
३ पुस, काठमाडौं । उच्च अदालत जनकपुरका न्यायाधीश नारायण पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्य यो वर्षको उत्कृष्ट न्यायाधीश घोषित भएका छन् ।
न्यायपरिषदले आफ्नो स्थापना दिवसका अवसरमा उत्कृष्ट न्यायाधीशका रुपमा उनीहरुलाई उत्कृष्ट घोषणा गरेको हो ।
न्यायपरिषद दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरुलाई सम्मान गरे ।
न्यायपरिषदका सदस्य एवं वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडाले राज्यका अन्य निकायको तुलनामा न्यायपालिकामा काम भइरहेको दावी गरे । उनले भने, ‘न्यायपालिका चलायमान छ । उसले दह्रो भारी बोकेको छ । केही नभएको भए यसरी चलिराख्थ्यो र ?’
महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले न्यायाधीशहरुबाट हुनसक्ने भ्रष्टाचार र अनियमितताको छानबिनमा पनि न्यायपरिषद सक्रिय हुनुपर्ने माग गरे । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले विगतमा जस्तो अहिले ब्रिफकेस बोकेर न्याय बेच्ने अवस्था नभएको भन्दै न्यायालयमा भ्रष्टाचार कम हुँदै गएको बताए ।
उनले न्यायाधीशहरुको बरियताक्रमका विषयमा हालै न्यायपरिषद नियमावलीमा गरिएको संशोधन गलत भएको पनि बताए ।
प्रतिक्रिया 4