
८ पुस, काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको प्रयोजन निर्वाचनका लागि मात्रै नहुने बताएका छन् । चुनावबाट सिट प्राप्त गर्ने मात्रै उद्देश्य पार्टीको हुन नहुने थापाले बताए ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मदिवसको अवसरमा कांग्रेसले गरेको कार्यक्रममा महामन्त्री थापाले सिंगो पार्टी पङ्ति कि पार्टीभित्रको निर्वाचन कि पार्टीले लड्नुपर्ने निर्वाचनमा लागिरहेको बताए । ‘हाम्रो ओरियन्टेसन नै त्यसको लागि मात्रै हुँदै गर्दा त्यसले समस्याहरु ल्याएको हो कि,’ महामन्त्री थापाले भने ।
पार्टीको भद्दा संरचना भएर मात्रै पनि चुनाव जितिने अवस्था नहुने २०४८ सालको निर्वाचनले पुष्टि गरेको उनले सुनाए । २०४८ सालमा सबैभन्दा बढी मत ३९ प्रतिशत मत कांग्रेसले पाएको उल्लेख गर्दै थापाले त्यसबेला महिला संघ, तरुण दल, प्राध्यापक संघ, दलित संघ, शिक्षक संघ नभएर पनि बहुमत ल्याएको बताए ।
संस्थापक नेताहरुको कुरा हुँदै गर्दा कांग्रेसले बाटो छोडेको टिप्पणी हुने गरेको उनले बताए । कांग्रेसमा बीपी, किसुन जी, गणेशमानको बाटो छोड्यो भनेर तुरुन्त निष्कर्ष निकाल्ने बानी रहेको थापाले बताए ।
‘हामीले समीक्षा गर्नुपर्ने थुप्रै विषयहरु छ,’ महामन्त्री थापाले भने,‘तर, एउटा सरकारले सामान्य गरेको, गर्नुपर्ने नीजिकरणको कुरालाई पनि बीपीको समाजवाद छोड्यो, बीपीको समाजवाद छोड्यो भनेर कहिलेकाही रोइलो लगाइरहेका हुन्छौं ।’
प्रतिक्रिया 4