+

एनएसएलको अंक तालिका रोमाञ्चक, चार खेल बाँकी हुँदा प्लेअफ पुग्ने दुई टोलीको टुङ्गो हुन बाँकी

२०८० पुष  ६ गते ८:१४ २०८० पुष ६ गते ८:१४
एनएसएलको अंक तालिका रोमाञ्चक, चार खेल बाँकी हुँदा प्लेअफ पुग्ने दुई टोलीको टुङ्गो हुन बाँकी

६ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ जति अघि बढ्दै गयो उति यसमा रोमाञ्चकता थपिन थालेको छ । पछिल्ला केही खेलको नतिजाले एनएसएललाई थप रोमाञ्चक बनाएको छ भने शीर्ष चारमा रहेर प्लेअफमा को पुग्नेछ भन्ने चासो समेत उत्तिकै बढेको छ ।

९ टिम सहभागी प्रतियोगितामा अहिलेसम्म लिग चरणका ३६ मध्ये ३२ खेल सकिएका छन् । तर प्लेअफ पुग्ने दुई वटा मात्र टोलीको टुङ्गो लागेको छ । लिग चरणमा अब जम्मा चार खेल मात्र बाँकी छ र प्लेअफ पुग्ने पुरा चारै टोलीको टुङ्गो शनिवार साँझ हुने लिगको अन्तिम खेलपछि मात्र लाग्ने छ ।

अहिलेसम्म पोखरा थण्डर्स र धनगढी एफसीले प्लेअफमा स्थान पक्का गरिसकेका छन् भने बाँकी दुई स्थानको लागि चार टोली होडमा छन् ।

पहिलो पटक एनएसएल खेलेको स्पोर्टिङ इलाम एफसीसहित बुटवल लुम्बिनी एफसी र एफसी चितवन भने प्लेअफ होडबाट औपचारिक रुपमै बाहिरिसकेका छन् ।

दाबेदार टिमको हार

यस साता एनएसएलमा भएको खेलमा केही अप्रत्यासित नतिजा आए भने उपाधिको दाबेदार मानिएका टोलीहरु पराजित भए । सोमबार साविक विजेता काठमाडौं रेजर्स र साविक उपविजेता धनगढी एफसी बीच भएको खेल १–१ को बराबरीमा टुङ्गिएपछि लिगमा रोमाञ्चकता सुरु भएको थियो । त्यस खेल जितेको भए धनगढीले प्लेअफमा स्थान पक्का गर्ने थियो । तर बराबरीले थप कुर्नुपर्यो ।

त्यसपछि मंगलबार प्लेअफ होडबाट बाहिरिसकेको स्पोर्टिङ इलामले ललितपुर सिटीको अपराजित यात्रालाई टुंग्याइदियो । इलामले ललितपुरलाई १–० ले हराएर लिग खुशीका साथ सकायो । तर ललितपुरको लागि भने यो हारले ठूलो धक्का लाग्यो । इलामलाई हराएको भए ललितपुरले पनि प्लेअफमा स्थान पक्का गर्ने थियो ।

यस्तै बुधबार भएको खेलमा झापाले अर्को अपराजित टोली धनगढी एफसीको अपराजित यात्रा टुङ्ग्यायो । दश खेलाडीमा सीमित रहे पनि झापाले धनगढीलाई २–० ले हराएपछि लिगमा थप रोमाञ्चक थपियो । धनगढीले यस पटक पनि खेल जितेर प्लेअफमा पुग्ने अवसर गुमायो ।

उता झापाले प्लेअफ होडमा आफ्नो दाबेदारीलाई कायम राख्यो । झापाका लागि कप्तान अन्जन विष्टले यस सिजन पहिलो गोल गरे । सुरुमा झापाको टिममा के नमिलेको जस्तो देखिएको थियो । अन्जन आफैँ पनि चोटका कारण केही खेलमा बाहिर रहे । तर जब अन्जनले कमब्याक गरे झापाले मज्जाले खेल्न थाल्यो र जित निकाल्न सफल भयो । यसको कारण अन्जन आएपछि अहिले टिमले सही नेतृत्व पायो अनि टिममा विश्वास पनि बढेको उनै अन्जनले बताए ।

बिहीबारको अप्रत्यासित नतिजा

बिहीबार अर्को खेल भयो जसमा कसैले नसोचेको नतिजा आयो । एनएसएलको नयाँ टिम वीरगञ्जले खराब सुरुवात गरे पनि पछिल्ला खेलहरुमा नतिजा सुधार गर्दै साविक विजेता काठमाडौं रेजर्सलाई ४–१ को हार चखायो । जसमा घानाका खेलाडी विलियम ओपोकुले ह्याट्रिक गरे ।

यो हार काठमाडौंका लागि महँगोसमेत बन्न सक्नेछ । किनकी उपाधि रक्षा होडमा रहन अब काठमाडौंले ललितपुरविरुद्ध लिगको अन्तिम खेल जित्नैपर्ने छ । यस्तोमा काठमाडौंका लागि गर या मरको अवस्था हुनेछ ।

काठमाडौंका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि स्वीकारे कि टोलीले राम्रो खेलेन । ‘मेरो कोचिङ करियरमै यो सबैभन्दा ठूलो हार हो । यस्तो मैले कहिले भोगेको थिइनँ,’ महर्जनले भने ।

दाबेदार मानिएका टिमहरु एकपछि अर्को गर्दै पराजित भएपछि लिग रोमाञ्चक बनेको छ ।

अंक तालिकाको उथलपुथल

अहिलेसम्म पोखरा थण्डर्सले मात्र प्लेअफमा स्थान पक्का गरेको छ । काठमाडौं र ललितपुरको हारपछि पोखराले शीर्ष दुईमै स्थान पक्का गर्दै पहिलो क्वालिफायर खेल्ने समेत पक्का भएको छ । यसले पोखरालाई डबल फाइदा हुनेछ ।

पहिलो क्वालिफायर जिते सिधै फाइनल पुग्नेछ भने पराजित भएमा पनि अर्को अवसर पाउनेछ ।

पोखराले ७ खेलमा ४ जित २ बराबरी र १ हारको नतिजाबाट १४ अंक जोडेर शीर्ष स्थानमा छ ।

पोखराले लिगको आफ्नो अन्तिम खेल शुक्रबार दिउँसो धनगढी एफसीसँग खेल्नेछ ।

यस्तै साविक उपविजेता धनगढी ७ खेलबाट ३ जित, ३ बराबरी र १ हारको नतिजासहित १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

शुक्रबार भिड्दै पोखरा र धनगढी

पोखरा र धनगढीबीच शुक्रबार दिउँसो हुने खेलले शीर्ष स्थानमा रहने टिमको टुङ्गो समेत लाग्नेछ । पोखरालाई बराबरी नतिजा नै शीर्ष स्थानमा रहन पर्याप्त हुनेछ । यस्तै पोखरालाई जिते धनगढी शीर्ष स्थानमा पुग्नेछ र पहिलो क्वालिफायर पनि यीनै दुई टिमबीच हुनेछ ।

त्यसपछि ललितपुर सिटी एफसी र झापा एफसीको समान १० अंक छ । गोल अन्तरमा ललितपुर अघि रहँदै तेस्रो स्थानमा छ र झापा चौथो स्थानमा छ । दुवैले समान २ जित ४ बराबरी र १ हारको नतिजा निकालेका छन् ।

साविक विजेता काठमाडौं रेजर्स ७ खेलबाट ९ अंकसहित पाँचौ स्थानमा यथावत छ । काठमाडौंलाई हराएको वीरगञ्ज ८ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ र शीर्ष चारमा पुग्ने सम्भावना समेत जिवितै राखेको छ ।

९ टोली सहभागी लिगमा अब अन्तिम चरणको चार खेल बाँकी छन् । ८ वटै खेल खेलिसकेको इलाम अन्तिम खेलमा ललितपुरलाई हराएर छैटौं स्थानसम्म पुगेको थियो । तर वीरगञ्जको जितले टोली एक स्थान तल झरेको छ र त्यो स्थान अझै तल पनि पुग्न सक्छ यदि बुटवल लुम्बिनी र एफसी चितवनले आफ्नो अन्तिम खेल जितेमा । इलाम ८ अंकसहित सातौँ स्थानमा छ । लुम्बिनी ६ अंकसहित आठौं र चितवन ६ अंकसहित पुछारमा छ ।

कसलाई कस्तो नतिजा चाहिन्छ ?

पोखराले प्लेअफ होडमा स्थान पक्का गरिसकेको छ । अब प्लेअफ पुग्ने होडमा रहेका पाँच टिमलाई कस्तो नतिजा चाहिएला ?

सुरुमा धनगढीको कुरा गरौँ । धनगढीले शुक्रबार पहिलो खेलमै पोखरासँग खेल्नेछ । यो खेलले शीर्ष स्थानमा को रहन्छ भन्ने टुङ्गो लाग्नेछ । यदि पोखरा विजयी भए वा बराबरीमा रोकिए पनि शीर्ष स्थानमै रहनेछ । यदि धनगढीले जित हात पारे धनगढी पहिलो स्थानमा उक्लनेछ र पोखरा लिगमा दोस्रो हुनेछ । अहिलेसम्म पोखराले कम्तीमा शीर्ष स्थान पक्का गरिसकेको छ ।

धनगढीले जितेमा शीर्ष दुई स्थान पक्का गर्दै पहिलो क्वालिफायर खेल्नेछ । पराजित भएमा पनि धनगढीको शीर्ष दुईमा रहने सम्भावना बाँकी रहन्छ तर त्यसका लागि अन्त खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

त्यसपछि छ ललितपुर । ललितपुर र काठमाडौंबीचको खेल नै लिगको अन्तिम खेल हुनेछ । ललितपुरको १० र काठमाडौंको ९ अंक छ । शनिवार साँझ हुने यस खेलबाट एक टिम प्लेअफ पुग्दा अर्को टोली बाहिरिनेछ । त्यसैले यो खेल दुवैका लागि ‘डु अर डाई’ (गर या मर) को रुपमा छ । अझ भनौं फाइनल जस्तै ।

ललितपुर बराबरीले पनि प्लेअफ पुग्न सक्छ तर त्यसअघिका खेलको नतिजा कस्तो आउँछ त्यो हेर्न बाँकी छ । काठमाडौंका लागि पनि त्यस्तै अवस्था छ, अझ जित्नै पर्ने चुनौती छ ।

काठमाडौंले ललितपुरलाई हराएमा शीर्ष चारमा पुग्नेछ र उपाधि रक्षा अभियानमा अघि बढ्नेछ । यदी पराजित भएमा भने काठमाडौं बाहिरिनेछ ।

यस्तै ललितपुर समान १० अंक छ झापा एफसीको । झापाले शुक्रबार साँझ आफ्नो अन्तिम खेल चितवनसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा झापाले प्लेअफमा स्थान पक्का गर्नेछ । शुक्रबार यदि धनगढी पोखरासँग पराजित भएमा र झापा विजयी भए झापा दोस्रो स्थानमा उक्लनेछ ।

त्यसपछि वीरगञ्ज ८ अंकसहित छैटौं स्थानमा छ । वीरगञ्जले प्लेअफमा स्थान बनाउन आफ्नो अन्तिम खलेमा शनिवार बुटवल लुम्बिनीलाई हराउनैपर्नेछ । यस्तै अन्य दुई खेलमा पनि आफू अनुकुल नतिजा आउनुपर्नेछ ।

झापा एफसी शुक्रबार पराजित भएमा र वीरगञ्जले शनिवार बुटवल विरुद्ध जित हात पारे शीर्ष चारमा पुग्नेछ । यस्तोमा ललितपुर र काठमाडौंबीच शनिवारको अन्तिम खेलमा जस्तो नतिजा आएपछि वीरगञ्जले शीर्ष चारमा रहेर प्लेअफमा स्थान बनाउनेछ ।

एनएसएल नेपाल सुपर लिग
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय