
‘यो कथा सुरु भएको थियो १९९५ मा, जब मैले लाल्टुमा पाइला राखें । यहाँका चार जाना उल्लुको पट्ठा लन्डन जान चाहन्थे ।’
उनीहरु अर्थात बल्ली, बुग्गु, शुखी र मन्नु लन्डन जान चाहन्थे । किन ?
घुमफिर गर्न ? होइन ।
लेखपढ गर्न ? होइन ।
किनमेल गर्न ? होइन ।
लण्डनको विलासी वैभवले तानेर घर छाड्ने मनोदशामा पुगेका थिएनन्, यी चार दौतरी । त्यसको पछाडि आ-आफ्नै दुःखको लम्बेतान कहानी थियो । जिन्दगी लथालिंग थियो । घरबार बिजोग थियो । अभाव र अपहेलनाले लखेट्न थालेपछि उनीहरु त्यसको भरर्पाइ गर्न चाहन्थे, जसका लागि मनग्ये पैसा कमाउनु थियो ।
अनि यसको एउटै गन्तव्य थियो, लन्डन ।
सोही बन्दोबस्ती मिलाउन उनीहरु कन्सल्टेन्सीको फन्को लगाउन थाले । उनीहरुलाई एजेन्टले सोधे-
‘के तिमीहरुसँग डिग्रीको प्रमाणपत्र छ ?’
‘छैन ।’
‘दौलत ? अर्थात जायजेथा छ ?’
‘अँह, छैन ।’
‘बैंक व्यालेन्स । त्यो त होला नि ?’
‘त्यो पनि छैन ।’
‘अंग्रेजी भाषा जानेको छौ त ?’
‘छैन ।’
‘तिमीसँग केही छैन’ एजेन्टले भने, ‘यसको प्रष्ट हिसाब–किताब के भने, तिमी त्यो मुलुकका लागि अयोग्य छौं । त्यहाँ तिमीलाई प्रवेश–आज्ञा मिल्नेवाला छैन ।’
जोसँग केही छैन उसका निम्ती यो धर्ती साँघुरो छ । भूगोल विभाजित छ र त्यसका सीमारेखाहरुले उसलाई छेकबार लगाएको छ । संभवत यही विभेदलाई संवोधन गर्दै विख्यात सांगीतिक समूह ‘बिटल्स’का गायक जोन लेननले गएका थिए–
‘कल्पना गरौं त, यहाँ कुनै देशहरु छैन
कसैलाई मर्न छैन, कसैलाई मार्नु छैन
यहाँ कुनै धर्म छैन
सबैलाई शान्ति छ
यो सपना मेरो मात्र होइन
तिमी हामी सबै यसमा एकबद्ध हुनेछौं
र, संसार सबैको हुनेछ ।’
सन् ७० को दशकमा लेननले जुन सदीक्षाका साथ यी हरफहरुमा बन्धुत्वको धुन भरेका थिए, आज राजकुमार हिरानीले त्यसैलाई मियो बनाएका छन्, डंकीमा ।
यसमा कथाका सुत्रधार अर्थात हार्डीलाई उनले एउटा संवाद बोल्न लगाएका छन् ‘यो धर्ती त सबैको थियो । तिमीहरुले पो देश बनायौं, सीमारेखा कोर्यौं ।’ उपसंहारमा यस्तै पंक्ति छ, ‘आजभन्दा एक सय ४० बर्षअघि कुनैपनि मुलुक जानका लागि भिषाको जरुरत पर्दैन थियो ।’
ज्यानलाई दाउमा राखेर जसोतसो इंल्यान्डको सीमा पार गरेका हार्डीको टोलीलाई जब त्यहाँका पुलिस अधिकारीले ‘अवैंध’ भनी पक्राउ गर्छ, हार्डीको कन्पारो तात्छ । उनी भन्छन्, ‘अभाव र बाध्यताको कारण हामीले घर छाडेका थियौं । नभए कसले आफ्नो आँगन, परिवार, साथीभाई छाड्छ ?’
असंख्यौं निमुखा छोराछोरी, जो घर छाड्छन् आफ्नो घरबार बनाउन उनीहरुलाई ‘अबैध’ ठहर्याइन्छ। देशका सीमामा पर्खाल ठड्याइन्छ, तारबार लगाइन्छ । हरक्षण बन्दुकको निसाना लगाइन्छ । अन्ततः साँघुरो सुरुङ, कहालीलाग्दो पखेरा, घना जंगल, ज्यानमारा नदी, उराठलाग्दो मरुभुमी हुँदै आफ्नो गन्तव्य पहिल्याउनुपर्ने हुन्छ । यसक्रममा कति लुटिन्छन्, कति मारिन्छन् त्यसको कुनै लेखाजोखा हुन्न । लेखाजोखा यसकारण हुन्न कि, तिनीहरु ‘अवैध’ हुन् ।
यस्तै अबैध यात्राको कथा हो, डंकी ।
भारत, पंजाबको एउटा सांकेतिक गाउँ छ लाल्टु । यो अनौठो गाउँ हो, जहाँ घरको छत-छतमा हवाइजहाज (प्रतिमा) बनाइएको छ । एउटा मन्दिर छ, जहाँ फूल होइन हवाइजहाज (खेलौना) चढाइन्छ । यसको स्पष्ट संकेत के भने, आकासको बाटो हुँदै विदेशिनु त्यहाँका युवाहरुको एकमात्र मनोकामना हो ।
त्यसैका प्रतिनिधि पात्रहरु हुन्- बल्ली, बुग्गु, शुखी र मन्नु पनि ।
थाप्लोमा आ-आफ्नै समस्या बोकेर घर छाड्न लागेका उनीहरुलाई एजेन्टले भन्छन्, ‘तिमीहरुसँग केही छैन । न शैक्षिक योग्यताको प्रमाणत्र, न बैंक ब्यालेन्स ।’
अब के त ?
‘अब एउटै बाटो बाँकी छ’ उनी जुक्ती लगाउँछन्, ‘डंकी रुट ।’
यसबीचमा अंग्रेजी भाषा सिक्छन् । पार लाग्दैन । कन्सल्टेन्सी पैसा बुझाउँछन् । कन्सल्टेन्सी टाप ठोक्छ । समय घर्किन्छ, पैसा डुब्छ, साथी छुट्छ । बल्ली फर्जी भिषामा देश छाड्छन् । शुखीले आफैलाई आगो लगाएर आत्मदह गर्छन् । बाँकी रहन्छन्, मन्नु र बग्गु ।
यी दुई दःखीलाई डंकी रुट हुँदै लन्डनसम्म डोहोर्याउन तयार हुन्छन, सैनिक नवजवान हार्डी ।
यसरी आफैलाई ‘अबैंध’ बनाएर उनीहरु एउटा नारकीय यात्रामा निस्कन्छन् ।
भोक र तिर्खा, भिर र जंगल, गोली र दूर्व्यवहार झेल्दै-छल्दै उनीहरु अगाडि बढ्छन् । कहिले खोलाभित्र डुबुल्की मार्नुपर्ने, कहिले मरुभुमीमा घण्टौं हिँड्नुपर्ने, कहिले जंगल छिचोल्नुपर्ने । निर्जीव वस्तु झै कन्टेनरमा कोचिएर, गाडीको सिटमुनी खुम्चिएर इंल्यान्ड प्रवेश गर्छन् । लन्डन पुग्छन् ।
यद्यपि उनीहरुको दशा यतिमै टर्दैन । न उनीहरु त्यहाँको खुला हावामा सास फेर्न सक्छन्, न निर्धक्क निदाउन । आफैलाई लुकाएर बाँच्नुपर्ने यो परिवेश उनीहरुलाई त्यती शानदार लाग्दैन, जति फोटोमा देखेका थिए ।
अब कसरी बस्ने ? कसरी काम गर्ने ? कसरी पैसा कमाउने ? कसरी भताभुंग घर सम्हाल्ने ? कसरी बुढेसकालका बुवाआमालाई अभावबाट मुक्ती दिने ?
‘यसका लागि दुईवटा जुक्ति छ’ एक वकिल सुझाउँछन्, ‘एउटा यहीका स्थानियसँग नक्कली विवाह गर्ने, अर्को मेरो देश खराब छ त्यहाँ मलाई बाँच्न दिइएन भनेर झुटो वयान दिने ।’
गरिबी र अभावले मान्छेलाई अबैंध मात्र होइन ‘अपराधी’ पनि बन्न सिकाउने रहेछ । तर, के उनीहरु यी सर्तमा मन्जुर हुन्छन् । उनीहरुको यात्रा अब कता मोडिन्छ ? सपना कहाँ पुगेर पटाक्षेप हुन्छ ?
एक सय ६२ मिनेट लामो फिल्मले विस्तारमा यसको गाँठो फुकाउँछ ।
‘डंकी’ त्यही दीनदुःखीको साझा कथा हो, जसले यो संसारमा सुख र खुसी खोज्न आफैलाई लुकाउनुपर्ने हुन्छ । फर्जी जीवन बाँच्नुपर्ने हुन्छ । पानामा जंगल छिचोल्दै सुखको खोजीमा भौतारिने तमाम नेपाली युवाहरु पनि यस कथाका हिस्सेदार हुन् ।
राजकुमार हिरानी अक्सर त्यस्ता मुद्दामाथि फिल्म बनाउँछन्, जहाँ देश-समाज मौन हुन्छ । चाहे स्वास्थ्यको नाममा गरिने खेलबाड होस् वा शिक्षाको नाममा गरिने खेलाँची । चाहे पत्रकारिताको आवरणमा गरिने धन्दा होस् वा धर्मको नाममा गरिने आडम्बर । समाजमा व्याप्त यी मुद्धाहरुलाई निर्भिक र मार्मिक ढंगले उठउने हिम्मत र कौशल उनैसँग छ ।
कुनैपनि मुद्दालाई उठाएर त्यसमाथि जोडदार प्रहार गर्न सक्ने हिरानीको तोड यसपाली अलि कमजोर भएको छ । डंकीमा उनले मुल मुद्दालाई जति चोटिलो र पेचिलो बनाउनुपर्ने थियो, सो अपुग महसुष हुन्छ । यसको अर्थ, हिरानीलाई यसपाली आफ्नै विगतका फिल्महरुले चुनौती दिएका छन् । मुन्नाभाई एमबिबिएस, थ्रि इडियटस्, सन्जु, पिकेका दर्शकहरुलाई उनले त्यही स्तरमा चित्त बुझाउन नसकेको भान हुन्छ ।
तर, ती फिल्महरुलाई बिर्सेर हेर्ने हो भने ‘डंकी’ त्यती कमजोर पनि लाग्दैन जति प्रदर्शनमा आएका अरु फिल्म छन् ।
मान्छेको भाव-आवेगसँग हिरानी उत्तिकै कुशलतापूर्वक खेलेका छन् । फिल्म हेरिरहँदा हाँसो, खुसी, दुःख, डर, घिन, रिस, स्नेह सबै जाग्छ । र सबैभन्दा बढी जाग्छ, आफ्नो माटोको माया । आफु जन्मी हुर्केको, आफु खाइखेली गरेको, आफु लडीबुडी गरेको माटोसँग हाम्रो स्मृति कति विशिष्ठ ढंगले गाँसिएको हुन्छ ? फिल्म हेर्दा अनुभूत हुन्छ ।
फिल्म : डंकी
निर्देशक : राजकुमार हिरानी
कलाकार : शाहरुख खान, तापसी पन्नु, विक्की कौशल, बोमन ईरानी, विक्रम कोचर आदि
प्रतिक्रिया 4