+
+

शब्दब्रह्ममा अन्नपूर्णा

अनुपम रोशी अनुपम रोशी
२०८० पुष ७ गते १७:३२

‘यात्रा’ गर्भबाट जीवनको, जीवनबाट फेरि मृत्युको, यात्रा निःशब्दबाट शब्दको र शब्दबाट ती डरलाग्दा विचारहरूको र अन्ततः फेरि शून्यताको । जीवनको अस्तित्व र यात्रा सँगसँगै सुरु हुन्छ र सँगसँगै शून्यतामा हराउँछ । रहन्छ त केवल यात्रीले बनाएको गोरेटो र त्यही गोरेटोमा उसले छोडेका पदचिह्नहरू । गोरेटो बनाउँदै गर्दा दुख्ने दुखाइका पदचिह्न। गोरेटो बनिसकेपछि निस्कने सुखी सुस्केराको पदचिह्न, कहाँ बिर्सन्छ र समयले । इतिहासको अँगालो थापेर युगौंयुगसम्म मुस्कुराइरहन्छ । बस्, मुस्कुराइरहन्छ ।

त्यसो त सृष्टिको यात्रा लेखेर कहाँ लेख्न सकिन्छ र ? न सकिन्छ जीवनका दुःख र सुखको यात्रा लेख्न । फेरि पनि कहिलेकाहींको छोटो यात्राले मीठो अनुभूति समेटेर बस्छ हृदयमा र व्यक्त गर्न मन लाग्छ शब्दमा ती दृश्यहरूलाई । यस्तो लाग्छ शब्द आफैंमा ब्रह्म हो । र त्यही ब्रह्मले व्याख्या गरिरहेको छ सृष्टिलाई, राम्रो भनिरहेको छ सुन्दरतालाई, र सम्भवतः लेखिरहेको छ लाखौंलाख असन्तुष्टिहरूलाई ।

मैले ‘मेरो यात्रा’ भन्छु तर त्यही शब्दब्रह्मले बयान गर्छ हाम्रो प्रत्येक यात्राको अनुभूतिलाई । मैले ‘म’ नै भन्छु तर समग्र ‘म’लाई पनि व्याख्या गर्छ त्यही शब्दब्रह्मले । चेतनाको मसिनो त्यान्द्रोमा अल्झिएर जीवन चलिरहे जस्तै । अँध्यारो र उज्यालोको पैयाँ समातेर समय हिंडिरहे जस्तै, हिंडिरहनु त रहेछ जीवन । र हिंडिरहेकै हुनेरहेछन् जिजीविषा पनि । त्यही जिजीविषाले डोर्‍याएर मलाई ल्याइपुर्‍याएको छ म्याग्दी जिल्लाको बेनीबजारमा । यतिबेला बेनीमा साँझ परेको छ र मनमा गुञ्जिइरहेको छ –

बेनीको बजार, जता माया उतै छ नजर

किरेमिरे जाले रुमाल … !

यो गीत मेरा लागि गीत मात्रै होइन, मैले बेनी नटेक्दै चिनेको बेनीको सग्लो परिचय हो । बच्चैदेखि सुन्दै आएको बेनीको बजारमा बास बस्न आइपुग्दा यो गीतले मभित्र झन्-झन् बेनीको आकर्षण बढाउँदै लगेको छ र बेनी आफ्नै हो जस्तो लागिरहेको छ । वर्षौंदेखि बेनी मभित्रै बाँचिरहेको छ जस्तो या फेरि वर्षौंदेखि म बेनीभित्र बाँचिरहेकी छु जस्तो । त्यसैले म भन्छु शब्द ब्रहृम हो । शब्दको शक्ति यति बलियो हुन्छ कि त्यसले कहिल्यै नदेखेका वस्तुस्थितिलाई पनि निकै निकट र कालजयी बनाइदिन सक्छ । यो गीत पनि त्यही शब्द शक्ति थियो मेरा लागि । जसरी ‘सुर्खेत बुलबुल ताल’ भनेर कोमल वलीको स्वरले आफ्नै बनाइदिएको थियो, सुर्खेतलाई ।

घामको उज्यालो पोखिएको छ, बेनीबजारमा । बीचोबीच कालीगण्डकी बगाएर दुई भागमा बाँडिएको बेनीबजारलाई जोडेको झोलुंगे पुलको आकर्षण पनि उत्तिकै छ । पुलको बीच भागमा उभिएर मनभरी नियाल्छु बेनीलाई । पहाडको बीचमा बसेको बेनीबजारको सौन्दर्य निकै भव्य लाग्छ । देख्छु माथि-माथिबाट नुन देखि सुन किन्न मानिसहरू तल झरिरहेका, सामानका भारी बोकेर मानिसहरू माथि उक्लँदै गरेका । लाग्छ, मैले बाँचेको समयको गति यतैतिर छ ।

पहाड र शहरलाई जोड्ने बेनीबजार बीचको पुल तरेपछि सुरु हुन्छ एउटा यात्रा, जसको गन्तव्य पुनहिल हो । र साथमा छ १८ जनाको एउटा जम्ब्ाो टोली । टोली रमाइलो छ । जहाँ लेखक र पत्रकार मात्रै छैनन् फोटोग्राफर, साइकलयात्री, डकुमेन्ट्री निर्माता लगायतका विविध आयाम र क्षेत्रका विभिन्न हस्तीहरूको उपस्थिति छ ।

कालीगण्डकीको गडगडाहटले हाम्रो आवाज मसिनिंदै जान्छ । आवाज भन्दा गतिमा हाम्रा पाइला बढ्छन् र गलेश्वरधामको बाटो छोडेर मल्लाजफाँटको उकालो उक्लिन थाल्छन् । सबैको मनमा उत्साह चुलिएको छ । उत्साहसँगै अगाडि पुग्ने हौसला पनि चुलिंदो छ ।

साथीहरू छिटो-छिटो अगाडि बढ्दै छन् । म भने स्थिर यात्री अझ भनौं अलि बढी भावनात्मक यात्री, बाटोमा पर्ने रूखपात या फेरि खम्बा र रेलिङहरूमा चक, इँटा वा कालो अँगारले कोरिएका चित्र र प्रेमका अक्षरहरू सबै पढ्नुपर्ने, सबैलाई स्पर्श गर्नुपर्ने । लगभग मेरै स्वभावका रहेछन् हेमन्त विवश, सागर उदास र प्रभा बरालजी पनि हामी सँगसँगै पछाडि पर्दै थियौं । थकित हुँदैथियो अलि अगाडि पुगेको प्रगति राईको उत्साह पनि, कुमारी लामा र अभय श्रेष्ठ भने थाक्नुभएको थिएन ।

मान्छेले चाहृयो भने गर्न नसक्ने के रहेछ र ? बेनीदेखि करबाकेली हुँदै पुनहिलसम्म इको ट्रेक खोलेका चामबहादुर पुन बेलायत गएर आर्थिक सहयोग जुटाउँछन् र नेपाल आएर आफ्नो क्षेत्रमा पर्यटन विकास गर्न लागि पर्छन्

यसो भनौं उहाँहरू त्यो यात्राका प्रखर यात्री हुनुहुन्थ्यो । हामी उकालो उक्लिरहेकै थियौं । त्यसै बखत एक बटुवा गह्रुंगो झोला बोकेर ओरालो ओर्लिंदै थिए । हामी सास फुलेर सुस्ताइरहेका थियौं । उनी हामीलाई देखेर मुस्काइरहेका थिए । उकालोमा सुस्ताउनु र ओरालोमा मुस्काउनु सायद पहाड यात्राको नियति हो । म सोच्दै थिएँ ।

‘बडो खुसी देखिनुहुन्छ नि, के छ झोलामा ?’ सँगै हिंडिरहनुभएका मित्र हेमन्त विवशले सोधिहाल्नुभयो ।

‘दही हो, बेच्न हिंडेको बेनी’, बटुवाले मिठो जवाफ फर्काए ।

‘ओहो, हामीलाई पनि खुवाउनु पर्‍यो’, घुटुक्क थुक निल्दै भावुक मित्र हेमन्त विवशका पाइला थपक्कै रोकिए । उहाँको मनले बटुवाले बोकेको ठेकीको दही खर्लप्पै निलेको मलाई अनुभव भयो । तर बटुवा अन्कनायो ।

‘चिन्ता नगर्नुस् म पैसा दिनेछु’, हेमन्तले भनेपछि बटुवाको अनुहार उज्यालो भयो । बाटैमा उभिएर हामीले मानाका हिसाबले पालै पालो दही खायौं । भवानी शिलाकार, प्रभा बराल, हेमन्त विवश र अनुपम रोशीले चाखेको त्यो दही, दही मात्रै थिएन त्यो त पहाडको गाउँको अग्र्यानिक स्वाद थियो ।

शुद्धता अर्थात् केमिकल रहित एउटा सुगन्ध थियो । जुन शहरमा खोजेर हामीले पाउन सक्दैनथ्यौं । ती बटुवाले हामीलाई सुरुमै गाउँको स्वाद चखाइदिए त्यसपछि पहाडको तलतल झन् बढेर गयो ।
मल्लाज फाँटमा झुलिरहेका धानबारी र कोदोकोे झुप्पा देख्दा, गाउँमा जीवनको उज्यालो अझै निभेको छैन भन्ने अनुभूति भइरहृयो । मल्लाज फाँट माथिको नीलो आकाश, आकाश मुन्तिर मितेरी लगाउँदै गरेका सेता बादलका थुम्का र बारीमा धान, कोदो टिप्दै गरेका मानिसहरू देख्दा एउटा छुट्टै संसारमा पुगे जस्तो अनुभूति भइरहेको थियो । शब्दले बयान गर्न नसकिने सुन्दरताको काखमा थिएँ म ।

साथीहरूका क्यामेरा फाँटभरि तेर्सिए र पनि मल्लाजको सौन्दर्यलाई समेट्न सायदै सके होलान् । मल्लाज फाँटले निकैबेर अलमलाएर मुक्त गरिदियो । र फेरि हाम्रा पैतालाहरू कलकल बग्ने कुलोलाई पछ्याउँदै अघि बढ्न थाले । कोदोबारी र धानखेत हुँदै हिंडेको बाटोले अन्नपूर्ण गाउँपालिका साँच्चिकै अन्नपूर्णा पहाड रहेछ भन्ने परिचय दिइरहेको थियो ।

‘यस्तो रसिलो पहाडमा विकास गर्न सके कति धेरै मानिस आइपुग्थे होला । पर्यटन विकासको राम्रो सम्भावना बोकेको रहेछ यस क्षेत्रले’, प्रभा बरालले भन्नुभयो ।

‘सुदूरपश्चिमको तुलनामा निकै हराभरा र उब्जाउ रहेछ यहाँको भूमि’, मैले थपें ।

दुख्ख फल्न्या हाम्रा पहाडमा यस्तो सुख कता छ बरै ! डोटेली कवि विवशको भावुक जवाफले मलाई बाह्र वर्षअघि पुगेको अछामको सम्झना गरायो । ‘अछाम यो देशको एउटा छुट्टै आकाश हो’ योभन्दा बढी मलाई केही भन्न मन लागेन । हुन त त्यस्तै दुःखको आकाश यो देशमा कति छन् कति त्यसको लेखाजोखा कसले राखेको छ र ?

कलकल बगिआएकोे कुलो र हाम्रो बाटो ठीक विपरीत ध्रुवमा थियो । कुलो तल झर्दै थियो हामी माथि चढ्दै थियौं । जति माथि उक्लँदै थियौं त्यति शून्यता थपिंदै थियो । गाउँहरू शून्य थिए । घरहरू रित्तै देखिन्थे । पानीघट्ट एक्लै सुसाइरहेको थियो ।

‘यसरी नै रित्तिंदै छ पहाड । कुनै बेला मान्छेले सिंगारेको यो आँगनमा हेर्नु त वनमारा झांगिएको !’ बाटोमा पर्ने रित्तो घरको आँगन देखाउँदै चाम बहादुर पुनले भने । मैले बांगिदै गएको घरको पाली, चिमपाली र भित्ताहरूतिर आखा डुलाएँ तर आँखाहरू गएर वर्षौंदेखि बन्द भएको ढोकामा अड्कियो । कति भयो होला यो घरको ढोका नखोलिएको ? कसैले त खोले हुने नि, मान्छेकै दुःख जस्तो, किन कसैले खोल्न सक्दैन यो ढोकामा निर्निमेष झुन्डिइरहेको त्यो ताला ? म आफैंलाई प्रश्न गर्छु र आफैं विरक्त हुन्छु ।

‘जति नै सुन्दर भए पनि उसलाई हेरिदिने आँखाहरू नभएपछि, महसुस गरिदिने लालाबाला नजन्मिएपछि यो पहाड खाली पहाड बनेर त रहने रहेछ । यो हरियाली पनि कुनै कामको नहुने रहेछ । आजकल यहाँका युवकको बिहे नै हुँदैन । यहाँ बिहे गर्ने केटी नै पाइँदैन । बिहे गर्ने केटीले कि बेनीमा घर खोज्छे कि काठमाडौंमा !’

अहो ! मानिसको सभ्यता कति धेरै सुखभोगी भइसकेछ । चामबहादुर पुनको यो वाक्य सामान्य वाक्य थिएन । कसरी हरेक दिन प्रतिदिन उनीहरू शहरमुखी भइरहेका छन् भन्ने कुराको सग्लो प्रमाण थियो ।

सुख र सुविधा नभएकै कारण त्यस ठाउँका युवा अविवाहित रहनुपर्ने ? यो कस्तो दुर्भाग्य ? कोही न कोही माटोमा न गाडिएसम्म यो सभ्यता कसरी जीवित रहन सक्ला ? जति नै धनाढ्य भए पनि गगनचुम्बी महल बनाएर ठूला-ठूला शहरको विकास गरे पनि खानुपर्ने त त्यही बोटबिरुवाले दिने हावा र यही माटोमा फलाएको अन्न नै होइन र ? फेरि पनि माटोप्रतिको मोह किन घट्दै गइरहेको ? किन भागिरहेका माटोबाट पर पर मानिसहरू ?

प्रश्नकै द्वन्द्वबीच बारीमा कोदो टिप्दै गरेका महिलाहरू लहरै उभिएर हामीलाई नै हेरिरहेका देख्छु । मलाई मेरी आमाको याद आउँछ । अझै पनि खेतबारी भनेर कतै जान नमान्ने मेरी आमा पनि त यिनीहरू जस्तै छिन् । निश्चल, निर्मल र सधैं श्रमशील । मन भरिएर आँखासम्म आइपुग्छ । तर पोख्न सक्दिनँ । यो संसारमा सच्चा सर्जक यदि कोही छ भने त्यो माटोलाई माया गर्ने श्रमजीवीहरू नै हुन् । चाहे ती तराईका हुन् या पहाडका । पौरख र पसिनाले सजिएका सर्जक ।

मलाई कता कता लाज लागेर आउँछ । आफूलाई सर्जक भन्दै छातेटोपी र कालो चश्मा लगाएर कसरी म उनीहरूको पहाड डुलीहिंड्न सक्छु ? या आफूलाई उनीहरूका अगाडि एउटा सिर्जनाकार भन्न सक्छु ? कति बुचो, कति अधुरो र कति ढोंगी म ? उनीहरूले त्यो अक्करे भीरमा फलाएको कोदो र मैले लेखेको कथा कसरी उस्तै हुनसक्छ ? यतिबेला मलाई मैले मेरो भन्दै आएको आफ्नै शब्दब्रहृम कमजोर अनुभव हुन्छ ।

पुन समुदायले सिंगारेको पहाड मैले लेखेको कथा भन्दा कति धेरै सुन्दर ! चाहे त्यो महभीरको फोक्सो फुलाउने उकालो होस् या करबाकेलीको प्राचीन संग्रहालय । पुर्खाले नाचेको मारुनी नाच होस् या त्यहाँ फुलेका गुराँस, काफलडाँडाको नीलो आकाश होस् या नागी गाउँको सेरोफेरो सबै त सैन्दर्यले भरिएका छन् । छैन त केवल सजिलो बाटो, पर्याप्त बिजुली, र शहरको सुविधा । किनकि फूलबारी पुग्दा हामी धेरैका मोबाइल र क्यामेराका ब्याट्रीले मृत्युवरण गरिसकेका थिए । र पृथ्वीकै सुन्दर ठाउँमा पुग्दा एउटा दुखद् क्षण बटुलिएको थियो । दुई दिन लगाएर त्यो पहाड उक्लेको पर्यटक त्यहाँको दृश्य आफ्नो क्यामेरामा कैद नगरी फर्किनु पर्दा कस्तो परिचय बोकेर फर्केला ? प्रश्नै बोकेर र्फकन्छु म पनि ।

फराकिलो सोच र आयामका लागि अब फराकिला बाटाहरू निर्माण हुन जरूरी छ । र जरूरी छ त्यस्तै चेतनाको बत्ती बल्ल त्यस ठाउँमा । हामी सधैं परिवर्तनका कुरा गर्छौं, देश विकासका ठूला ठूला नारा लेख्छौं तर के आफू बदलिन सक्यौं ? या आफू जन्मेको माटोका लागि केही दिन सक्यौं ? यसको उत्तर खोज्न हामीले एक पटक त्यो भूमिमा पाइला फर्काउनै पर्ने हुन्छ, जहाँ हामीले जन्म लियौं । नत्र नाराले मात्रै विदेशिएका युवालाई देश फर्काउँछु भन्नु र टाकुरामा बलेको आगोमा वीरबलले खिचडी पकाउँछु भन्नु उस्तै कुरा हुनेछ ।

पहाडमा बसेर बिहे गर्नै नसकेपछि, परिवार कसरी बन्ने ? गाउँ कसरी बन्ने ? र कसरी पहाड समृद्ध हुने ? हामीले जीवनलाई सुख-सुविधा र वैभवले सिंगार्न गाउँ छोड्यौं । बस्ती छोड्यौ, र अहिले देश पनि छाडेर विदेशमा घर बनाइरहेका छौं । लाखौं खर्चेर युवाहरू विदेशी हुँदै गर्दा एउटा बि्रटिस लाहुरेले गरेको आफ्नो पाखोको माया कम्ती भावनात्मक थिएन मेरा लागि ।

चामबहादुर पुन पूर्व बि्रटिस सैनिक उनको औपचारिक परिचय त यही होला । तर औपचारिकतामा जीवन नबाँच्नेहरूलाई थुप्रै परिचय कोर्न कसले रोक्न सक्नु ! कुन सुखले बाँधेर राख्न सक्नु उसको चेतनालाई ? भावनाको दास भएर ऊ संसारका सबै सुखलाई कुल्चिन सक्छ । राजसी सुख छोडेर बुद्धले जंगल रोजे जस्तै ऊ जंगल पस्न पनि सक्छ । मलाई लाग्छ यी लाहुरे पनि भावनाकै दास रहेछन् ।

बेलायत जस्तो शक्ति सम्पन्न मुलुकमा बसेर पनि उनको करुणा र चेतनाको उज्यालोमा देश देखियो । देशभित्र पनि आफू जन्मिएको पाखो देखियो । त्यो पाखोको विकटता अप्ठ्यारो र अभावमा पनि त्यसको सुन्दरता देखियो ।

नजिकै गएर अँगाल्न सकिने सेतो हिमाल र गुराँस फुलेर राताम्य हुने फूलबारी देखियो । र, त उनी देश फर्किए । फर्किंदा उनी मात्रै फर्किएनन् उनीसँगै उनको दृढता फर्कियो । त्यो पाखोलाई जीवन दिने स्रोतसाधन र चाहना फर्कियो ।

मान्छेले चाहृयो भने गर्न नसक्ने के रहेछ र ? बेनीदेखि करबाकेली हुँदै पुनहिलसम्म इको ट्रेक खोलेका चामबहादुर पुन बेलायत गएर आर्थिक सहयोग जुटाउँछन् र नेपाल आएर आफ्नो क्षेत्रमा पर्यटन विकास गर्न लागि पर्छन् । महाविर पुन जस्ता आविष्कारकलाई जन्माउने नागी गाउँ र चामबहादुर पुन जस्ता सैनिक जन्माउने अन्नपूर्ण गाउँपालिका काफलडाँडाको करबाकेली ! साँच्चिकै भाग्यमानी पहाड रहेछन् । अन्नपूर्ण, वास्तवमै अन्नपूर्णा रहेछ !

लेखकको बारेमा
अनुपम रोशी

लेखकका ‘कालो छाया’ ‘कुमारी आमा’ लगायत उपन्यास र केही कथा प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?