
३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपमहासचिव हरिबोल गजुरेलले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट दिएको राजीनामाबारे छलफल भएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले पदाधिकारी बैठक भएकाले राजीनामाको विषयबारे जान्नु आवश्यक रहेको बताएका थिए । ‘अध्यक्ष कमरेडले नै पदाधिकारी बैठक भएकाले यो विषयमा छलफल हुन राम्रै हुन्छ भन्नुभयो, त्यसमा अरु पदाधिकारीले पनि कुरा राख्नुभयो’, एक पदाधिकारीले भने ।
ती पदाधिकारीका अनुसार, प्रधानमन्त्री प्रचण्डले गजुरेलसँग राम्रै सम्बन्ध रहेको बताएका छन् । ‘सम्बन्ध खराब छैन, तर उहाँलाई के त्यस्तो लागेर दिनुभयो’, बैठकमा प्रचण्डले भनेका थिए ।
राजीनामाको विषय बाहिर आइसकेकाले के गर्ने भन्ने निर्णय पार्टी बैठकले गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको आग्रह थियो । ‘बाहिर त गइसक्यो । अब फिर्ता गर्ने कि स्वीकृत गर्ने भन्ने कुरा उहाँकै उहाँकै कोर्टमा छ’, प्रचण्डको भनाइ उदृत गर्दै अर्का पदाधिकारीले भने ।
अरु नेताहरुले भने यस्तो निर्णय लिदा सोचेर गर्नुपर्ने सुझाव दिएका थिए । अध्यक्ष प्रचण्ड र अरु नेताहरुले तर्क गरिरहँदा उपमहासचिव गजुरेलले भने प्रतिक्रिया जनाएनन् ।
उपमहासचिव गजुरेलले भने बैठकमा आफ्नो बोल्ने पालो नै नआएकाले केही प्रतिक्रिया दिन बाँकी रहेको बताए । ‘मेरो बोल्ने पालो नै आएको छैन, बोल्दा आफ्नो कुरा राखिहाल्छु नि’, गजुरेलले भने ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आजबाट सुरु भएको बैठकमा मुख्य एजेण्डा भने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को समीक्षा, विधान महाधिवेशन र केन्द्रीय कमिटी बैठक छन् । बैठकको पहिलो दिन तीन महिने अभियानका क्रममा भएका गतिविधिको रिपोर्टिङ भएको छ ।
अभियान ८० प्रतिशत सफल भएको रिपोर्टिङ गरेका नेताहरुले पुराना कार्यकर्ता माओवादीमा नरहेको चिन्ता गरेका थिए । पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार, पार्टीका आधा भन्दा धेरै पुराना कार्यकर्ता अभियानमा नभेटिएको नेताहरुले रिपोर्टिङ गरेका थिए ।
प्रतिक्रिया 4