
६ पुस, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सधैं निरन्तरतामा क्रमभंगताको कुरा गरेको भन्दै अब नयाँ ढंगले कामलाई अगाडि बढाउने बताएका छन् ।
मोरङको मिक्लाजुङ–५ मा माओवादी केन्द्रले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले एक वर्ष पुगेको भोलिपल्टदेखि नयाँ ढंगले काम सुरु गर्ने बताएका हुन् ।
‘तपाईँहरुलाई थाहा छ मैले जहिले पनि निरन्तरतामा क्रमभंग गर्दै विकास गर्ने कुरा गर्दै आएको छु’, उनले भने, ‘१० गते मेरो १ वर्ष पूरा हुन्छ । १० गतेका दिन नै म राष्ट्रको नाममा सम्बोधन गर्ने र ११ गतेबाट नै जनताका कामहरु अगाडि लाने मैले प्रतिवद्धता व्यक्त गरिसकेको छु ।’
उनले सिंहदरबारमा विभिन्न मन्त्रालयहरुलाई बोलाएर उनीहरुका काम ठिक ढंगले भए नभएको बारेमा जानकारी लिएको समेत बताए ।
‘प्रतिबद्धता व्यक्त गरेको कामहरु पनि कतिपय मन्त्रालयहरुले पूरा गरेका छैनन् । त्यस्ता मन्त्रालयहरुलाई पुनर्गठन गरेर मन्त्री फेरेर भए पनि कामलाई गति दिने तिर मैले प्रतिवद्धता व्यक्त गरेको छु’, उनले भने ।
तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि आफूले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढाउने पक्षमा भूमिका खेलेको उनले बताए ।
उनले पहिचानको विषय प्रदेश नामाकरणको विषयमा त्यहाँका जनताहरुको चिन्ता र चिन्तन आफूलाई राम्रोसँग थाहा भएको भन्दै सबै राजनीति दल र आन्दोलनरत सबै संस्थासँग संवाद गरेर सकारात्मक ढंगले समाधान गर्न पहल गर्ने विश्वास समेत उनले दिलाए ।
प्रतिक्रिया 4