
४ पुस, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको छात्राबास व्यवस्थित गर्न माग गर्दै क्याम्पसका प्रिन्सिपललाई ९ बुँदे मागपत्र बुझाएको छ ।
अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले बुधबार एक ज्ञापन पत्र बुझाउँदै छात्राबास र त्यसभित्रका भौतिक संरचनाहरूको सुरक्षा गर्न तारबार र २४ सै घण्टा सुरक्षा गार्डको व्यवस्था गर्न माग गरेको छ ।
त्यस्तै त्रिविमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि कम्तीमा ७०० विद्यार्थी अट्ने छात्राबास निर्माणको योजना बनाउन र त्रिवि सेवा आयोगले प्रयोग गरेको भवन प्रिन्सिपल कार्यालयको स्वामित्वमा ल्याई महिला छात्राबास बनाउन पनि माग गरेको छ ।
छात्राबासमा त्रिवि भन्दा बाहिरका व्यक्ति तथा समूहलाई प्रवेशमा निषेध गर्न र परिचयपत्रका आधारमा प्रवेश गराउन पनि अनेरास्ववियुले माग गरेको छ ।
ईश्वरी र कान्ति छात्राबासमा गैर विद्यार्थी रहेको गुनासो आएको भन्दै अनेरास्ववियुले नियमित अनुगमन गरी त्यस्ता विद्यार्थी वा समूहलाई तत्काल हटाउन पनि माग गरेको छ ।
कान्ति छात्राबासमा विद्यार्थीहरूका लागि नियमित खाना तथा खाजाको व्यवस्था गर्न र आवश्यक मर्मतसम्भार गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।
त्रिविमा विद्यार्थी भर्नासँगै छात्राबासमा पनि भर्ना खोल्ने प्रबन्ध गर्न र छात्राबासको सरसफाइमा विशेष ध्यान दिन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।
छात्राबासमा वाइफाइ, खाने पानी, सरसफाइका लागि पञ्जा तथा डस्टबिन, खेलकुद सामग्री (फुटबल, भलिबल, स्किपिङ, ब्याटमिन्टन), होस्टेल आउने जाने बाटोमा सडक बत्ती तथा सिसिटिभी क्यामेरा जडान, धाराको टुटी मर्मत, महिलाका लागि सेनेटरी प्याडको व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।
छात्राबासका अध्ययन कक्षमा विद्यार्थीका लागि पुस्तकहरूको व्यवस्था गर्न पनि उसले माग गरेको छ ।
प्रतिक्रिया 4