
१३ पुस, काठमाडौं । सोमबार र मंगलबार सार्वजनिक बिदा थपिँदा यो साता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्यो । खुलेका तीनै दिन बजार घट्यो । आइतबार २१, बुधबार १८ र बिहीबार करिब २ अंक घट्यो । गत साता नेप्से परिसूचक २१०९ अंकमा बन्द भएको थियो । यो साता २०६८ अंकमा कायम भएको छ ।
समग्रमा बजार यो साता १.९४ प्रतिशत घट्यो । बजार घट्दै जाँदा कारोबार रकम पनि खुम्चिँदै गएको देखिन्छ । आइतबार ७ अर्ब ११ करोडको कारोबार भएकोमा बुधबार ५ अर्ब २४ करोड र बिहीबार ४ अर्ब २९ करोडमा खुम्चियो ।
समूहगत रुपमा हेर्दा ब्यापार समूह यो साता सबैभन्दा धेरै ७.१३ प्रतिशत घट्यो । ब्यापार समूहमा जम्मा दुई वटा कम्पनी मात्रै सूचीकृत छन् । ती हुन् साल्ट ट्रेडिङ कर्पोरेसन र विशाल बजार कम्पनी । यी दुई कम्पनीको मूल्यले नै समूहलाई असर पार्ने हो । साल्ट ट्रेडिङको मूल्य यो साता ६.९ प्रतिशत घट्यो भने विशाल बजार कम्पनी ७ प्रतिशत घट्यो ।
गत साता व्यापार समूह उल्लेख्य ८.५९ प्रतिशत बढेको थियो । बजार बढ्दा जुन समूहमा धेरै वृद्धि देखिन्छ, घट्दा पनि तिनै समूह बढी प्रभावित हुने गरेको लगानीकर्ताको टिप्पणी छ । यो साता सबैभन्दा कम घट्नेमा हाइड्रोपावर समूह रह्यो, जुन समूह ०.२० प्रतिशत मात्रै घट्यो । गत साता हाइड्रोपावर समूह ७ प्रतिशत बढेको थियो ।
बजार घट्दा पनि मूल्य बढेका कम्पनी
समग्र बजार घट्दा पनि ४ कम्पनीको मूल्य ३३ प्रतिशत बढ्यो । सेयर बजारमा सूचीकृत भएका नयाँ कम्पनीको मूल्य ३३ प्रतिशत बढेको हो । त्यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावर र त्रिशूली जलविद्युत्को मूल्य क्रमशः १७ र १४ प्रतिशत बढे ।
किन उच्च दरमा बढ्यो ४ कम्पनीको मूल्य ?
मुक्तिनाथ कृषि कम्पनी, भिजन लुम्बिनी ऊर्जा, नेपाल वेयरहाउजिङ र चिरख्वा हाइड्रोपावरको मूल्य ३३ प्रतिशत बढ्यो । यी चारै कम्पनी बजारमा हालै सूचीकृत नयाँ कम्पनी हुन् । यी चारै कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले आईपीओ जारी गरेका थिए ।
बजारमा सूचीकृत भएपछि पहिलो कारोबारका लागि दिइने मूल्य बजारका अरु तुलनात्मक कम्पनीकोभन्दा कम हुने भएकाले सामान्यतः प्रिमियम नथपेर अंकित मूल्यमा जारी भएका सबैजसो नयाँ सूचीकृत कम्पनीको सेयर मूल्य केही दिन बढ्ने गर्दछ ।
कुनै कम्पनी सूचीकृत भएपछि सो कम्पनीको नेटवर्थलाई आधार मान्दै नेप्सेले पहिलो कारोबार मूल्य रेञ्ज तोकिदिन्छ । प्रतिसेयर नेटवर्थ मूल्य नै कारोबारका लागि न्यूनतम मूल्य र सोको ३ गुणा अधिकतम मूल्य तोकिन्छ । सो रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार हुन्छ । अझ न्यूनतम मूल्यमा कारोबार सुरु हुँदा नेटवर्थ बराबरकै मूल्यमा हुन जान्छ ।
जसले गर्दा नयाँ सूचीकृत कम्पनीको मूल्य केही दिन उच्च दरमा बढ्ने गर्छ । पछिल्लो समय धितोपत्र बोर्डले म्युचुअल फण्डले पाएको आईपीओ ६ महिनासम्म बेच्न नपाउने व्यवस्था गरेको छ, यसले आपूर्तिलाई पनि नियन्त्रण गर्छ ।
प्रतिक्रिया 4