
१३ पुस, विराटनगर । प्रहरीले संखुवासभाको उत्तरी क्षेत्रबाट ठूलो परिणामा बन्यजन्तु सालकको खपटा बरामद गरेको छ ।
चीनतर्फ लैजादै गरेको अवस्थामा भोटखोला गाउँपालिका–२ चेपुवाबाट सात वटा बोरामा राखिएको २ सय आठ किलो ७६ ग्राम सालकको खपटा (आखेटोपहार) बरामद गरेको हो ।
खपटा लैजादै गरेका मध्ये दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका– २ च्याम्ताङका ३५ वर्षीय छिरिङ भोटे र डेमा थिकेपा छन् ।
प्रहरीले खपटा बरामद गरेको स्थानबाट चीनसँगको सीमा नाका किमाथाङ्का करिब १५ किलोमिटर टाढा छ । सडक नभएका कारण सो दुरी पार गर्न एक दिन पैदल हिड्नुपर्छ ।
कोरोना महामारीपछि किमाथाङ्का नाका बन्द छ । नाका बन्द भए पनि तस्करको समूहले चीनतर्फ लैजादै गरेको अवस्थामा सालकको खपटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए । उनका अनुसार तस्करको समूहले विभिन्न स्थानबाट खपटा संकलन गरेर चीनतर्फ लैजादै थिए ।
बुधबार बोरा बोकेर पैदल बाटो उकालोतर्फ जाँदै गरेको समूह प्रहरीलाई देखेपछि बोरा फालेर भागेको थियो । बोरा फालेर मान्छे भागेपछि चेक गर्दा प्रहरीले खपटा बरामद गरेको थियो । त्यसपछि भाग्ने मानिसको खोजी गर्ने क्रममा बिहीबार बिहान छिरिङ भोटेलाई पक्राउ गरेको थियो । भोटेको बयानका आधारमा बिहीबार नै डेमा थिकेपालाई पनि पक्राउ गरेको थियो ।
पक्राउ परेका भोटे व्यवस्थापकीय भूमिका खेल्ने कारोबारी भएको प्रहरीले बताएको छ । प्रहरीसँगको वयानमा उनले विभिन्न स्थानबाट संकलन गरी चीन लैजान खोजेको बताएका थिए ।
नियन्त्रणमा लिएको सात बोरा सालकको खपटासहित पक्राउ परेका दुई जनालाई थप कारबाहीका लागि मकालु बरूण राष्ट्रिय निकुन्ज कार्यालयमा बुझाइएको डिएसपी श्रेष्ठले बताए ।
नेपालमा ठूलो परिणाममा सालकको खपेटा बरामद भएको पहिलो घटना भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीका बन्यजन्तु अनुसन्धान अधिकृत डिएसपी डाक्टर तपन दाहालले बताए । ‘यसअघि यती ठूलो परिणाममा सालकको खपटा बरामद भएको थिएन्,’ उनले भने ।
एउटा ठूलो सालकबाट एक किलोसम्म खपटा निस्कन्छ । तस्करको समूहले ठूलो संख्यामा सालक मारेर खपटा संकलन गरेको देखिएको प्रहरीले बताएको छ ।
डीएसपी दाहालका अनुसार चीनमा गहना बनाउनका लागि सालकको खपटाको बढी प्रयोग हुनेदेखिन्छ । नेपालमा सालक अति संकटपन्न सूचीमा छ । सरकारले सालक संरक्षणका लागि विभिन्न अभियान पनि सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया 4