
६ पुस, काठमाडौं । पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषद्को संरचनामै सुधार गर्नुपर्ने बताएका छन् । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा समेत सधैँ विवादमा परिरहने भएकाले सो परिषदको संरचना नै सुधार गर्नुपर्ने उनको तर्क थियो ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायाधीशको नियुक्तिलाई सधैँ विवादमा पारेर कसरी न्यायालयबाट स्वतन्त्र र सक्षम न्याय सम्पादनको आशा गर्न सकिन्छ ? भनी प्रश्न समेत गरे ।
उनले भने,’अब न्याय परिषद्को संरचनाकै विषयमा पनि प्रश्न उठेका छन् । अहिले जुन ढंगले न्याय परिषद् बनेको छ । र, २०४८ सालदेखि आजसम्म न्याय परिषदले गरेको काम कारबाही विवादरहित बन्न सक्यो ? चाहे नियुक्ति होस्, चाहे सरुवा होस् । कुनैपनि कुरामा न्याय परिषद्ले निर्विवाद ढंगले काम गर्न सक्यो ?’
उनले संवैधानिक परिषद् र संसदीय सुनुवाई समितिले पनि आफ्नो उद्देश्य अनुसार काम गर्न नसकेको बताए । पूर्वप्रधानन्यायाधीश कार्कीले छुट्टै संवैधानिक इजलास हुनुपर्ने प्रस्ताव पनि गरिन् । हाल भइरहेको संवैधानिक इजलासको कामै नभएको उनको जिकिर थियो ।
‘संसदीय सुनुवाई समितिमा न्यायाधीशहरुलाई लैजान हुन्छ कि हुन्न ? भनेर पनि प्रश्नहरु उठेका छन् । यसमा केही न्याय परिषदको पनि कमजोरी होलान् । केही आकांक्षीहरुको कमजोरीको कारणले पनि होला । केही संगठनका स्वार्थहरुको कारणले पनि होला । जेसुकै कारण होउन । खाजौं कारणहरु । तर न्याय परिषदलाई न्याय परिषद्जस्तै बनाउनु पर्छ । र न्याय परिषद्ले वास्तवमा कस्तो हुनुपर्छ भन्ने कुरालाई पनि हामीले गम्भिरतापूर्वक हेर्नुपर्छ ।’ उनले भने ।
पूर्वप्रधानन्यायाधीश कार्कीले आफूले संविधान निर्माण गर्ने बेलामा पनि छुट्टै संवैधानिक अदालतको कुरा गरेको र अहिले पनि सोही अडानमा अडिग रहेको समेत बताए ।
उनले भने, ‘मैले पहिले पनि भएको थिएँ । संवैधानिक अदालत राखौं भनेर । म अहिले पनि त्यसमा अडिक छु । म अहिले पनि त्यही भन्छु–राख्ने हो भने संवैधानिक अदालतनै राखौं । त्यसलाई छुट्टै राखौं । यदि नराख्ने हो भने त्यो संवैधानिक इजलासको काम छैन । र, अहिले त हामीले झन त्यस्तै बनायौं । त्यसकारणले गर्दा यी प्रश्नहरु छन् ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि परीक्षा प्रणाली उपयुक्त हुनसक्ने विकल्प प्रस्तुत गरे । त्यसैगरी परीक्षणको माध्यामबाट पनि न्यायाधीशको छनौट गर्न सकिने उनको भनाइ थियो ।
प्रतिक्रिया 4