
उसले भने जस्तै
मान्छेका आँखाहरू
भोक भनिरहेका थिए
उसले भने जस्तै
मान्छेका अनुहारहरू
शोक भनिरहेका थिए
मरुभूमि टेकेर
हिंडिरहेका ती यात्राहरू
शीतल ओतहरू खोज्दै
ऊ आफ्नो आकाश
सम्झिरहेको थियो
फूलेका स्वप्नहरूमा
अनावृत एउटा सम्झना
ढलेर फेरि उठेको छ
शोकाकुल वर्तमानहरूमा
पोतिएको एउटा क्रान्ति
निभेर फेरि बलेको छ
ऊ आफैं टाढिएको कहाँ हो र ?
ऊ आफैं हराएको कहाँ हो र ?
उसलाई थाहा छ
जीवनसँग खुसीहरू हुनुपर्छ
उसलाई यो पनि थाहा छ
जीवनसँग धेरै भरोसाहरू हुनुपर्छ
भाग्यसँग नजोडिएका
उसका थुप्रै प्रार्थनाहरू
धुलाम्मै भएका छन्
खुसीहरू खोज्दा खोज्दै
भरोसाहरू रोज्दा रोज्दै
गलेका उसका थुप्रै दिनहरू
धुवाँ-धुवाँ भएका छन्
ऊसँग अहिले
केवल आशाहरू मात्र छन्
ऊसँग अहिले
केवल निराशाहरू मात्र छन् ।।
–हाल अमेरिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4