
काठमाडौं । दयाहाङ राई अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन् । यो समाचार लेखुञ्जेल उनका आठ फिल्मको प्रदर्शन मिति तय छ । उति नै संख्यामा फिल्म छायांकनमा जाँदैछन् । ‘अफर’ गरिएका फिल्मको सूची लामो हुन सक्छ ।
एक समयमा राजेश हमालको व्यस्ततालाई बिर्साउने गरी दयाहाङ यतिबेला सर्वाधिक ‘डिमान्डेड’ छन् । तर उनको बक्स अफिस नतिजा मिश्रित छ । परिस्थिति यस्तो छ कि एउटै मितिमा उनका दुई फिल्म रिलिज हुँदैछन् ।
शुक्रबार उनको नयाँ फिल्म ‘घरज्वाइँ’को प्रदर्शन मिति घोषणा भएको छ । माघको तेस्रो सातादेखि सुटिङ सुरु हुने यो फिल्मको प्रदर्शन असार २८ गतेलाई तय गरिएको छ ।
यसबाहेक उनी अभिनित दुई फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ माघ २६ मा रिलिज हुँदैछन् । उनका अन्य फिल्महरु ‘रंगेली’ फागुन २५, ‘डिग्री माइला’ वैशाख १, मनसरा वैशाख २१, ‘गाउँ आएको बाटो’ जेठ १८ र ‘वरिष्ठ बलराम’ तीजमा रिलिज हुँदैछन् ।
छायांकन सम्पन्न भइसकेको ‘राजागञ्ज’को प्रदर्शन मिति तय हुन बाँकी छ । छायांकन हुन बाँकी उनका फिल्ममा भूठान, कार्साङ, रिमै, लोकल हिरो, दुःखी आत्मा, घरज्वाइँ, मनसरा र वरिष्ठ बलराम छन् ।
प्रतिक्रिया 4