
८ पुस, काठमाडौं । नेपालमा निर्यात व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ५ महिना (साउन–मंसिर) को तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.९६ प्रतिशत रहेको छ । आयातको हिस्सा ९१.०४ प्रतिशत रहेको छ ।
तथ्यांक अनुसार मंसिरसम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमध्ये निर्यात मात्र ६३ अर्ब २० करोड रुपैयाँको मात्र भएको छ । जुन ८.९६ प्रतिशत मात्र हुन आउँछ । यस आवको मंसिरसम्म भएको निर्यात गत वर्षको यसै अवधिको तुलनामा समेत कम हो । गत आवको मंसिरसम्म ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको थियो ।
कात्तिकसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.९८ प्रतिशत रहेको थियो । असोजसम्मको तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.११ प्रतिशत रहेको थियो । भदौमा ९.२४ प्रतिशत हिस्सा निर्यातको थियो ।
साउनमा निर्यातको हिस्सा ९.४८ प्रतिशत रहेको थियो । व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रका अनुसार यस वर्ष फलाम तथा त्यसको उत्पादनको निर्यात बढेपनि ऊनी गलैंचा, यार्न, जुट तथा जुटका उत्पादनको निर्यात खुम्चिन पुगेको छ ।
सबैभन्दा धेरै पामतेलको निर्यातमा ह्रास आएको छ । चिया निर्यात समेत यस वर्ष खुम्चिएको छ । यी वस्तुहरुको निकासीमा आएको ह्रासले समग्र वस्तु निर्यातमै नकारात्मक प्रभाव पारेको हो ।
वैदेशिक व्यापारमा घट्दै निर्यातको हिस्सा
महिना | कुल व्यापार | निर्यात | निर्यातको हिस्सा |
---|---|---|---|
साउन | १ खर्ब ४२ अर्ब ७६ करोड | १३ अर्ब ५२ करोड | ९.४८ प्रतिशत |
भदौ | २ खर्ब ८६ अर्ब १९ करोड | २६ अर्ब ४४ करोड | ९.२४ प्रतिशत |
असोज | ४ खर्ब ४८ अर्ब ६३ करोड | ४० अर्ब ८७ करोड | ९.११ प्रतिशत |
कात्तिक | ५ खर्ब ६३ अर्ब ६ करोड | ५० अर्ब ५६ करोड | ८.९८ प्रतिशत |
मंसिर | ७ खर्ब ५ अर्ब ४१ करोड | ६३ अर्ब २० करोड | ८.९६ प्रतिशत |
५ महिनामा साढे ६ खर्बको आयात
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो ५ महिनाको अवधिमा आयात भने साढे ६ अर्ब रुपैयाँ बराबरको भइसकेको छ । मंसिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ३.३९ प्रतिशत कम हो । गत आवको यसै महिनासम्म ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रका अनुसार यस वर्ष पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । फलाम तथा स्टीलको आयात समेत केही खुम्चिएको छ । कच्चा भट्टमासको तेल र औषधि आयात समेत घटेको छ ।
कच्चा पाम तेलको आयात समेत धेरैले घट्ने वस्तुमा परेको छ । यस वर्ष तयारी पोषक र अन्नको आयात भने बढेको छ । दूरसञ्चारका सामग्रीको आयातमा समेत सकारात्मक वृद्धि देखिएको केन्द्रले जनाएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.०४ प्रतिशत रहेको छ ।
वैदेशिक व्यापारको आकार ७ खर्ब, व्यापार घाटा झण्डै ६ खर्ब
मंसिरसम्म वैदेशिक व्यापारको आकार ७ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । यो गत आवको यसै अवधिको तुलनामा ३.६४ प्रतिशत कम हो । सो आवको मंसिरसम्म ७ खर्ब ३२ अर्ब रुपैयाँ बराबको वैदेशिक व्यापार भएको थियो ।
यसअवधिमा व्यापार घाटा भने ५ खर्ब ७९ अर्ब रुपैयाँ बराबर रहेको छ । यो गत आवको यसै अवधिमा ३.०९ प्रतिशत घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा ५ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो । वैदेशिक व्यापारमा आयात–निर्यात रेसियो १०.१६ रहेको छ ।
१ खर्ब २८ अर्बको पेट्रोलियम पदार्थ आयात
५ महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयात मात्र १ खर्ब २८ अर्ब रुपैयाँको भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यसमा नेपालले सबैभन्दा धेरै व्यापार घाटा बेहोरिरहेको छ । यस वर्ष आइरन र स्टीलको आयात ५२ अर्ब ४४ करोड रुपैयाँको छ ।
विद्युतीय सामग्रीको आयात ४५ अर्ब २४ करोडको रहेको छ । सवारी साधन र यसका पार्टपूर्जाको आयात २९ अर्ब २० करोड रुपैयाँको रहेको छ ।
अमेरिकासँगको व्यापार नाफामा
नेपालको कुल १५० मुलुक सँग वैदेशिक व्यापार रहेको छ । जसमध्ये सबैभन्दा धेरै भारतसँग रहेको छ । व्यापार घाटा समेत भारतसँग छ । भारतसँग ३ खर्ब ९४ अर्बको आयात र ४२ अर्ब रुपैयाँको निर्यात व्यापार छ ।
चीनसँग १ खर्ब २५ अर्बको आयात र १ अर्ब ३ करोड रुपैयाँको निर्यात व्यापार रहेको छ । अमेरिकासँग नेपालको व्यापार नाफामा छ । यस मुलुकसँग ५ अर्ब ४८ करोड रुपैयाँको आयात हुँदा ७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको छ ।
प्रतिक्रिया 4