
८ पुस, काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइन बक्यौता बाँकी रहेको दाबी गर्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन धमाधम काटिरहँदा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले त्यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न अलमल गरेका छन् ।
प्राधिकरणले शुक्रवार चार उद्योगको लाइन काटेपछि त्यस विषयमा छलफल गर्न नेपाल उद्योग बाणिज्य महासंघको बैठक शनिवार बसेको थियो । आइतवार पत्रकार सम्मेलनमार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी महासंघले गरेको थियो ।
तर, महासंघले आइतवार पनि यस विषयमा केही बोलेको छैन । यस विषयमा थप अध्ययन गरी समाधानको बाटो के हुनसक्छ भन्ने कुराको निष्कर्षमा पुगेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए ।
‘यो लामो समयदेखि समाधान नभएर बसेको विषय हो, प्राधिकरणले उद्योगकै लाइन काट्ने तहमा पुगेकाले पर्याप्त गृहकार्य गरेर मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने तयारीमा छौं,’ उनले भने ।
तर, महासंघका अध्यक्ष चन्द्रसाद ढकाल र अन्य पदाधिकारीबीच यस विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा सहमति नभएकाले महासंघको आधिकारिक धारणा नआएको स्रोतले अनलाइनखबरलाई बतायो ।
निजी क्षेत्रको अर्को संगठन नेपाल उद्योग उद्योग परिसंघले पनि यो विषयलाई अध्ययन नै गरिरहेको जनाएको छ । शनिवार परिसंघको स्टार्टअप फेस्ट रहेका कारण व्यस्त भएकाले यसमा अध्ययन गर्न नपाएको अध्यक्ष राजेश अग्रवालले बताए ।
‘शनिवार नेपाल उद्योग बाणिज्य महासंघले छलफलका लागि हामीलाई बोलाएको थियो, तर हामी कार्यक्रममा व्यस्त भयौं,’ उनले भने, ‘यो समस्याको गहिराइमा पुगेर अध्ययन गरेर मात्रै आधिकारिक धारणा सार्वजनिक गर्छौं,’ उनले भने ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि यस विषयमा थप अध्ययन गरेर चेम्बरले धारणा राख्ने बताए । कानूनको पालना सरकार तथा निजी क्षेत्र दुवैले गर्नुपर्ने उनले बताए । ‘यसमा सरकारले पनि जबर्जस्ती गर्नुहुँदैन । उद्योग व्यवसायमा डेडिकेटेड लाइन कति दिने, के दिने नीति हुनुपर्छ,’ उनले भने, ‘मुलुकमा लगानीकर्ताको संरक्षण सरकारले गर्नुपर्छ ।’
नेपाल उद्योग बाणिज्य महासंघका केही पदाधिकारीले महासंघ, परिसंघ तथा चेम्बरको साझा धारणा बनाउने तयारी गरेका थिए । तर, त्यस हिसाबले कसैले समन्वय नगरेको उनले भने । ‘हामी आफैँ यसमा थप अध्ययन गरेर धारणा बनाउँछौं,’ उनले भने ।
२०७५ देखि ५८ वटा उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच जारी डेडिकेटेड फिडर तथा ट्रंक लाइनको छुट बिलसम्बन्धी विवाद प्राधिकरणले केही उद्योगको लाइन काटिदिएपछि उत्कर्षमा पुगेको छ । शुक्रवार चार उद्योगको लाइन काटिदिएको प्राधिकरणले आइतवार थप पाँच उद्योगको लाइन पनि काटिदिएको छ ।
प्रतिक्रिया 4