
५ पुस, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले शुक्रबार पुनः २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बिहीबार विकास ऋणपत्र बोलकबोल मार्फत सरकारले ७ अर्ब आन्तरिक ऋण उठाउँदा समेत अन्तरबैंक ब्याजदर तलै बसेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्न लगेको हो ।
बिहीबार ५ वर्ष अवधिको लागि ७ अर्बको विकास ऋणपत्र बोलकबोल हुँदा ५.५६ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले ७ अर्बको ऋणपत्रमा ३५ अर्ब १२ करोडको बोलकबोल पेश गरेका थिए ।
पछिल्लो समय करिब २ प्रतिशतको निक्षेप संकलन उपकरणमा राष्ट्र बैंकमा निक्षेप राखिसकेको अवस्थामा दीर्घकालीन विकास ऋणपत्र बोलकबोल हुँदा त्यसमा बैंकहरुले ५.५६ प्रतिशत ब्याजदरमै बैंकहरु लगानी गर्न तयार भएका हुन् ।
बिहीबारको विकास ऋणपत्र बोलकबोलपछि पनि अन्तरबैंक ब्याजदर करिब २ प्रतिशत नजिक रहेकोले शुक्रबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए ।
‘बैंकिङ प्रणालीमा तरलता धेरै नै भएको अवस्था होइन । कर्जा विस्तार पनि भइरहेको छ । त्यसको अनुपातमा निक्षेप वृद्धि बढी देखिन्छ,’ उनले भने, ‘अन्तरबैंक ब्याजदर तल रहेकोले निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो । शुक्रबारको निक्षेप संकलन उपकरणको औसत ब्याजदर ३ प्रतिशतसम्म भए २५ अर्ब नै निक्षेप अक्सन हुन्छ, ब्याजदर ३ प्रतिशत माथि हुने अवस्थामा कम पनि हुनसक्छ।’
४ पुसमा पनि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २५ अर्ब तलता खिचेको थियो । जसको अधिकतम ब्याजदर २.९८ प्रतिशत र न्युनतम ब्याजदर २.४९ प्रतिशतमा बैंकहरुले बोलकबोल गर्दा औसत ब्याजदर २.७७७६ प्रतिशत कायम भएको थियो ।
३ पुसमा १० अर्ब र १ पुसमा पनि १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएको थियो । ६ गते नै २५ अर्बको निक्षेप संकलन उपकरण परिपक्व हुँदैछ । सो समेत गरेर राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिचेको तलरता ७२ अर्ब २५ करोड छ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएको उपकरणहरु मध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो ।
यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ । जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।
प्रतिक्रिया 4