+
+

८ जना हास्य कलाकारले अमेरिकामा ‘कमेडी टुर’ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १६:११

काठमाडौं । सांगीतिक टुरबारे त सुनिएकै हो, अब नेपाली कमेडियन टोलीले विदेशमा ‘कमेडी टुर’ समेत गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘अब हाँस्छ अमेरिका’ नामक कमेडी टुरबारे जानकारी दिइयो ।

हास्य कलाकारहरु सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापा टुरमा सहभागी हुनेछन् । टिभी रियालिटी शो कमेडी च्याम्पियनबाट उदाएका यी कलाकारले पहिलोपटक यति बृहत रुपमा विदेशमा शो गर्न लागेका हुन् ।

कलाकारको टोली दुई सातापछि अमेरिका प्रस्थान गर्ने भएको छ । आयोजक फ्लाइ–नेपाका निर्देशक विनोद अधिकारीले दुई दर्जनभन्दा बढी अमेरिकी सहरमा कार्यक्रम हुने बताए । उनका अनुसार जनवरी ५ मा भर्जिनियाबाट कमेडी टुर सुरु हुनेछ ।

मनोरञ्जनसँगै अमेरिकामा रहेका नेपालीलाई सीप सिकेर स्वदेश फर्कन आग्रह गर्ने उद्देश्य पनि रहेको उनले बताए । कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणसम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका अधिकारीले भने, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ, त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ ।’

पत्रकार भेटघाटमा बोल्दै कमेडियन क्षेत्रीले आफूले अमेरिकामा विभिन्न अवसरमा कार्यक्रम गरेको भए पनि यसपटक भने भिन्न हुने बताए । ‘अमेरिकामा धेरै पटक कार्यक्रम गरेको अनुभव छ । तर हास्य कलाकारको टोलीसँग मात्र मेरो पनि यो पहिलो कार्यक्रम हो । कार्यक्रमलाई लिएर हामी उत्साहित छौं, अमेरिकामा हाम्रो कार्यक्रम हेर्न आउनुहुने दर्शकलाई सन्तुष्ट बनाउने कुरामा सचेत पनि छौं,’ उनले भने ।

उनले एक समय अमेरिका यात्राकै क्रममा के गर्छस् भनेर सोधिंदा स्ट्यान्ड अप कमेडियन हुँ भन्दा उनीहरुले दिएको सम्मानले यो पेशाप्रति नै गर्व लागेको पनि अनुभव सुनाएका थिए ।

भरतमणि पौडेलले महजोडीपछि हास्य कलाकारको टोली मात्र यति लामो भ्रमणमा निस्कन लागेको बताउँदै परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको जनाएका थिए ।

एक महिनाभन्दा बढी समय चल्ने टुर ह्यारिसबर्ग, मेरिल्याण्ड, पिटसबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युह्याम्पसायर, कोलोराडो, सिकागो, मिसिगन, ह्युस्टन, डल्लास, अस्टिन, लस भेगास, लस एन्जलस, सनफ्रान्सिस्को लगायत सहरमा आयोजना हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?