
४ पुस, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादका कारण राजीनामा नदिएको तर्क गरेका छन् ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बुधबार उपस्थित भएका शर्माले जंगीअड्डाले सात दिने सूचना मात्र जारी गरेका बेला कलेजबाट रजिष्टर ल्याएर विवाद उचालिएको दाबी गरे ।
अनलाइनखबरले १६ कात्तिकमा परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर पाण्डेको जन्ममिति झण्डै दुई वर्ष घटाएको विवरण सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रण कार्यालय स्रोतबाट प्राप्त मार्क रजिस्टरमा सुरुमा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख थियो ।
तर, पछि त्यसलाई केरेर २३ मंसिर २०२३ बनाउँदै उमेर घटाइएको थियो । उमेर सच्याएको व्यहोरा मार्क रजिष्टरको माथिल्लो भागमा पनि उल्लेख थियो ।
परीक्षा दिँदा भएको जन्ममितिलाई उनले चार वर्षपछि २५ चैत २०४२ मा सच्याएको त्यसमा उल्लेख विवरणबाट देखिन्थ्यो । जन्ममितिमा कैफियत भए प्रवेशिका परीक्षा दिएको ६ महिनाभित्र सच्याइसक्नुपर्ने प्रावधान थियो ।
यो विवरण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उमेरबारे छानबिन गर्न भन्दै रक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले जंगी अड्डालाई छानबिन गर्न भन्दै पत्र पठाएपछि रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति बनेको थियो ।
समितिले उनको जन्ममितिमा कैफियत रहेको निष्कर्ष निकालेको थियो । यसपछि पाण्डेले २४ कात्तिकमा राजीनामा दिएका थिए । तर, प्रधानसेनापति शर्माले संसदीय समितिमा कलेजको विवरण बाहिर ल्याइएको सुनाउँदै सेनालाई कमजोर बनाउने र अझै गिराउन खोज्ने तत्वले विवाद झिकेको आरोप लगाए ।

‘कलेज पढ्दा कुनै क्लर्कले गल्ती गर्दा २१, २२, २३, २४ लेखिदियो । तर, मेरो यो हो भनेर त भन्न पाउनुपर्यो नि !’, प्रधानसेनापति शर्माले भने, ‘जागिर खाने, नखानेको उमेर कहाँबाट प्रमाणित हुन्छ ? सबैभन्दा पहिले एसएलसीको प्रमाणपत्र, नागरिकता र क्यारेक्टर सर्टिफिकेट नेपाली सेना, निजामती सबैको यही आधार हो ।’
शर्माले त्यही तीन आधारमा आफूहरुले उमेर किटान गर्ने गरेको समेत बताए । ‘केही गलत भयो भने सम्बन्धित निकायले नगरेसम्म नेपाली सेनाले न्वारान गर्दैन, सिपाही एक तह माथि जाँदा पनि यही हुन्छ’, उनले भने, ‘रिकन्फर्म गर्नुपर्यो भने जसले नागरिकता दिएको हो, जिल्ला प्रशासन कार्यालयलाई सोध्ने हो ।’
त्यसरी सोधेर उमेरमा समस्या नरहेको निष्कर्षमा आफू पुगेको सेनापति शर्माले दाबी गरे । पाण्डेलाई सेनाले रथीमा बढुवाका लागि सिफारिस नभई सैनिक ऐन अनुसार सूचना मात्र जारी गरेको समेत उनले जिकिर गरे ।
‘केही भएको छ, त्यो छ भने ल्याउनु भनेको हो । रेकर्ड राख्ने विभागले प्रमोसनका लागि समिति बनाउनुअघि सिफारिस गर्दैछौं भनेको हो’, शर्माले भने, ‘तर त्यही ७ दिनमा यो खोस्टो उनीहरु पढेको कलेजबाट रजिष्टर उचालेर ल्याएको छ, यसलाई पनि पूरै छापेको भए हुन्थ्यो । चाहिने नचाहिने कुरा निकालेर गरेको थियो ।’
पछाडि संशोधित मिति भएपनि त्यो उल्लेख नगरेको सेनापति शर्माले दाबी गरे । जन्ममितिमा कैफियत थिएन भने पाण्डेले किन राजीनामा दिए ? प्रधानसेनापति शर्माको भनाइमा, नेपाली सेनामा बढुवाका लागि ‘केही व्यक्तिगत गुण’ पनि चाहिन्छ ।
‘भोलि जथाभावी बोल्दै हिँड्ने, हप्ताको एक दिन विदेशी राजदूत आउँछ, उसँग बोल्न नसक्ने । देशको कानुनको बारेमा ध्यान नहुने मान्छेलाई माथि जान दिइँदैन’, उनले भने, ‘उसको कार्यसम्पादन हेरिन्छ, त्यसपछि नेतृत्व क्षमता छ कि छैन भन्ने हेरिन्छ । भोलि जवानहरुको अगाडि गएर त्यसले नेतृत्व गर्न सक्छ कि सक्दैन हेरिन्छ ।’
उनले बढुवाका लागि सैनिक अधिकृतमा हुनुपर्ने गुणबारे थप व्याख्या गरे, ‘त्यसै हावामा बोलेको छ कि गफ दिन्छ कि ! गफ दिन त जो पनि सक्छ । उसले काम गर्न सक्छ कि सक्दैन । त्यो पनि हेरिन्छ । त्यसपछि पेशागत क्षमता हेरिन्छ ।’
सेनामा हरेक वर्ष मेडिकल जाँच पनि हुने बताउँदै उनले नमिले ठीक पारिने जिकिर गरे । सेनापति शर्माले भने, ‘उसले सोल्टी होटलमा जाँड खाएर झगडा गरेको थियो कि त्यो पनि हेरिन्छ ।’ २०८० जेठ अन्तिम साता सोल्टी होटलमा भएको एउटा घटनालाई लिएर पाण्डेविरुद्ध ‘कोर्ट मार्सल’ गर्नुपर्ने माग सेनाभित्र उठेको थियो ।
संयुक्त राष्ट्र संघको एउटा कार्यक्रमपछि भएको रात्रीभोजमा उपरथी पाण्डे नेपालस्थित भारतीय दूतावासमा कार्यरत सैनिक सहचारी अमित शर्मासँग अशिष्ट रुपमा प्रस्तुत भएका थिए । नेपालस्थित भारतीय दूतावासका ‘डिफेन्स विङ’का कर्णेल शर्मालाई उनले दुर्व्यवहार गरेको सैनिक स्रोत बताउँछ ।
प्रधानसेनापति शर्माले विभिन्न घटनाहरुतर्फ इंगित गरेपनि स्पष्ट बताएनन् ।
शर्माले थपे, ‘माननीय ज्यूहरुसँग आएर झगडा गरेको थियो कि सरकारी कर्मचारीहरुसित अर्को मन्त्रालयमा गएर झगडा गरेको थियो कि त्यो पनि हेरिन्छ । कत्तिको सहनशील थियो कि ! आफ्नै सिपाहीसँग राम्रो व्यवहार गर्न सक्छ कि सक्दैन ? लगायत हेरेर मात्र सिफारिस गर्छौं ।’
राजीनामा दिनुअघि आफूले उपरथी पाण्डेलाई आधा घण्टा राखेर ‘यस्तो विवादित भएर भोलि चिफ हुँदा कसरी चलाउन सकिन्छ’ भनेर सोधेको शर्माले बताए । ‘तपाईं मेरो बाबु जस्तो मान्छे, त्यस्तो विवादित भएर म बस्न सक्दिन छाड्छु भनेर गएको हो’, शर्माले दाबी गरे, ‘त्यसमा मेरो कुनै अन्यथा छैन, माननीयज्यूहरुलाई झुक्याउन आएको होइन ।’
तर, पाण्डेले आफूप्रति अन्याय भएको प्रधासेनापति शर्मासमक्ष बताएको सैनिक स्रोतले त्यसबेला जनाएको थियो ।
सिग्देलबारे प्रधानसेनापतिको स्पष्टीकरण
पाण्डेले राजीनामा दिएपछि वरिष्ठ उपरथी रहेका अशोकराज सिग्देललाई सिफारिस गरिएको उनले बताए ।
सिग्देलको समेत जन्ममिति फरकफरक रहेको विवरण आएको भन्दै उनले भने, ‘उसको दुई वटा नागरिकता छ भनेको छ, दुवै छ म सभापतिज्यूलाई देखाउँछु । तर, दुवै नागरिकतामा वर्ष १७ भनेको छ ।’
सिग्देलले एउटा नागरिकता रुपन्देहीबाट लिएको र हराएपछि फेरि जाजरकोटबाट ल्याएको उनले बताए । ‘तर, पहिलो नागरिकता र प्रतिलिपी दुवैमा एउटै छ, घर ठेगाना सबै एउटै छ’, शर्माले भने, ‘ढाँटेको भए पो मैले सच्याउने छ, बाहिर सच्चाएको भनेर आएको छ । तर, दुवैमा म देखाउँछु ।’
एसएलसीको प्रमाण पत्र परीक्षा नियन्त्रण कार्यालयले दिने बताउँदै उनले भने, ‘भेरिफाइ गरेर सदर गरेको छ, कुनै त्रुटि भएको छ कि ल्याउनुस् भनेका थियौं, जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई चिठी लेखेको छ । त्यो कसैले भन्दैन, खाली सेनाको बेइज्जत गर्ने हिसाबले गर्छ ।’
उनले रातदिन विवाद नहोस् भनेर गरेको प्रयास नदेखिएको भन्दै सेनालाई गलत देखाउने र सेनाको रेकर्ड प्रणाली राम्रो नभएको दाबी गरिएको समेत बताए ।
प्रतिक्रिया 4