
१३ पुस, काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विषाक्त र अस्वस्थकर खाद्यान्नको आयातमा कडाइ गर्नुपर्ने बताएकी छन् ।
शुक्रबार समितिले केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याबारे छलफल गरेको थियो । त्यसक्रममा सभापति राणाले सहज आयातकै कारण नेपाली किसानको केरामा भारतीय केरामा देखिएको ‘टिआर फोर’ नामक घातक रोग देखिएकाले सीमा नाकामा कडाइ गर्नुपर्ने बताइन् ।
भारतबाट विषाक्त केरा र माछा आउँदा नेपालमा रोग भित्रिरहेको उनले बताइन् । सभापति राणाले अघि भनिन्, ‘भारतमा कुनै रोग आउने वितिकै खुला सीमानाका कारण नेपालमा पनि आउँछ, यसको रोकथामका लागि भारतका वैज्ञानिकसँग कुरा गर्नुपर्छ भने पनि गरौं ।’
सीमाबाट आयात हुने विषाक्त र अस्वस्थकर खाद्यान्न नियन्त्रणका लागि कृषि, अर्थ, गृह र वाणिज्य मन्त्रालयको टास्क फोर्स बनाउनुपर्ने उनको राय छ । उनी थप्छिन्, ‘नेपाली किसान मारमा परिरहेका छन् । यसलाई रोक्न सीमा नाका र भन्सारमा अर्थ, गृह र वाणिज्य मन्त्रालयले कडाइ गर्नुपर्छ ।’
भारतबाट आयात हुने खाद्यान्न तथा पशुको गुणस्तर परीक्षणका लागि सीमामा अनिवार्य क्वारेन्टाइन राख्ने र जाँच गर्नुपर्ने उनको राय छ ।
प्रतिक्रिया 4