
८ पुस, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१ अंक घट्दा पनि १३ कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ ।
यसरी १० प्रतिशत मूल्य बढेका कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु, कालिका पावर, सामलिङ पावर, बीपीडब्लू लघुवित्त, चिरख्वाखोला हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्याज्योति लाइफ इन्स्योरेन्स, अपरसोलु हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, नेपाल वेयरहाउजिङ कम्पनी, माइखोला हाइड्रोपावर, मैलुङखोला जलविद्युत् कम्पनी र सयपत्री हाइड्रोपावर कम्पनी छन् ।
यीमध्ये मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा र चिरख्वा हाइड्रोपावर कम्पनी हालै सूचीकृत कम्पनी हुन् । आईपीओ सूचीकृत भएपछि यी कम्पनीको मूल्य दैनिक १० प्रतिशत बढेको छ । आइतबार बजार बन्द हुँदा मुक्तिनाथको मूल्य प्रतिकित्ता ३४७ रुपैयाँ ९० पैसा, चिरख्वाको ३६३ रुपैयाँ, नेवाल वेयरहाउजिङको २५२ रुपैयाँ ५० पैसा र भिजन लुम्बिनी ऊर्जाको ४४१ रुपैयाँ ९० पैसा पुगेको छ ।
अघिल्लो दिनसम्म उच्च दरले मूल्य बढेका दुई कम्पनी नेपाल रिपब्लिक मिडिया र हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य भने आइतबार उच्च दरले घट्यो । नेपाल रिपब्लिक मिडियाको मूल्य १० प्रतिशत नै घटेर ४२० रुपैयाँ ४० पैसामा कायम भएको छ भने हाथवे इन्भेस्टमेन्टको ९.८५ प्रतिशत मूल्य घटेर ८३२ रुपैयाँ १० पैसामा कायम भएको छ । त्यस्तै आँखुखोला जलविद्युत् कम्पनीको ९.१, हिमालयन डिस्टिलरीको ६.८, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.७ तथा मन्दाकिनी हाइड्रोको ६.६ प्रतिशत मूल्य घट्यो ।
प्रतिक्रिया 4