
काठमाडौं । १० विधामा सर्टलिस्ट घोषणासँगै ओस्कार अवार्डको चर्चा गर्माएको छ । आगामी मार्च १० मा ओस्कार अवार्ड वितरण हुनेछ जसलाई लिएर भेराइटी म्यागजिनले सम्भावित विजेताको प्रक्षेपण गरेको छ ।
जनवरी २३ मा अवार्ड मनोनयन सार्वजनिक हुँदैछ । अन्तर्राष्ट्रिय संचारमाध्यमले सम्भावित विजेताको चर्चा थालेका छन् । चर्चा र सर्टलिस्ट घोषणाको आधारमा भेराइटीले केही यस्तो प्रक्षेपण गरेको छ, जुन यहाँ चर्चा गर्नु सान्दर्भिक हुन आउँछ ।
म्यागजिनले परमाणु बम आविष्कारबारेको फिल्म ‘ओपेनहाइमर’ फिल्म विधामा उत्कृष्ट हुनसक्ने अनुमान गरेको छ । उत्कृष्ट फिल्मको विधामा अमेरिकन फिक्सन, बार्बी, द होल्डओभर्स, किलर्स अफ द फ्लावर मुन, माएस्ट्रो, पास्ट लिभ्स, पुअर थिंग्स, स्पाइरम्यान : एक्रस द स्पाइडर भर्स र जोन अफ इन्ट्रेस्ट पनि दाबेदार रहेको म्यागजिनको विश्लेषण छ ।
‘ओपेनहाइमर’ निर्देशक क्रिस्टोफर नोलन निर्देशन बिधामा बाजी मार्नसक्ने प्रक्षेपण छ । ‘बार्बी’ निर्देशक ग्रेटा गेर्विग, जोन अफ इन्ट्रेस्टका जोनाथन ग्लेजर, द होल्डओभर्सका अलेक्जेडन्र पायन र किलर्स अफ द फ्लावर मुनबाट मार्टिन स्कोरसिस पनि निर्देशकको विधाका दाबेदार भनिएको छ ।
ब्राड्ली कूपरले फिल्म ‘माएस्ट्रो’बाट उत्कृष्ट अभिनेताको अवार्ड उचाल्न सक्ने सम्भावना छ । ‘किलर्स अफ द फ्लावर मुन’ फेम्ड लिली ग्लाडस्टोनले उत्कृष्ट अभिनेत्री विधामा जित्ने अनुमान भेराइटीको छ ।
सहायक अभिनेतामा ‘बार्बी’बाट रायन गसलिङ, सहायक अभिनेत्री विधामा ‘द होल्डओभर्स’बाट द भाइन जोय रान्डोल्फ उत्कृष्ट हुने अनुमान छ । मौलिक पटकथामा ‘बार्बी’, एडप्टेड स्क्रिनप्लेमा ‘पुअर थिंग्स’, एनिमेटेड फिचरमा ‘स्पाइडरम्यान : एक्रस द स्पाइडरभर्स’ले जित्ने प्रक्षेपण गरिएको छ ।
प्रोडक्सन डिजाइनमा ‘पुअर थिंग्स’, छायांकनमा ‘ओपेनहाइमर’, कस्ट्युम डिजाइनमा ‘बार्बी’, सम्पादनमा ‘ओपेनहाइमर’, मेकअप एण्ड स्टाइलिङमा ‘माएस्ट्रो’, ध्वनीमा ‘ओपेनहाइमर’, ओरजिनल स्कोरमा ‘ओपेनहाइमर’, ओरजिनल सङमा ‘बार्बी’, डकुमेन्ट्री फिचरमा ‘अमेरिकन सिम्फोनी’ उत्कृष्ट हुने प्रक्षेपण गरिएको छ ।
अन्तर्राष्ट्रिय फिचर विधामा बेलायतको ‘द जोन अफ इन्ट्रेस्ट’ले जित्न सक्ने अनुमान छ ।
प्रतिक्रिया 4