
३ पुस, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा धर्मका नाममा अस्थिरता ल्याउने प्रयास भएको बताएका छन् ।
मंगलबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भारततर्फ इंगित गर्दै दक्षिणी हावाबाट नेपालमा धर्मको नाममा अराजकता निम्त्याएर देशलाई अस्थिर बनाउने प्रयास भएको टिप्पणी गरेका हुन् ।
नेता केसीले हिन्दु धर्मको वकालत गर्नु राजतन्त्रको वकालत गर्नुसरह भएको भन्दै राजतन्त्र पुनःस्थापना संभव नभएको दाबी गरे ।
बारम्बार सत्तामा पुगेका ठूला दलहरुले नागरिकको हितमा राम्रो काम गर्न नसकेकाले अहिलेको व्यवस्थाको विपक्षमा आक्रोश उत्पन्न भएको केसीले औंल्याए ।
‘दलहरुले लोकतन्त्रको सीमाभित्र रहेर राम्रो काम गर्न नसकेकै हुन्, बारम्बार सत्तामा पुग्दा पनि नागरिकको अवस्थामा खासै परिवर्तन आएन, नेताहरु मात्रै मोटाउने, भ्रष्टाचार बढेको बढ्यै भएपछि जनतामा आक्रोश आउनु स्वभाविक हो’, अध्यक्ष केसीले भने, ।
तर नेता गलत भए भन्दैमा पुरानो व्यवस्थामा फर्कन नहुने भ्न्दै उनले अहिलेको भन्दा उन्नत समाजवादी व्यवस्थामा जानुपर्ने धारणा राखे ।
नेता केसीले सत्तामा जानकै लागि गठबन्धन गर्न नहुने बताउँदै ५ दलीय गठबन्धनले संविधान जोगाउने काम भने गरेको दावी गरे । अध्यक्ष केसीले नेपालमा तीन तहको संघीयता घाँडो भइसकेको दोहोर्याउँदै देशभर प्रदेश संरचना खारेजीका लागि बलियो आवाज उठेको जिकिर गरे ।
प्रतिक्रिया 4