
१२ पुस, काठमाडौं । सुनसरीका राजनीतिक दलहरुले कोशी प्रादेशिक अस्पताल इनरुवामै राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको सर्वदलीय प्रतिनिधिले प्रदेश अस्पताल अन्यत्र नसार्न आग्रह गरेका हुन् । अस्पतालका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेकाले तत्काल सञ्चालनमा ल्याउन पनि माग गरेका छन् ।
‘.. अस्पताल सञ्चालनका लागि पूर्वाधारमा विभिन्न पालिकाहरुको आर्थिक सहयोगमा लाखौं रकम खर्च भइसकेको हुँदा अहिले फेरि उक्त प्रहरी अस्पताल यहाँबाट अन्यत्र सार्ने चर्चाले हामीलााई एकदमै विस्मित र चिन्तित बनाएको छ’, प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ ।
सुनसरीको सदरमुकाम भए पनि विकास पूर्वाधारमा पछाडि परिसकेको इनरुवाबाट यो अस्पताल अन्यत्र सारे आन्दोलनमा उत्रने चेतावनी पनि ज्ञापनपत्रमा दिइएकोे छ ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले इनरुवामै यो अस्पताल सञ्चालन हुने आश्वासन दिएका छन् । ‘प्रधानमन्त्रीले सकारात्मक जवाफ दिनुभएको छ, हामी विश्वस्त भएका छौं’, कांग्रेस केन्द्रिय सदस्य कार्कीले भने ।
प्रदेश प्रहरी अस्पताल अहिले मोरङ सार्ने तयारी भएको भन्दै सुनसरीका दलहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।
यसअघि मोरङको बेलबारीमा स्थापना भएको प्रदेश प्रहरी अस्पताल इनरुवा सारेको भन्दै स्थानीय राजनीतिक दलका अगुवाले बेलबारीमै फिर्ता ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका थिए ।
प्रतिक्रिया 4