
काठमाडौं । अंग्रेजी नयाँ वर्षको पहिलो महिनाभरि नै पोखरामा गायक-गायिका तथा ब्याण्डले सांगीतिक प्रस्तुति दिने भएका छन् । नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि २५ औं पोखरा सडक महोत्सव सुरु भइसकेको छ ।
बिहीबार साँझ स्टेजमा लोकदोहोरी गाउन प्रजापति पराजुली उत्रिनेछन् भने शुक्रबार साँझ प्रीति आलेको प्रस्तुति हुनेछ । शुक्रबार दीपक बज्राचार्य र रिदम ब्याण्डको प्रस्तुतिसँगै सांगीतिक माहोल तात्नेछ । सोही दिन साँझ पोखरेली र्यापर राजन केसीले आफ्ना हिट गीत पस्कनेछन् ।
शनिबार पोखरेली ब्याण्ड टुकी र रक ब्याण्ड मुक्ति एण्ड रिभाइभलले प्रस्तुति दिनेछन् । सोही दिन नै पशुपति शर्माले लोकभाका गुञ्जाउनेछन् ।
सन् २०२३ को अन्तिम दिन आइतबार बद्री पंगेनी र पुरुषोत्तम न्यौपानेले गीत गुञ्जाउनेछन् । आइतबार नै द एलिमेन्ट्स र लाउरे एण्ड द ब्याड कम्पनीले प्रस्तुति दिनेछन् ।
पोखरा गुञ्जिने सिलसिला महोत्सवमा मात्र सीमित हुनेछैन । एक सातापछि पुस २७ गते पोखरामा र्यापर माइला, २८ गते रकहेड्स गुञ्जनेछन् । त्यही मेसोमा शरद श्रेष्ठको ब्याण्ड ‘श्री ३’ ले प्रस्तुति दिनेछ ।
जनवरी १७ मा मेलिना राई, १८ मा सविन राई, १९ मा मन्त्र ब्याण्डले सांगीतिक प्रस्तुतिबाट पोखरेलीलाई मनोरञ्जन दिनेछन् । जनवरी २० मा भिटेन, २१ मा सुगम पोखरेल र लगत्तै र्यापर जी–बबले प्रस्तुति दिनेछन् ।
संगीत क्षेत्रका जानकार नीरज पुनका अनुसार लोकदोहोरी रुचाउने दर्शकलाई समेत अंग्रेजी नयाँ वर्षमा बलियो लाइनअप छ । यो सूचीमा शान्तिश्री परियार, ज्योति मगर, रचना रिमाल, प्रकाश दूतराज, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, सम्झना लामिछाने मगरले पनि प्रस्तुति दिनेछन् ।
समीक्षा अधिकारी, बद्री पंगेनी, एलिना चौहान, सिम्रन परियार, राजु परियार, पशुपति शर्मा र प्रीति आलेले पनि प्रस्तुति दिने लाइनअप तयार भएको छ । जनवरीमा पोखरामा सडक महोत्सव र पोखरा महोत्सव नामक दुई सांस्कृतिक इभेन्ट हुँदैछन् ।
सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्ष नेपालमा १० लाखभन्दा बढी पर्यटक घुम्न आएका थिए । यो तथ्यांक कोभिड महामारीयताकै उच्च रहेको बताइएको छ । पछिल्लो समय पोखराको पर्यटन लयमा फर्किएको छ ।
प्रतिक्रिया 4