
प्यासको लामो अत्यासलाग्दो पर्खाइपछि
हात परेको छ थोरै राहतमा पानी
आफ्नो आत्मालाई छाडेर आफ्नै बस्तीको खण्डहरमा
सुक्खा श्वासको धुलो उडिरहेको
यो आहत शिविरमा लखेटिंदै आइपुगेका
हजारौं बेघर निधारभरि
छिपेका छन्
हजारौं कहाली लाग्ने कहानी
यो भीडमा
म एक स्त्रीका चरक्क सुकेका आँखाको तलाउमा
चिरिएका गहिरा रेखा पढिरहेको छु
उसको खोकिलामा फुटेको जर्किनको गमला छ
कस्तो भावशून्य अनुहार !
दुःखका सबै हद पार गरिसकेपछि
शायद अनुहारले दर्द बोल्ने भाषा नभेट्दो हो
आक्रोशको सघनता व्यक्त गर्न सक्ने चित्र
कोर्न नसक्दो हो
उस्तै सपाट छन् हजारौं अनुहार
आस्थाको ढुकढुकीले छातीको मस्जिदसम्म नभेटेर
मुमूर्षु प्रार्थना बर्बराउँदै गरेका उस्तै लाचार ओठहरू
म यो भीडबाट
त्यस स्त्रीको कुरा गरिरहेको छु
जसले खन्याइदिएकी छे जम्मै राहतको पानी
गमलामा ओइलिएको सानो बिरुवाको जरामाथि
बस्, टक्टक्याइदिन्छे बचेको केही थोपा
खडेरीले धाँजा फाटेको आफ्नो जिब्रोमाथि
थोपाले कसरी मेटिनु तिर्खा ?
र पनि थोरै उज्यालिन्छ अनुहार
थोरै भिजिदिन्छन् आँखा
भोग्नुका पराकाष्ठाहरू भोगिसकेको भीडलाई
अस्वाभाविक लाग्दैनन् कुनै घटनाहरू
बल्लतल्ल पाएको जीवन अमृत
जाबो झारमाथि पोखाइदिनु
आघातहरूले होश गुमाइसकेकी
कोही पागल आइमाईको सामान्य हर्कत ठानिदिन्छ
दिंदैन भीडले कुनै अस्वाभाभिक प्रतिक्रिया
नदेखिने गरी थोरै आफूभित्रै मुर्मुरिन्छ
सपनाहरू सपना मात्र हुँदैनन् कहिलेकाहीं
यति सजीव हुन्छन् कि
लाग्छ, म त्यो स्त्रीको कथा जान्दछु
म उसको कथा सँगसँगै त्यतिबेलादेखि हिंडिरहेको छु
जतिबेला उसको खोकिलामा दुधे बच्चा हुने गर्दथ्यो
प्रिय पाठक,
बुलेट प्रुफ देशहरूलाई
किन ऊ जस्तो निर्धो, निरस्त्र मान्छेबाट खतरा हुन सक्छ ?
ऊ जुन भूमिमा गर्भिणी भई
ऊभित्रको नाजुक बीजले
कसरी उनीहरूलाई आतङ्कित पार्न सक्छ ?
उसले जन्माएको एक अबोध बालक हो
निश्चल, निरीह, निर्मल
आमाको आँखा हेरेर मुस्कुराउन खोज्ने कलिलो ओठ
उसको कुन आतङ्कको प्रतिरक्षामा
वा दूध चुस्दै बनाइरहेको कस्तो ध्वंसात्मक योजनाको भयले
वा दूधको धारामा उसको मस्तिष्कसम्म घुलाई पठाएको
कुन गोप्य कोडको आशङ्कामा
खसाउनुपर्ने हुन्छ उनीहरूमाथि मिसाइल
र चुपचाप सदर गरिदिन्छ विश्वले
बमहरू त यति सजिलै खस्छन् कुनै निहत्था बस्तीमाथि
जसरी मुसलधारे पानीसँगै असिना खसेको होस्
प्रिय पाठक,
त्यो युवती बनेर धमिलो सम्झन्छु
आफ्नो आवासको खण्डहरले कतै आफू थिचिएको
आफ्नो लिबासमा बेरिएको बच्चा आधा पुरिएर पर रोइरहेको
म सम्झन्छु
बमको मुसलधारे वर्षापछिको चिसो सन्नाटा
बाक्लो अँध्यारो
पछि एम्बुलेन्सको मधुरो आवाज
बन्दुकको बाढीले सोहोरिएर यौटी आमा
कुन अनकन्टारमा थिचिंदै आफ्नो श्वास जोगाउँछे
छुटेको बच्चाको सासको हाल पर्खिरहन
कुन हदसम्मको पीडालाई सहज मानिदिन्छे
ओहो,
कहाँ छन् ती तालु नपुरिएका
दाँत नपलाएका
दूधे आतङ्कवादीहरू !
जुन अस्पतालले उपचार गरिरहेको छ उनीहरूको सङ्गठन
हुनसक्छ त्यो प्रतिरक्षाको लागि सबैभन्दा सहज निशाना
निर्मम युद्ध चलिरहन्छ
लाग्छ, यी घटनाहरू कुनै काँचको पर्दामा चलिरहेका चलचित्र मात्र हुन्
बीभत्स मृत्युका दृश्यहरू जो चलिरहन्छन्
चलचित्र बाहिर यी चरित्र अभिनेताहरू फेरि ब्युँतिन्छन्
घर फर्कन्छन्
जो हामी देख्दैनौं
हामीलाई लाग्छ, हाम्रो घरभित्र जस्तै
आमाको काखमा लुटपुटिन्छन् बच्चाहरू
बरण्डामा बसेर जून हेर्छन्, बाबाको काँधमा चढेर किस्सा सुनाउँछन्
अघाउँछन् अनि न्यानोमा लुपुक्क निदाउँछन्
यो युद्धविरामको समय हो
पिसाबले एक्कासी च्यापेपछि
चलिरहेको मूभीमा जसरी दबाउँछ रिमोटवालाले पज बटन
ज्यान तन्काउँछ, फ्रिज खोलेर बियर थप्छ
यसैगरी लाग्छ युद्धमा एकैछिन पज
यसैगरी हुन्छ छोटो युद्धविराम
निद्राबाट भर्खर उठेको छु
सधैं झैं यो बिहान पनि समाचारहरूले उकुसमुकुसिएको छ
तर बढी निसास्सिएको छु आज अस्पतालका तस्वीरहरूले
ठीक यही समय हो, यिनै तस्वीरहरू हुन्
जसले रोपेको हो यो कविताको बीज
म हुँ बुलेट प्रुफ देशको कमजोर कामदार
जसले तिर्ने ट्याक्सले बस्तीहरूमाथि बम बर्साउँछ
र हुँ एउटा ढोंगी कवि
जसको आवाजलाई मत्थर गर्न काफी छ यौटा छोटो युद्धविराम
एक ‘रिफ्रेसिङ ब्रेक’
यतिबेला
अक्सिजन सिलिण्डरको भरमा छाडेर घाइते बच्चाहरू
डाक्टर लखेटिएको अस्पतालमा
घाइते आमाहरू फर्केका छन्
शय्यामा बच्चाहरू कुहिएका छन्
ठीकठाक छन् अक्सिजनका मास्क
तर बच्चाका अनुहार छैनन्
गिलो जीउमा सल्बलाएका छन् हरिया झिंगा, खुम्रेकिरा
म ती युवतीको कथा सँगै छु
जो अस्पतालमा कुहिएका बच्चा नियालिरहेकी छे
एक बच्चाको देहमा उम्रेको एउटा सानो बिरुवाका कलिला पातहरू
आमाको गन्धको फेर समाएर फुरफुर नाच्न थालेपछि
तानिएपछि उसतर्फ स–साना लहरा
ममताले भिजेको छ उसको ब्लाउज
कथाहरू सबै काल्पनिक हुँदैनन्
सत्यको भयङ्कर नजिक हुन्छन्
यसरी,
फुटेको जर्किनको गमलामा
जतनले रोपेकी हो उसले
आफ्नो छोरीको आत्मा
एकैछिनको ‘रिफ्रेस’पछि फेरि ‘रिप्ले’ हुनु नै छ यो छोटो ‘पज’
जुन शिविरले जेनतेन जोगाइरहेको छ आहतहरूको श्वास
हुनसक्छ त्यो प्रतिरक्षाको लागि सबैभन्दा सहज निशाना
छोटो युद्धविरामपछि शिविरमा खसेको छ बम
टुङ्गिएपछि युद्धविराम
विश्व अदालतका लागि यो कुनै अवैध कर्म हैन
अवैध त बच्चाले निलेको खर्बुजाको बीउ हो
त्यसबाट उम्रिएको बिरुवा
त्यसलाई खोकिलामा जोगाइरहेकी आमा
र तिनलाई आश्रय दिइरहेको शिविर
प्रतिरक्षाका अनेक तस्वीरहरूमध्ये
यो एउटा अर्को तस्वीर हो –
शिविरको खण्डहरमा आधा थिचिएको छ युवतीको लास
अलिपर उछिट्टिएको छ गमला
प्रिय पाठक,
आफैंलाई उकुसमुकस हुने गरी
अब तन्क्याउनु छैन यो कथा
यति कुरुप हुन दिनु छैन अन्त्य
गमलामा उम्रिरहेको खर्बुजाको बेर्ना
मैले जोगाएको छु यो कवितामा ।।
प्रतिक्रिया 4