+

मैयादेवी श्रेष्ठ स्मृति अन्तर प्रदेश महिला टी २० क्रिकेट माघको दोस्रो साता

२०८० पुष  ५ गते २०:१६ २०८० पुष ५ गते २०:१६
मैयादेवी श्रेष्ठ स्मृति अन्तर प्रदेश महिला टी २० क्रिकेट माघको दोस्रो साता

५ पुस, चिवतन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले मैयादेवी श्रेष्ठको स्मृतिमा अन्तर प्रदेश राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाली कांग्रेसकी पूर्व माननीय तथा प्रजातन्त्र सेनानी, दानवीरंगना स्वं श्रेष्ठको स्मृतिमा आयोजना हुने प्रतियोगिता चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुनेछ ।

प्रतियोगितामा सात वटै प्रदेशबाट गरी १०० बढी यू १९ महिला खेलाडीको सहभागीता रहने महासचिव सुवोध प्रधानले बताए । प्रतियोगिता माघको १५ गतेदेखि २७ गते सम्म आयोजना हुने छ ।

सन् २०२४ मा नेपालमा हुन गईरहेको विश्वकपको एसिया कप छनोटलाई समेत मध्यनजर गर्दै खेलाडीको प्रतिभा मूल्याङ्कनमा समेत यो प्रतियोगिता कोशेढुङ्गा सावित हुने लोकतान्त्रिक खेलकुद संघले विश्वास लिएको छ ।

मैया देवी को हुन् ?

समाजसेवी एवं पूर्व सांसद मैयादेवीको जन्म वि.स.१९८७ असोजको फूलपातीका दिन तनहूँको बन्दीपुरमा भएको थियो । उनी १ महिनाको हुँदा बाबु आमासँगै चितवन आएकी थिइन् ।

वीरगञ्जमा डिठ्ठा रहेका उनका वुवा वीरबहादुर श्रेष्ठको निधनपछि सानै उमेरबाट आमा गणेशकुमारी श्रेष्ठको ममतामा हुर्किएकी मैयादेवीले आमा र बावुकै प्रेरणाले केही सम्पत्ति सामाजिक कार्यमा लगाइन् । नारायणगढमा हाल सञ्चालनमा रहेको बालकुमारी कन्या स्कूललाई १० कठ्ठा जग्गा दान दिएर दार्जलिङ्गदेखि शिक्षक बोलाएर उनले पठन पाठन शुरु गराएकी थिइन् ।

२०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनीत राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद रहेको मैयादेवीले कांग्रेसको केन्द्रीय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान गरेकी थिइन् । त्यहाँ अहिले नेपाली कांग्रेसकै भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय कार्यालय रहेको छ ।

यसैगरी भरतपुरमा मैयादेवी कन्याकलेज स्थापनाका लागि करोडौँ रुपैयाँ खर्च गरेकी थिइन् । गोरखामा पार्टी कार्यालय बनाउनकै लागि २० लाख रुपैयाँ दान गरेकी थिइन् । नेपाली कांग्रेस देवघाटका लागि घडेरी दान गरेकी उनले लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन चितवनको भवन बनाउनका लागि पनि जग्गा दिएकी थिइन् ।

पिस फेडेरेसनलाई भरतपुर ११ मा, नारायणचारी बाबालाई देवघाटमा, महेश संन्यास आश्रमदेवघाटलाई, पतन्जली योग समिति नारायणगढमा, नेवा पुःचलाई नारायणगढ लगायतलाई उनले जग्गा दान गरेकी थिइन् ।

श्रेष्ठ २००३ सालदेखि कांग्रेसमा लागेकी उनले धेरैलाई जग्गा दान गरेकी थिइन् भने २०७२ सालमा मैयादेवी ट्रष्ट खोलेकी थिइन् । उनको २०७९ कार्तिक ५ गते भरतपुरमा ९२ वर्षको उमेरमा निधन भएको थियो ।

मैयादेवी श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय