+
+
बालकुमारी घटना :

कोरिया जान माग्दा प्रहरीबाट मारिए दुई युवा

मन्त्रीको गाडी देख्दा भड्कियो भीड, गाडीमा आगजनीपछि प्रहरीले गुमायो संयमता

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते २१:२२

१३ पुस, काठमाडौं । दैलेखका २३ वर्षीय सुजन रावत कोरियन भाषा पढ्न दुई साता अगाडि मात्र काठमाडौं आएका थिए । कोरियाली भाषा परीक्षाकै तयारीमा भएका ठूलोबुबाका छोरा सजनसँगै दहचोक बसे ।

शुक्रबार बिहान सजन साथीहरुसँग भाषा पढ्न बागबजार लागे । सुजन भने भाषा परीक्षाका लागि आवेदन दिन पाइने आशमा ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालय पुगे ।

उच्च अदालत, पाटनले आवेदन लिनू भन्ने आदेश दिएका कारण अरु युवा पनि त्यहाँ पुगेका थिए । तर कार्यालयले रिट लिएर अदालत गएका १८ जनाको मात्र आवेदन लिने निर्णय गरेको थियो । हिजो बिहीबार पनि २/३ सय युवा आवेदन दिन पाउनुपर्ने माग गर्दै पुगेकाले शुक्रबार बिहानदेखि सुरक्षाकर्मी तैनाथ दिए ।

सुरक्षाकर्मीले परीक्षा फर्म भर्न पाउनुपर्ने माग गर्दै पुगेका युवाहरुलाई कार्यालयमा प्रवेश नै दिएन । भीड बढ्दै गएपछि उनीहरु संगठित रुपमै आन्दोलित भए । कार्यालय पुग्न बल गर्न खोजेका युवालाई प्रहरीले लखेटेपछि तनाव बढ्यो । आक्रोशित युवाहरु सडकमा भेला भएका बेला मन्त्रीको झण्डाबाला गाडी आयो ।

युवाहरुले बा २ झ ५८६१ नम्बरको गाडी रोके । गाडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला रहेछन् । भिडले अवरोध गरेपछि उनी दुई निजी सुरक्षा अधिकृत (पीएसओ) सहित गाडीबाट निस्किएका थिए ।

चालक गाडी घुमाउने कोसिस गर्दै थिए । आक्रोशित भीडले सुरुमा टायरको हावा फुस्कायो । केहीबेरमा गाडीमाथि आगो लगाइदियो । मन्त्रीको गाडीमा आगजनी भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी परिसर, ललितपुरले थप टोली परिचालन गर्‍यो । भीडले अरु गाडीमा तोडफोड गर्न थालेपछि तनाव बढ्यो, प्रहरीले अश्रुग्यास हान्यो ।

उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो । त्यसक्रममा दैलेखका २३ वर्षीय सुजन रावतसँगै अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको छ ।

राउत सडकमा ढलेका थिए । प्रदर्शनकारीहरुका अनुसार झडपका क्रममा उनलाई प्रहरीले बन्दुकको कुन्जाले हानेका थिए । बेहोस भएका उनलाई तत्काल किस्ट अस्पताल लगिएको थियो, तर उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

‘भाइले तपाईं भएको ठाँउमा आउँछु भनेर फोन गरेको थियो । प्रहरीले कुटपिट गरेर मार्‍यो’ दाइ सजनले अनलाइनखबरसँग भने, ‘छातीमा निलो डाम छ । भाइलाई प्रहरीले बन्दुकको कुञ्जाले हानेर मारेको हो ।’

अछामका वीरेन्द्रको भने पेटको तल्लो भागमा गोली लागेको छ । अत्यधिक रत्तश्राव भएका उनलाई पाटन अस्पताल लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको छ ।

प्रदर्शनकारीले ३ घन्टासम्म उच्छृंखल गतिविधि गरेपछि हवाई फायर गर्नु परेको ललितपुरका एसपी नवराज कार्कीको दाबी छ । ‘सम्झाइबुझाइ गर्‍यौं, पछि हट्न अनुरोध गर्‍यौं’ उनले भने, ‘भीडले मन्त्रीज्यूको गाडीमा पनि आगजनी गर्‍यो, त्यसक्रममा भीडलाई तितरवितर गर्न कारबाही गरेको हो ।’

तर भीडले मन्त्रीको गाडीमा आगो लगाइसकेपछि नियन्त्रणका नाममा प्रहरीले अधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको भनेर गृह प्रशासनको आलोचना भएको छ ।

मानवअधिकारकर्मी मोहना अन्सारी पनि प्रहरीले पानीको फोहोरा लगायत, माइकिङ गरेर सम्झाउने ठाउँ हुँदा हुँदै गोली चलाएको बताउँछिन् । ‘मन्त्री निस्किएर गइसकेका थिए, केहिबेर नारा लगाएर साम्य हुन्थ्यो’, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य समेत रहेकी अन्सारी भन्छिन्, ‘मन्त्रीको गाडी जलाए भनेर प्रहरी उग्र भएजस्तो देखिन्छ, आज जे भयो, एकदमै गलत भयो ।’

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी पनि आन्दोलन भइरहेको स्थानबाट भीआईपीको सवारी हुन प्रहरीले किन दियो भन्ने पनि प्रश्न उठेको बताउँछन् ।

‘अगाडि हड्ताल, जुलुस वा प्रदर्शन भइरहेको छ भने भीआईपीको गाडी रोक्नुपथ्र्यो, किनभने त्यहाँ सरकारी गाडी देखेपछि प्रदर्शनकारी थप उग्र भएका छन्’, मल्लले भने, ‘त्यो भिडलाई रोक्न भीआईपी सवारीलाई डाइभर्ट गर्नुपर्नेमा त्यो हुनसकेको देखिएन, यसमा प्रहरीको कमजोरी देखिन्छ ।’

किन आन्दोलित भएका थिए युवाहरु ?

वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले सन् २०२३ को लागि पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ) मा कोरिया लैजाने नेपाली श्रमिक छनोट गर्न आवेदन मागेको थियो । ३५ हजार ४१८ जनाले आवेदन दिए, १ असोजदेखि सञ्चालन भएको भाषा परीक्षामा ३ हजार ९८९ जना मात्रै उत्तीर्ण भए ।

अनुत्तीर्ण भएका परीक्षार्थीहरु कोरियाकै उत्पादनमुलक क्षेत्रका लागि हुने भाषा परीक्षाको पर्खाइमा थिए ।

ईपीएस कोरिया शाखाले १९ मंसिरमा सूचना निकालेर उत्पादनमुलक क्षेत्रका लागि पुस २ देखि ६ गतेसम्म आवेदन माग्यो । तर आवेदकहरुको योग्यतामा २०२३ मा भाषा परीक्षाका लागि आवेदन नदिएको हुनुपर्ने सर्त पनि समावेश भयो । यसले सिप बिल्डिङका लागि भाषा परीक्षा दिएर नाम ननिस्किएकाहरुले उत्पादनमुलक तर्फको परीक्षामा आवेदन दिन नपाउने भयो ।

ग्वार्कोस्थित ईपीएस कोरिया शाखाका अनुसार कोरियाली भाषा पढेका ३१ हजार युवालाई परीक्षामा वञ्चित गर्न खोजिएको गुनासो गर्न हरेक दिनजसो युवाहरु आउँथे । पटक–पटक फारम भर्ने वातावरण मिलाउन अनुरोध गरे पनि ईपीएस कोरिया शाखाले मानेन ।

ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार साउनमा पानी जहाज निर्माण क्षेत्रको भाषा परीक्षामा सहभागी हुनेले उत्पादनमुलक क्षेत्रको परीक्षामा सहभागी हुन नपाउने स्पष्ट भनिएको थियो । ‘सबैले त्यो सर्त स्वीकारेर फारम भर्नुभएको थियो’, सुवेदी भन्छन्, ‘अहिले उहाँहरुले फेरि फारम भर्न दिनुपर्छ भनेपछि हामीले कोरिया मानव संशाधन विभागमा जानकारी गराए पनि उनीहरुले मानेनन् ।’

त्यसपछि पानी जहाज निर्माण क्षेत्रको भाषा परीक्षामा सामेल भएका सुरज पाठकसहित १८ जना रिट लिएर उच्च अदालत पाटन गए । ५ पुसमा न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको संयुक्त इजलासले १८ जना रिट निवेदकको पक्षमा अन्तरिम आदेश जारी गर्‍यो । उनीहरुलाई फारम भर्न रोक नलगाउन र आवेदन फारम भर्न दिन आदेश जारी गरेको थियो ।

यससँगै पानी जहाज निर्माण क्षेत्रको भाषा परीक्षामा नाम ननिस्किएका सबैले उत्पादनमुलक क्षेत्रतर्फ पनि परीक्षा फारम भर्न पाउने अपेक्षा गरेका थिए । तर तोकिएको अवधिमा कसैले पाएनन् । ईपीएस कोरिया शाखाले पूर्व निर्धारित समय २ देखि ६ पुसम्म उत्पादनमुलक क्षेत्रका लागि १ लाख ४३ हजार युवाको आवेदन लियो ।

बिहीबार बल्ल रिट निवेदन लिएर गएका १८ जनालाई मात्र शुक्रबार १० बजेदेखि ३ बजेसम्म फारम भर्न सूचना जारी गर्‍यो । यसप्रति असन्तुष्टि जनाउन बिहीबार नै करिब २–३ सय युवा ईपीएस कोरिया शाखाको कार्यालयमा पुगेका थिए ।

निर्देशक सुवेदीका अनुसार शुक्रबार थप भीड हुने पूर्वानुमानअनुसार प्रहरी परिचालन भएको थियो । प्रहरीले चक्रपथको सडकबाट कार्यालयतर्फ जान नै रोकेपछि युवाहरु आक्रोसित भए । भीड बढ्दै गएपछि उनीहरु संगठित रुपमै आन्दोलित भए । आन्दोलनका क्रममा प्रहरीबाट दुई युवा मारिएका छन् ।

गृह मन्त्रालयले भने अप्रत्यासित रुपमा घटना भएको भन्दै छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय समिति बनाएको छ । ललितपुरका सहायक सीडीओ अमरदीप सुनुवाई र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेको समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

यो पनि पढ्नुस् 

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

मन्त्री प्रकाश ज्वालालाई ओराले, अनि गाडीमा आगो लगाए

परिवारको ऋण तिर्न कोरिया जान्छु भन्थे, बालकुमारीमा मारिए 

बालकुमारी झडपमा ज्यान गुमाएका सुजन : छातीमा भेटियो निलडाम, लागेको छैन गोली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?