+

ह्याट्रिक गर्छु भन्ने फिलिङ खेल अघि नै थियो : विलियम

२०८० पुष  ६ गते १७:३९ २०८० पुष ६ गते १७:३९
ह्याट्रिक गर्छु भन्ने फिलिङ खेल अघि नै थियो : विलियम

६ पुस, काठमाडौं । वीरगञ्ज युनाइटेडका विदेशी खेलाडी विलियन ओपोकु ओसेडु जारी नेपाल सुपर लिग एनएसएलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

उनले बिहीबार साविक विजेता काठमाडौं रेजर्स विरुद्ध ह्याट्रिक गरेका थिए । एनएसएलको इतिहासमा यो दोस्रो ह्याट्रिक हो ।

पहिलो सिजनमा काठमाडौंका मेसुके ओलोमाउले विराटनगर सिटी विरुद्ध लिगकै पहिलो ह्याट्रिक गरेका थिए । यस पटक विराटनगर सिटी एनएसएलमा छैन ।

तर तीन नयाँ टोली थपिएको यो सिजनमा थपिएकै मध्येको एक वीरगञ्ज युनाइटेडकै खेलाडीले साविक विजेता टिम काठमाडौं विरुद्ध ह्याट्रिक गरेका हुन् ।

विलियमकै ह्याट्रिकमा वीरगञ्जले काठमाडौं विरुद्ध ४-१ को पुनरागमन जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना समेत कायम राखेको छ । अब वीरगञ्जले लिगको आफ्नो अन्तिम खेल शनिबार बुटवल लुम्बिनी विरुद्ध खेल्नेछ ।

काठमाडौं विरुद्धको खेलअघि नै आफूलाई ह्याट्रिक गर्छु भन्ने अनौठो फिलिङ आएको विलियमले खुलाए ।

‘ह्याट्रिक गर्दा निश्चिय नै खुशी लागिहाल्छ । मैले काठमाडौं विरुद्धको खेलअघि नै आज म ह्याट्रिक गर्छु भनेर टिममेटलाई भनेको थिएँ । मलाई खै किन हो त्यस्तै फिलिङ आएको थियो । उनी हाँसेका थिए,’ विलियमले भने, ‘तर मैले खेलमा ह्याट्रिक गरेँ । खेलपछि उनै खेलाडीले आएर मलाई बधाई दिए ।’

खेलमा एनकुनगुए जुनियरले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । तर उनै विलियमले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टीमार्फत वीरगञ्जका लागि बराबरी गोल गरेका थिए ।

दोस्रो हाफको सुरुमै सुनिल खड्काले गोल गर्दै वीरगञ्जलाई २-१ को अग्रता दिलाएका थिए । त्यसपछि विलियनले ५६औं र ५७औं मिनेटमा लगातार गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने वीरगञ्जलाई ४-१ को अग्रता दिलाए ।

रमाइलो संयोग के भने दुवै गोलका लागि विलियमलाई सुशील लामाले असिस्ट गरेका थिए । ५६औं मिनेटमा सुशीलको कर्नरमा विलियमले गोल गरेका थिए । यस्तै ५७औं मिनेटमा सीशिलले आफ्नै बक्सबाट दिएको लामो पासमा विलियमले काउन्टरमा अघि बढ्दै बक्स बाहिरबाट भलि प्रहार गरी गोल गरेका थिए ।

सुशील लामासँग उनको राम्रो कम्बिनेसन जमेको थियो । ‘खेलअघि नै हाम्रो कुरा भएको थियो । सुशीलले बल पाएपछि मलाई उपलब्ध गराउने । उनले त्यही अनुसार काम गरे’, विलियमले भने ।

दोस्रो हाफमा विलियमले करिब ७० सेकेण्डको बीचमै दुई गोल गरे । उनले दोस्रो गोल गरेपछि काठमाडौंको टिम सम्हालिन नपाउँदै अर्को गोल थपे । ‘योजना अनुसार नै सुशीलले मलाई लामो पास दिएका थिए । काठमाडौंका किपर पोजिसनमा थिएनन् र मैले भलि प्रहार गर्दै गोल गरें’, उनले ह्याट्रिक गर्दा खुशी लागेको बताए ।

एनएसएलमा दोस्रो सिजन

घानाका यी २६ वर्षीय अट्याकिङ मिडफिल्डरले दोस्रो पटक एनएसएल खेलिरहेका छन् । उनी सन् २०२० मा फुटबल खेल्न नेपाल आएका थिए । त्यसबेला उनले पहिलो संस्करणको एनएसएल बुटवल लुम्बिनीबाट खेलेका थिए ।

दोस्रो संस्करणमा भने उनले वीरगञ्जबाट खेलिरहेका छन् । त्यो बेला बुटवल लुम्बिनी चौथो स्थानमा रहेर प्लेअफमा पुगेको थियो । तर एलिमिनेटरमा ललितपुर सिटीसँग पराजित भएपछि बुटवल बाहिरिएको थियो । बुटवलका लागि भने उनले कुनै गोल गरेका थिएनन् ।

नेपाल आउनुअघि उनले सन् २०१७ मा भारतको मिनेर्भा पञ्जावबाई आइ लिग खेलेका थिए । त्यतिबेला मिनेर्भाको गोलकिपर नेपालका किरणकुमार लिम्बु थिए । किरणसँग खेल्दा राम्रो अनुभव भएको विलियमले बताए ।

सन् २०१७ मा विलियमले घानाको यू-२० राष्ट्रिय टिमबाट यू-२० अफ्रिकन कप अफ नेसन्स खेलेका थिए । त्यसेमा राम्रो प्रदर्शन गरेपछि उनलाई इंग्ल्याण्डको मिडल्सब्रोले ट्रायलका लागि बोलाएको थियो । ‘यू-२०मा  राम्रो प्रदर्शन गरेपछि मिडल्स्ब्रोले ट्रायलको लागि बोलाएको थियो । तर वर्क परमिटले गर्दा फस्ट टिमबाट खेल्न पाइँन ।’ ६ महिना त्यहाँ रहँदा उनले मिडल्स्ब्रोको दोस्रो टिमबाट मात्र खेलें ।’

एनएसएलको बीचमा विलियमले शहीद स्मारक ए डिभिजन लिग खेलेका थिए । लिगमा उनले सातदोबाटो युथ क्लबबाट खेलेका थिए ।

अर्को संयोग के भने सातदोबाटोमा खेल्दा उनको प्रशिक्षक सनोज श्रेष्ठ थिए । यस पटक वीरगञ्जमा पनि मुख्य प्रशिक्षक उनै सनोज श्रेष्ठ छन् । सनोज श्रेष्ठले नै यस पटक विलियमलाई वीरगञ्ज ल्याउन पहल गरेका थिए । यो जोडीले राम्रो नतिजा पनि दिइरहेको छ ।

‘उहाँले जहिल्यै मलाई राम्रो गर्न पुस गरिरहनुहुन्छ । उहाँसँग खेल्दा राम्रो हुन्छ’, विलियमले भने, ‘उहाँले मलाई राम्रोसँग चिन्नु भएको छ ।’

विलियम बाहेक वीरगञ्जका विदेशी खेलाडीमा घानाकै ओबेड ओसुवु, अइकिन्स क्यई बाउफोर तथा कंगोका सामाला जेड छन् । घानाकै हान्स क्वोफीले सुरुको केही खेल खेले पनि चोटका कारण उनले त्यसपछि खेलेका छैनन् ।

त्यसैले वीरगञ्जले पछिल्ला खेलहरुमा चार विदेशी मात्र खेलाउँदै आएको छ । यस पटक एनएसएलमा ६ विदेशी खेलाडी राख्न पाउने र एकै पटक पाँच विदेशी मैदान उतार्न पाउने प्रावधान छ ।

विदेशी खेलाडी धेरै राख्दा नै यस पटक एनएसएल केही फरक भएको विलियमको बुझाइ छ । ‘तपाईँसँग ५ राम्रो विदेशी र ५ स्थानीय राम्रो खेलाडी भयो भने टिम राम्रो बन्छ’, उनले भने ।

वीरगञ्ज टिममा रहेका नेपालका अनुभवी र युवा खेलाडीहरु पनि राम्रो रहेको उनले बताए ।

वीरगञ्जको प्लेअफ सम्भावना

साविक विजेता काठमाडौंलाई हराएपछि वीरगञ्जले पनि प्लेअफ पुग्ने सम्भावना जिवित राखेको छ । ७ खेलबाट ८ अंक जोडेको वीरगञ्ज हाल छैटौं स्थानमा छ ।

वीरगञ्जले शीर्ष चारमा रहेर प्लेअफमा स्थान बनाउन शनिबार बुटवल लुम्बिनी विरुद्ध हुने आफ्नो अन्तिम खेल जित्नैपर्नेछ । त्यतिले मात्र भने वीरगञ्जलाई पुग्दैन । अन्य खेलको नतिजामा पनि भर पर्नुपर्नेछ । त्यसअघि शुक्रबार साँझ हुने खेलमा झापा  चितवनसँग पराजित भएमा वीरगञ्जलाई सहज हुनेछ ।

झापा पराजित भएमा वीरगञ्जले आफ्नो खेल जित्ने र काठमाडौं रेजर्स र ललितपुर सिटीबीच शनिबार साँझ हुने लिगको अन्तिम खेलमा स्पष्ट रिजल्ट आए वीरगञ्जको प्लेअफ पुग्ने लक्ष्य पूरा हुनेछ ।

विलियमले पनि अब आफ्नो खेल जित्ने र बाँकी खेलको नतिजा पनि पर्खनुपर्ने बताए । ‘हाम्रो सम्भावना सकिएको छैन । सुरुमा हामीले आफ्नो खेल जित्नुपर्छ । हामीले जे गर्न सक्छौँ त्यसमा राम्रो गर्ने प्रयास गर्ने हो । पाएको अवसर गुमाउनु भएन,’ विलियमले अबको लक्ष्यबारे भने, ‘अन्य खेलको नतिजा पनि महत्वपूर्ण हुनेछ ।’

विलियम जारी एनएसएलमा सर्वाधिक गोलकर्तामा पनि अगाडि छन् । काठमाडौसँग ह्याट्रिक गरेपछि उनको ५ गोल पुगेको छ । शुक्रबार धनगढी विरुद्ध बराबरी गोल गरेपछि पोखरा थण्डर्सका मोसेस ग्याबाहको पनि ५ गोल नै भएको छ ।

‘यो सिजन मेरो लागि धेरै राम्रो भइरहेको छ । मेले गोल गर्न सकिरहेको छु । त्यसमा म धेरै खुशी छु ।’ आगामी खेलमा पनि गोल गर्दै वीरगञ्जलाई अझ अगाडि सम्म पुर्‍याउने लक्ष्य रहेको विलियमले बताए ।

एनएसएल नेपाल सुपर लिग वीरगञ्ज युनाइटेड
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय