
काठमाडौं । पुस १२ गतेदेखि मञ्चन हुन लागेको नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक भएको छ । नाटकको यो संक्षिप्त भिडियोले मलिका महतसहितका कलाकारको पात्र र मनोदशा चित्रण गर्छ ।
टिजरमा अशान्त शर्मा, प्रमोद अग्रहरि, विजय ताम्राकार, विम्ब अधिकारीको पनि क्यारेक्टर नाम र हुलिया प्रस्तुत गरिएको छ । सुकेको फूलको दृश्य र तास खेल्दै गरेका केही विम्बमार्फत नाटकले कथाबारे भन्छ ।
मलिकाको अगाडि जलिरहेको आगो र उनको हतास मनस्थिति प्रस्तुत गरिएको छ । मानसिक स्वास्थ्यबारेको यो नाटकबाटै मलिकाले रंगमञ्चमा डेब्यु गर्दैछिन् । नाटकमा उनी चार पात्रको भूमिकामा देखिन लागेकी हुन् ।
थिएटर आकारको प्रस्तुति रहेको नाटक माघ ६ गतेसम्म मञ्चन हुँदैछ । सुप्रसिद्ध बंगाली नाटककार बादल सरकारको कथा रहेको यो नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् ।
नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रूपमा छन् ।
२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । ‘अनुहार हराएको’, ‘विम्बको सपना’, ‘यो कुनै बास हो एक’, ‘बेड नम्बर ९९’, ‘तीन बहिनी’, सोलो म्युजिकल प्रस्तुति (भरत नाट्यम) लगायत छन् ।
प्रतिक्रिया 4