+
+

१२ पुसदेखि पोखरामा ‘स्ट्रिट फुड फेस्टिभल’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १८:५९

६ पुस, काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा भव्य ‘स्ट्रिट फुड फेस्टिभल’ कार्यक्रमको आयोजना हुने भएको छ ।

राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले १२-१६ पुससम्म सडक महोत्सव हुने जानकारी दिएको हो।

महोत्सव आयोजनाको रजत वर्ष भएकाले यसपटक महोत्सवलाई विशेष बनाउन सोही अनुसारको विशेष तयारी भएको आयोजकले जनाएको छ ।

‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मूल नारासहित आयोजना हुने यस महोत्सव पोखराको लेक साइडसम्मको करिब ३ किमी क्षेत्रमा आयोजना हुनेछ ।

रेवान अध्यक्ष नरेश भट्टराईले महोत्सवको तयारी सकिएको र पोखरा पर्यटकहरुलाई स्वागत गर्न तयार भएर बसेको बताए।

‘२५ वर्ष पहिले हाम्रा अग्रजहरुले पोखरालाई मुख्य पर्यटकीय मौसममा मात्र नभई सालैभर घुमघामको गन्तव्य बनाउनुपर्छ भनेर यसको सुरुवात गर्नुभएको थियो । आज यो देशकै सबैभन्दा ठूलो सडक महोत्सव बनेको छ। यो रजत वर्ष अझ विशेष बनाउनेछौं’, रेवान अध्यक्ष भट्टराईले भने ।

महोत्सवको मुख्य आकर्षणको रूपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेसभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, बेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता रहने आयोजकले जनाएको छ ।

महोत्सवमा सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुच, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रीकृत गरी टक सो कार्यक्रम, स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृर्ष, वनस्पति लगायतका कृर्षि उपजहरूको पनि प्रदर्शन गरिने छ ।

लेक साइडको तीन किलोमिटर लामो सडक क्षेत्रमा हुने गतिविधि सबैका लागि नि:शुल्क हो भने सांगीतक कार्यक्रम हुने कोमाजाने पार्क प्रवेशका लागि भने टिकट काट्नुपर्नेछ।

आयोजकले यसपटक स्टेज शोका लागि खल्ती एप बाट अनलाइन टिकट काट्न सकिने व्यवस्था गरेको छ। यस्तै विदेशी कार्डहरुबाट आफन्त तथा साथीभाइका लागिसमेत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जानकारी आयोजकले दिएका छन्। खल्टीले अनलाइनबाट टिकटको बिक्री सुरु गरिसकेको छ।

महोत्सवको २५ औं वर्ष भएकाले यसपटक हल्लन चोकदेखि कन्सर्ट आयोजना स्थलसम्म विशेष आरती र शिव ताण्डव नृत्य प्रस्तुत गरिनेछ।

यस्तै, ५ दिनसम्म राष्ट्रिय स्तरका चर्चित कलाकारहरु आउने यो महोत्सवलाई रीमा विश्वकर्माले होस्ट गर्नेछिन्।

महोत्सवको न्यू इयर इभमा र्‍यापर लाउरे र  द एलिमेन्ट्स ब्यान्डको प्रस्तुति दिनेछन् भने डिसेम्बर ३० तारिखमा मुक्ती एन्ड रिभाइबल ब्यान्डको धमाकेदार प्रस्तुति रहने स्वर्णिम इन्टरटेन्मेन्ट प्रालिका प्रमुख श्रीधर पौडेलले जानकारी दिए ।

त्यसैगरी डिसेम्बर २९ तारिखमा ‘ओ अमिरा’ तथा ‘मनमगन’ फेम गायक दीपक बज्राचार्यले दर्शकलाई झुमाउनेछन्।

लक्ष्य ब्यान्ड, द स्क्राच जर्नी, टुकी, ब्ल्याक फिदर लगायतका ब्यान्डको प्रस्तुति महोत्सवमा हुनेछ।

उनीहरुका अलावा कार्यक्रममा लोकप्रिय गायिका प्रीति आले, पशुपति शर्मा, बद्री पँगेनीको साथमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल एवम जीवन दाहालको साथमा १० बढी स्थानीय ब्यान्डहरुले आफ्नो सांगीतिक प्रस्तुतिले दर्शक झुमाउने आयोजकले जानकारी दिएका छन् ।

यसैगरी मेलामा बालबालिकाहरूका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरूको डकुमेन्टी प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यवसायीहरूले सडक महोत्सवको अवधारणा अनुरूप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याएर सजावटका साथ व्यवसाय प्रवर्द्धन गर्नेछन् ।

नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले यस्ता महोत्सबले आन्तरिक मात्र नभएर बाह्य पर्यटक समेत आकर्षित हुने र पर्यटन प्रवर्द्धन हुने बताए ।

रेवानले कार्यक्रमको सुरक्षा व्यवस्थाका लागि सबै निकायसँग समन्वय गरिएकाले कुनै समस्या नहुने र होटेलहरुले नियमित समयमा लिदैं आएको भन्दा बढी रेट लिएमा कारवाही गर्ने जानकारीसमेत कार्यक्रममा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?