४ पुस, काठमाडौं । भ्याली पब्लिकले समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषमा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा समूह एफको खेलमा भ्याली पब्लिकले काभ्रे बास्केटबल एकेडेमीलई ७२–५० ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा प्रवीण गुरुङले २५ अंक योगादन गरे ।
महिला भने भ्याली पब्लिक पहिलो खेलमा आइएसएसँग पराजित भयो । सन्ध्या डंगोलको १४ अंक सहयोगमा आईएएस नेपालले भ्याली पब्लिकलाई ५०–२३ को फराकिलो अन्तरले हरायो ।
महिलाकै अर्को खेलमा जेभियर इन्टरनेसनल कलेजले गोल्डेनगेटलाई पराजित गर्यो ।
पुरुषको अन्य खेलमा स्नोल्यान्ड, रोयल र ग्रिनफिल्डले जित हात पारे । समूह बी को खेलमा स्नोल्यान्डले हाउन्ड्सलाई ४४–३६ ले हरायो । स्नोल्याण्डका गगन राईले १७ स्कोर गरे ।
समूह ए को खेलमा रोयलले जेभियरलाई ६८–४५ ले हरायो । रोयलका श्रीयुक्ता सोले १८ अंक जोडे ।
यस्तै समूह ई को खेलमा ग्रिनफिल्डले टाइमआउटलाई ७१–६१ ले हरायो । ग्रिनफिल्डका सोनम लामाले २३ अंक जोडे ।
प्रतियोगिताको पूर्व बास्केटबल प्रशिक्षक इश्वरमान मालाकार र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगिताको पुरुषमा २० तथा महिलामा ५ टिम छन् । पुरुषमा सहभागीलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।
महिलाको प्रतिस्पर्धा सिंगल राउन्ड रोविनका आधारमा हुनेछ । लिगमा शीर्ष दुई स्थान हात पार्नेले उपाधिका लागि भिड्ने छन् ।
दुवै समूहका विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष-महिलाका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । फाइनल पुस १० गते हुनेछ ।
प्रतिक्रिया 4