
११ पुस, काठमाडौं । प्रदेश कमिटीबाट बहुपहिचानमा आधारित प्रदेशको नाम राख्ने निर्णय गरेपछि नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राई पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन् ।
‘प्रदेश कमिटीले बहुपहिचानमा जाने निर्णय गरेको छ, अब केन्द्रीय कमिटी बैठकमा जान्छु’, राईले भने । एकीकृत समाजवादीको प्रदेश कमिटीले बहुपहिचानमा आधारित नामाकरण राख्ने निर्णय शुक्रबार गरेको उनले बताए ।
‘प्रदेश कमिटीले निर्णय गरिसकेको छ, अब यो कुरा केन्द्रीय कमिटीमा राख्न दिने भन्ने भएको छ’ राईले भने, ‘प्रदेश संसदको कामले ढिला भए पनि आज म केन्द्रीय कमिटी बैठकमा जान्छु ।’
प्रदेशको नाम कोशी राख्दा केन्द्रीय नेताहरुको असहमतिबीच प्रदेश संसदीय दलका नेता राईले फरक प्रस्ताव राखेका थिए । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले प्रदेशको नाम कोशी राख्दा एकीकृत समाजवादीका नेता राईले सगरमाथा–किराँत–लिम्बुवान नामकरणको प्रस्ताव ल्याएका थिए ।
तर केन्द्रीय नेतृत्वबाट साथ नपाएको भन्दै राईले पार्टी केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र सचिवालय बैठक बहिष्कार गर्दै आएका थिए ।
प्रतिक्रिया 4