
काठमाडौं । मिस नेपाल इन्टरनेसनल २०१२ तथा अभिनेत्री शुभेच्छा खड्का छोरीका लागि बुबा मेरुदण्डजस्तो हुनुपर्ने धारणा राख्छिन् । छोरीको अध्ययनमा लगानी गर्न सके उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी जीवन बाँच्न सक्ने उनको बुझाइ छ ।
‘आत्मनिर्भर भएपछि खुम्चिनुपर्दैन,’ शुभेच्छा भन्छिन् । आगामी फिल्म ‘चित्रा’बारे कुराकानी गर्दै उनले छोरीको विकासमा बुबाको भूमिका महत्वपूर्ण हुने बताइन् । यो फिल्म पनि बाबुछोरीको सम्बन्धको कथावस्तुमा आधारित छ । प्रस्तुत छ उनीसँग संक्षिप्त संवाद :
यो फिल्ममा तपाईंले निर्वाह गरेको चरित्र कस्तो हो ?
यो एउटा फ्रेस पात्र हो जसले फिल्ममा रमाइलो ल्याउने काम गर्छ । यसमा बाबुछोरीको कथा देखाउन खोजिएको छ । यसले कथामा मसलाको काम गरेको छ । हेर्दा सरल पात्र तर कथावस्तुमा रोचकता ल्याउने पात्रको भूमिकामा मैले काम गरेकी छु ।
आफ्नो पात्रलाई न्याय गर्नुभएको छ ?
मैले दुई फिल्ममा काम गरिसकें । इमान्दारिताका साथ भन्नुपर्दा यो फिल्ममा मेरो छोटो भूमिका भए पनि राम्रो भएकाले खुसी छु । डबिङमा हेर्दा मैले राम्रो गरेको रहेछु भनेर झनै खुसी भएकी छु ।
तपाईंले कस्तो पात्रमा अभिनय गर्न रुचि छ ?
यस्तो खालको भन्ने छैन तर नयाँखाले होस् जहाँ कथा मिसिएको होस् । त्यसमा मेरो मात्रै भूमिका राम्रो होइन कि समग्रमा नै राम्रो कथा बोकेको फिल्म होस् भन्ने मेरो चाहना छ । एउटा यस्तो कथा जहाँ दर्शकले फिल्म हेरेर घर पुगिसकेपछि पनि त्यसले दिएको मनोरञ्जनको स्वाद सम्झिरहोस् । भूमिका जस्तोसुकै होस् तर दमदार कथा भएको फिल्म होस् ।
अभिनेत्रीको रुपमा ‘चित्रा’बाट तपाईंको आशा कस्तो छ ?
हामीले प्रेमकथाका फिल्म हेर्दै आइरहेका छौं । अहिले सामाजिक कथामा पनि फिल्म बनेका छन् । ‘चित्रा’ पारिवारिक कथा हो जसले बाबुछोरीको कथा देखाउँछ । मैले पर्दामा बाबुछोरीमाथि नै केन्द्रित भएर बनेको फिल्म नहेरेको धेरै भयो । यसले गर्दा पनि यो फिल्मबाट दर्शकले नयाँ स्वाद पाउनुहुन्छ ।
बाबुछोरीको सम्बन्धलाई तपाईं कसरी हेर्नुहुन्छ ?
बुबाको साथ छोरीलाई भयो भने त्यो मेरुदण्डसरह हुन्छ । आमाले त माया गर्नु नै हुन्छ तर बुबा चाहिं भावनात्मक रुपमा कम उपलब्ध हुन्छन् भनिन्छ । तर उहाँहरुले छोरीको जीवनमा जस्तै पढाइसँगै करिअरका हिसाबले सहयोगी हुँदा चाहिं एकदमै ठूलो र महत्वपूर्ण हुन जान्छ, त्यो छोरी अर्कै हुन्छे ।
तपाईंको आफ्नो जीवनमा चाहिं बुबाको भूमिका के छ ?
एकदमै सहयोगी । उहाँ त मलाई सुरुसुरुमा यो क्षेत्रमा आएर राम्रो राम्रो फिल्म खेल्नुपर्छ भनेर प्रेरणा र भरोसा दिने व्यक्ति हो । मेरो हरेक सपनामा सहयोग गर्नुभएको छ ।
फिल्मबाहेक बुवासँगका केही रोचक सम्झना छन् ?

धेरै क्षण छन् । विशेषगरी मिस नेपालमा भाग लिंदाको कुरा मेरो सम्झनामा छ । सन् २०१२ मा मिस नेपालमा सहभागी हुँदा म भर्खर १८ वर्ष पुगेकी थिएँ । त्यो समयमा म टेलिभिजनमा काम गर्थें तर पारिश्रमिक त्यस्तो राम्रो थिएन । मैले महिनाको ६ हजार रुपैयाँ कमाउँथे । त्यो पनि समयमा आउँथेन र मसँग कुनै बचत पनि थिएन ।
मिस नेपालको बेलामा तालिम सेसनमा जाँदा आफूलाई अब्बल देखाउन अलिअलि खर्च गर्नुपर्थ्यो । पहिरन, मेकअप तथा गाडी भाडामा पैसा खर्च हुन्थ्यो । मलाई याद छ, उहाँले मलाई सजिलो होस्, गाह्रो नहोस् भनेर हातैमा ठूलो रकम थमाउँदै ल तिमीलाई केमा खर्च गर्नुपर्छ मजाले खर्च गर्नु भनेर दिनु हुँदा चाहिं त्यतिबेला म धेरै भावुक बनेकी थिएँ । उहाँको पोस्टिङ त्यतिबेला पोखरा ब्यारेकमा थियो । हातमा पैसा दिएर गएपछि म एकछिन अक्क न बक्क परें । पछि कुद्दै ढोकामा पुगेर अँगालो हाल्न पुगें ।
पछि फिर्ता गर्नुभयो त पैसा ?
त्यही पैसा भनेर त फिर्ता गरिन तर अरु प्रकारले गरें । त्यो बेलाको पैसा बराबरको मूल्य त मैले कहाँ चुकाउन सकूँला र ?
नेपाली समाजमा बाबुआमाले छोरीको कमाइ खानु हुँदैन भन्ने छ । यो कुरा चाहिं तपाईंलाई कस्तो लाग्छ ?
हामी बराबरी र समानताको कुरा गर्छौं । अनि छोरी राम्रो कमाउँछिन् अनि पुर्याउनसक्ने अवस्थामा छिन् भने किन परिवारलाई सहयोग नगर्ने ? त्यसो भन्नु बाबुआमाको एउटा आत्मस्वाभिमानको कुरा होला तर मिल्छ भने आफ्नो बाबुआमालाई गर्नुपर्छ ।
मिस नेपालपछि विभिन्न सामाजिक कार्य गर्ने सिलसिलामा नेपालका विभिन्न ठाउँ पुग्नुभएको छ । छोरीहरुको जीवन कस्तो पाउनुभयो ?
१० वर्ष अगाडि र अहिलेको अवस्थामा धेरै परिवर्तन छ । समाज र मानिसको मानसिकतामा राम्रै विकास भएको छ । अझै पनि बुबाले छोरीको पढाइमा लगानी गरिदिनुभयो भने उसले जीवनभर आर्थिक रुपमा जीविकोपार्जन गर्न सक्छिन् भन्ने लाग्छ । एउटा परिवार धान्न सक्ने गराउनुपर्छ । जब उनी आर्थिक रुपमा स्वावलम्बी भएर कुनै परिवारमा जान्छिन्, त्यहाँ उनले कसैको भर पर्नुपर्दैन । अहिले यसो हेर्दा त्यही भरपर्ने अवस्थाले त छोरीहरु कमजोर हुने मुख्य कारण देखिएको छ नि । पैसा कमाइँदैन, उहाँले कमाउनुभएको छ, खुवाउनुभएको छ, लगाइदिनुभएको छ भनेर खुम्चिने गर्नुपरेको छ । आत्मनिर्भर भएपछि आफ्नो निर्णय गर्न सकियो । त्यसैले बाबुहरुले आफ्ना छोरीहरुको पढाइमा लगानी गर्नुपर्छ ।
यदि आमा हुने अवस्था आयो भने सन्तानलाई लैंगिंक समानताको कुन चाहिं कुरा सिकाउनुहुन्छ ?
सानो–सानो कामहरु गर्नुपर्छ, छोरी मान्छेले मात्र घरको खाना बनाउने, सफाइको काम गर्ने नभई छोराले पनि गर्नुपर्छ भनेर सिकाउँदै हुर्काउने गर्नेछु । बाहिर निस्किंदा सबैलाई सम्मान गर्नुपर्छ । कसैलाई कुना कुराको आधारमा भेदभाव गर्न हुँदैन भनेर सिकाउँछु ।
प्रतिक्रिया 4