प्रधानमन्त्री भएको एक वर्ष पूरा हुन लाग्दा सार्वजनिक रुपमा केही गर्न नसकेको भनेर आलोचना सुरु भएपछि प्रचण्ड ‘एक्सन रुम’मा झुल्किएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, यातायात सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल र गणेप्रसाद पाण्डेय तथा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल समेत ‘एक्सन रुममा देखिए ।

प्रधानमन्त्रीले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गर्दै आयोजनाका अधिकारीहरुसँग कामको प्रगति, समस्या र चुनौतीबारे भिडियोमार्फत कुराकानी गरे ।

प्रधानमन्त्रीलाई बुटवल–नारायणगढ सडकखण्डको दुई प्याकेजका दुई आयोजना प्रमुखहरुले गरेको ब्रिफिङअनुसार २०७९ साउनसम्म सबै काम सकिनुपर्नेमा अहिले करिब ३९ प्रतिशत मात्रै सकिएको छ ।

थपिएको म्यादअनुसार महिनामा औसत ४ प्रतिशत प्रगति (माइलस्टोन) हासिल गर्नुपर्ने यो आयोजनामा एक प्रतिशत पनि प्रगति भएको छैन । खाल्डैखाल्डा भएको यो सडकबाट यात्रा गर्ने हजारौं यात्रु दैनिक प्रभावित भइरहेको र धुलो/हिलोबाट स्थानीय पीडित रहेको रिपोर्टिङ आयोजना प्रमुखहरुले प्रधानमन्त्रीलाई गराएका थिए ।

दुबै प्याकेजको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले कामको गति नबढाएको भन्दै आयोजना प्रमुखहरुले स्थानीय तहहरुले पनि ढुंगा, गिट्टी, बालुवा उपलब्ध गराउन आनाकानी गरेको रिपोर्ट गरे । २०८१ जेठसम्म सकिनुपर्ने यो आयोजना कहिले सकिन्छ भन्नेमा आयोजना प्रमुखहरुले पनि प्रष्ट जवाफ दिन सकेनन् ।

प्रधानमन्त्रीले पर्यटकीय नगरी पोखरालाई जोड्ने मुग्लिन–पोखरा सडक खण्डको दुरवस्थाबारे पनि जानकारी लिएका छन् । पूर्वतर्फको खण्डमा केही सन्तोषजनक काम भएपनि चीनको अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले ठेक्का लिएको ४८ किलोमिटरको पश्चिम खण्ड (पोखरातर्फ) मा हालसम्म ७० प्रतिशत काम सकिनुपर्नेमा करिब ११ प्रतिशत मात्रै काम भएको छ ।

बैठकमा सहभागी प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्यालका अनुसार बिजुलीको पोल सार्न भएको ढिलाइ र निर्माण सामग्री अभाव भएर काम रोकिएको विषयलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएर समाधानका लागि निर्देशन दिएका छन् ।

‘काममा ढिलाइ हुने र त्यसका कारण लामो समयसम्म जनताले सास्ती पाउने अवस्था रहनुहुँदैन भन्नेमा प्रधानमन्त्रीज्यूको जोड छ’, अर्यालले भने, ‘तोकिएको समयभित्रै काम हुनुपर्छ भन्नेमा उहाँले ध्यानकर्षण गराउनुभएको छ ।’

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्रीले परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि नबढेको र जनताले महसुस गर्ने गरी कामको प्रगति नभएकोमा असन्तुष्टि जनाएका थिए । ‘सन्तुष्ट हुन सक्ने कुनै अवस्था देखिँदैन । हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ’, उनले भनेका छन् ।

गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने कुरा सरकारले सहजै गर्न सक्नुपर्ने भन्दै प्रधानमन्त्रीले फिल्ड कार्यालयले समस्याबारे समयमै जानकारी गराएर समाधान खोज्नुपर्ने बताए । ‘समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ, बाहना बनाएर काम भएन भन्न पाइने छैन’, उनले भने ।

प्रधानमन्त्रीले एक्सन रुमबाट रिपोर्ट लिएर परियोजनाहरुको निरीक्षणका लागि फिल्डमा नै जाने बताए । ‘अब धेरै समय विकासका कामलाई दिन्छु’, उनले भने, ‘राष्ट्रिय गौरबका योजनामा काम २ सिफ्टमा गराउनुपर्छ, गम्भीर गृहकार्य गरौं ।’

प्रधानमन्त्रीले यसअघि १३ असारमा एक्सन रुमबाट भेरी बबई र सुनकोशी मरिण गरी दुई डाइभर्सन आयोजनाको प्रगति विवरण सुनेका थिए । त्यतिबेला उनले एक्सन रुमबाट राष्ट्रिय गौरबका आयोजनाहरुको निरीक्षण गर्ने बताएका थिए ।

त्यतिबेला प्रधानमन्त्री प्रचण्डले कर्मचारीहरुलाई ‘एक्सन रुम’को प्रयोग गरेर ठूला आयोजनाको ‘लाइभ मनिटरिङ’ प्रभावकारी बनाउन र कम्तीमा महिनाको एकपटक आफूलाई पनि जानकारी गराउने कार्यतालिका बनाउन निर्देशन दिएका थिए ।

त्यसपछि १ साउनमा बसेको सचिवहरुको नियमित बैठकले एक्सन रुममा जोडिन बाँकी आयोजनाहरुलाई तुरुन्तै जोड्ने निर्णय गरेको थियो । त्यसपछि ‘कनेक्सन’ जोडेर एक्सन रुमलाई चुस्त बनाइएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरु बताउँछन् ।

करिब ६ महिनामा एक्सन रुम पुगेका प्रधानमन्त्रीले फेरि नियमित रुपमा एक्सन रुम प्रयोग गर्ने बताएर बाहिरिए ।

प्रचण्ड मात्रै होइन, सुरुवातदेखि नै प्रधानमन्त्रीहरुले विकास आयोजनाहरुको अनुगमन र आवश्यक सहजीकरणको पहल लिन एक्सन रुम प्रयोग गर्ने कुरालाई प्राथमिकता भने दिएका छैनन् ।

परियोजनालाई परेका समस्या हल गर्न प्रधामनन्त्री कार्यालयले नै पहल लिने भन्दै १५ जेठ २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यालयमै एक्सन रुम स्थापना गराएका थिए । उनी पनि एक्सन रुममा नियमित भने गएनन् । २६ कात्तिक २०७७ मा तत्कालीन उपप्रधानन्त्री ईश्वर पोखरेलले एक्सन रुम निरीक्षण गरेको रेकर्ड छ ।

ओलीपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले त झन् एक्सन रुम खोल्नै चाहेनन् । वर्तमान प्रधानमन्त्रीले पनि त्यही बाटो समातेपछि साढे ४ वर्षको अधिकांश समयमा एक्सन रुम ‘एक्सन’ विहीन रुपमै चलिरहेको छ ।

के हो एक्सन रुम ?

आधुनिक प्रविधियुक्त एक्सन रुमबाट आयोजनाको प्रत्यक्ष अनुगमन (लाइभ मनिटरिङ) गर्न सकिन्छ । कक्षबाट प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव तथा सचिवहरुले आयोजना प्रमुखसँग ‘लाइभ’ कुराकानी र छलफल गर्न सक्छन् ।

यो रुममा बसेर राजमार्ग, रेलमार्ग र सिँचाइ नहरजस्ता रेखीय पूर्वाधार बाहेकका गौरवका आयोजनाहरुमा भइरहेका काम समेत प्रत्यक्ष हेर्न सकिन्छ ।

जलविद्युत, खानेपानी र सिँचाइ आयोजनाको हेडवर्क्स, सुरुङ, आयोजनाका मुख्य निर्माणस्थल र आयोजना कार्यालयहरुमा सीसी क्यामरासहितको आधुनिक प्रणाली जोडिएको छ । आवश्यक देखिएमा प्रधानमन्त्री तथा सचिवहरुले आयोजना प्रमुखसँग एक्सन रुमबाटै सीधै रिपोर्टिङ लिन र निर्देशन दिन पनि सक्छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल अर्को हप्ता पनि २ वटा आयोजनाहरुको एक्सन रुमबाटै अनुगमन गर्ने तालिका रहेको बताउँछन् । ‘अब एक्सन रुम नियमित रुपमा खुल्छ’, उनले भने, ‘विकासका कामलाई गति दिने प्रधानमन्त्रीज्यूको प्रतिवद्धता छ, त्यसकै जगमा आवश्यकता अनुरुप एक्सन रुम उपयोग हुन्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?