
काठमाडौं । बढ्दो चिसोको कहरले समस्यामा परेका जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई गायक राजु लामाले न्यानो लुगा र लत्ताकपडा वितरण गर्ने भएका छन् ।
राजु लामा फाण्डेसनमार्फत सहयोगी हात बढाउन उनी आइतबार भूकम्प प्रभावित थलो जाजरकोटमा पुगेका छन् । चार दिनसम्म जाजरकोट र रुकुम पश्चिम पुगेर लुगा वितरण गर्न लागेको लामाले अनलाइनखबरलाई जानकारी दिए ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकाको वडा ५ र ६, भेरी नगरपालिकाको वडा ९ र ११, रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा राहत वितरण गर्न लागेको उनले जनाए । हरेक ठाउँमा एकएकदिन बिताएर राहत वितरण गर्ने जनाइएको छ ।
राजुले वितरण गर्न लागेका लुगा र लत्ताकपडामा ३३० थान सिरक र ब्लांकेट, डेढसय थान सल (बर्को), २३४ थान ऊनको टोपी, ३१ थान डाउन ज्याकेट, ४०० थान महिलाको लुंगी, ७०० थान धोती सारी महिलाको लागि, पटुकी, बच्चाको लागि टोपी, पाका र बच्चाको लागि बाक्लो मोजा र हजार थान सेनिटरी प्याड वितरण गर्न लागेका हुन् ।
राहत बाँडेर गायक लामा बिहीवार काठमाडौं फर्कनेछन् । राजु लामा फाउण्डेसनले यसअघि पनि भूकम्प प्रभावित जाजरकोटमा २ लाख बराबरको राहत सामग्री पठाएको थियो ।
राजु लामा फाण्डेसनले यसैवर्ष बढ्दो वातावरणीय संकटलाई न्यूनीकरण गर्न उपल्लो मुस्ताङ भोटे पिपल जातका विरुवा पनि रोपेको थियो । केही वर्षअघि राजुले सर्वोच्च शिखर सगरमाथा समेत आरोहण गरेका थिए ।
प्रतिक्रिया 4