+
+

भम्पा : एक संघर्षको दर्शन

सबै गुमाइसकेका मानिसलाई चाहिने भनेकै भरोसा हो, आफ्नो कोही छ भन्ने महसुस गराउनु हो । राईले आफ्नो जीवनपर्यन्त भुटानी शरणार्थीहरूलाई त्यो भरोसा दिलाइरहे ।

प्रशान्त लामिछाने प्रशान्त लामिछाने
२०८० पुष १४ गते १९:२०

मानिसको स्वभाव नै हो, सकेसम्म उसले ‍सजिलो बाटो रोज्छ । अप्ठ्यारोमा भनसुन गरेर भए पनि आफ्ना लागि केही न केही मिलाउन खोज्छ ।

तर त्यस्ता केही पात्रहरू पनि हुन्छन् जो आफ्नो स्वाभिमानका लागि अथाह दु:खमा आफैं होमिन्छ । त्यस्तै एक व्यक्ति हुन् डा. भम्पा राई । भुटानी शरणार्थी नेता तथा ‘मानवतावादी’ चिकित्सक राईको २०७९ असारमा निधन भइसकेको छ ।

सन् ९० को दशक वरपर डा. राईसँग के थिएन ? भुटानका रोयल सर्जन, मानसम्मान, दरबारसँग निकटता, थेरथोर कमाइ सबै थियो उनीसँग ।

वीरेन मगर लिखित उनको जीवन भोगाई ‘भम्पा: एक अडान अनेक प्रश्न’ पढिसक्दा पुन: एक पटक महसुस हुन्छ यी सब क्षणिक रहेछन् ।

सन् ९० को दशकमा भुटानबाट नेपाली भाषी भुटानी नागिरक ल्होत्साम्पाहरूलाई अनागरिक बनाउन राजा जिग्मे सिङ्गे वाङचुक नै लागि परे । त्यही समय अनागरिक हुनेमध्येका एक हुन् राई ।

उनलाई भुटान छोडेर शरणार्थी बन्नुपर्ने बाध्यता थिएन तर मानिससँग स्वाभिमान पनि सँगै हुन्छ। कसैले स्वाभिमान छोड्न सक्छन् कोही आफ्नो स्वाभिमानसहित बाँच्छ रुचाउँछन् चाहे जस्तोसुकै/जतिसुकै मूल्य चुक्ता गर्नु किन नपरोस् ।

डा.राई मृत्युपर्यन्त स्वाभिमानसहित बाँचे । उनको त्यही स्वाभिमानले नेपाली भाषीमाथि भुटानमा अन्याय हुँदा ती सब अनदेखा गर्दै दरबारको सेवा गरेर बस्न दिएन, अनि उनी भए शरणार्थी ।

राईको जीवनको अन्तिम समयमा लेखिएको भएर पनि हुनसक्छ अझै केही विषयहरू छुटेको झैं लागे पनि लेखक वीरेन मगरको मिहिनेत सह्रानीय छ ।

लगातार ३ दशक नेपालमा बसेर उनले शरणार्थीको घरफिर्तीका लागि संघर्ष गरे । नामी चिकित्सक रहेका उनले शरणार्थी र त्यस क्षेत्रका नागरिकको स्वास्थ्योपचार गरे । यसैले पनि उनको नाम शरणार्थीमाझ श्रद्धेय छ ।

पत्रकार देवेन्द्र भट्टराईले पुस्तकको अन्तिम गातामा लेखेका छन्, ‘१७ अगस्ट, १९९० मा भुटानका सहायक गृहमन्त्री दागो छिरिङको एउटा सार्वजनिक सूचना आयो- ‘दक्षिण भुटानबाट ठूलो सङ्ख्यामा ल्होत्साम्पाहरू राज्यद्रोहको अभियानमा सहयोगी बन्न देश छोडेर हिंडिरहेका छन् । आइन्दा उनीहरूलाई भुटानी नागरिकका रूपमा दर्ज गरिने छैन । यही सूचना बोकेर थिम्पुबाट फुन्चोलिङ-जयगाउँ झरेका एक वरिष्ठ चिकित्सक भम्पा राई फेरि फर्किएर आफ्नो जन्म-कर्मथलो कहिल्यै गएनन् ।’

यो एक हरफले उनको शरणार्थी जीवन कहानी बोल्छ । दक्षिण भुटानबाट एक लाखभन्दा बढी ल्होत्साम्पाहरूलाई देश छोड्न राजाले नै बाध्य पारे। उनीहरू अनेक दु:खका पहाडहरू छिचोल्दै भारतहुँदै पूर्वी नेपाल आइपुगे ।

शरणार्थी हुनु अन्तहिन दु:ख मात्र होइन यो एउटा संघर्षको बाटो पनि हो । डा. राईको आत्मवृतान्तले त्यही भन्छ । उनले भुटानी शरणार्थी पूर्वी नेपाल प्रवेश गरेदेखि आफ्नो जीवनको अन्त्य नहुन्जेलसम्म उनीहरू कै भलो र घरफिर्तीका लागि काम गरे । आफ्नो र परिवारका लागि सोच्नेसमेत फुर्सद पाएनन् ।

त्यो समयमा डाक्टरी पढाइ गरेका राईलाई आफ्नो पढाइ अनुसारको कामको खाँचो थिएन । सीप र दक्षताले आर्थिक रूपमा पनि सम्पन्न जीवन जिउन सक्ने क्षमता राईमा थियो । तर उनले त्यसतर्फ सोचेनन् । सायद राई र यस्तै अन्य त्यागीहरू शरणार्थीको समूहमा भएकैले उनीहरूको पूर्वी नेपालको बसाइमा केही सहजता, केही आड भरोसा थपिए होला ।

सबै गुमाइसकेका मानिसलाई चाहिने भनेकै भरोसा हो, आफ्नो कोही छ भन्ने महसुस गराउनु हो । राईले आफ्नो जीवनपर्यन्त भुटानी शरणार्थीहरूलाई त्यो भरोसा दिलाइरहे ।

राईले गुवाहाटीमा एमबीबीएस पढ्दै गर्दाको आफ्नो प्रेम प्रसंगदेखि पछि जीवनको उत्तरार्धमा उनीसँग इन्टरनेटमार्फत भएको भेटसम्म पुस्तकमा समेटेका छन्। उनको निजी जीवनका यस्ता प्रसंगले पुस्तकलाई अझ रोचक बनाएको छ ।

तेस्रो मुलुक पुनर्वास गएकाहरूले पनि डा. राईको चिन्ता गरेर उतै बोलाएका प्रसंगमा उनले उनीहरूलाई आशामा राखेका छैनन् र सहजरूपमा भनेका छन्, ‘म आउँदिन ।’

उनी तेस्रो मुलुक पुनर्वास कार्यक्रम होइन शरणार्थीको ससम्मान घरफिर्ती हुनुपर्छ भन्ने आफ्नो धारणामा अन्तिमसम्म अडिग रहे । पुनर्वास जाँदै गरेका उनका मित्रहरू जसले राईलाई जानेबेला सम्झेनन् उनीहरूलाई पनि धन्यवाद भन्दै चौडा छाती देखाएका छन् ।

‘घर फिर्ता आन्दोलनको क्रममा कति साथीहरूसँग मनमुटाव भयो होला । तर त्यो हाम्रो मुद्दा र विचारमा भएको असमझदारी हो । यही कारण धेरै साथीहरूले पुनर्वास जाँदै गर्दा मसँग भेट गर्न जरुरी देख्नुभएन होला । उहाँहरू सबैलाई सम्झना छ ।’ पुस्तकमा यो लाइन पढ्दा प्रस्ट हुन्छ उनी व्यक्तिगत इगोमा होइन विचारमा समस्याको हल खोज्छन् ।

भुटानदेखि माईबगरसम्म शरणार्थीका दु:खका दिनहरू पुस्तकमा पढ्दा कतिपय ठाउँमा आँखा रसाउँछन् त कहिले भुटानी तानाशाहविरुद्ध घृणा र आक्रोश पैदा हुन्छ ।

घरफिर्तीका लागि संघर्ष गरिरहेका संगठनहरूबीच कै बेमेलबारे पनि उनी खुलेका छन् । उनलाई भुटान पिपुल्स पार्टी (बीपीपी) को नेतृत्व लिन युवाहरूले गरेको आग्रह र नचाहँदा नचाहँदै पनि पार्टी राजनीतिमा पुगेको प्रसंग पुस्तकमा छ । पार्टीको कार्यवाहक महासचिवको जिम्मेवारी उनले पाउँछन् । पार्टीलाई व्यवस्थित गर्न विधान लेख्न बस्नु नै अरुका लागि टाउको दुखाइ बन्छ ।

विधान लेखिरहेकै बेला महासचिवलाई थाहा नदिई पार्टीको बैठक चल्छ । दुई दिनपछि राई त्यहाँ पुग्छन् । आफ्ना कुरा राख्छन् । त्यसपछि उनी विस्तारै त्यो राजनीतिबाट निष्क्रिय बन्छन् । पार्टी राजनीतिमा भम्पा अडिन सक्दैनन् । तर आफनो अडानमा उनी अडिग छन्- त्यो हो घरफिर्ती ।

डा. राईप्रति सबै उमेर समूहका शरणार्थीको आसा र भरोसा थियो । शिविरमा व्यक्तिपिच्छे संगठन बनाउने र त्यसका आधारमा आर्थिक लाभ लिनेहरूको बारेमा पनि राईले पुस्तकमा बोलेका छन् । यस्तो प्रवृत्तिले शरणार्थीहरूबीचको एकतामा असर गरेको उनको बुझाइ थियो ।

तेस्रो मुलुक पुनर्वासको विषयमा अमेरिकी राजदूत जेम्स एफ मोरीआर्टीसँग भएको बैठकमा उनले यसलाई ठाडै अस्वीकार गरेका छन् । उनले उक्त बैठकमा राखेको भनाइ यसरी उल्लेख गरिएको छ, ‘तपाईंहरूले बनाउनु भएको सुन्दर र शक्तिशाली देशमा गएर बोझ हुनुभन्दा हामी आफ्नै सानो देशलाई सुन्दर बनाई गर्व र आत्मसम्मानका साथ रहन चाहन्छौं …।’

डा. राईले आफू ठाडो भाषामा बोल्ने भने पनि यो उनको जवाफ निकै कुटनीतिक लाग्छ ।

शरणार्थीसम्बन्धी अमेरिकी अधिकारी कृस्टल कप्लानसँग मानवअधिकारका विषयमा भएको बहसको प्रसंग रोचक छ । कसरी पश्चिमाहरू भुटानीलाई पुनर्वासमा लैजाने पूर्ण योजनामा आएका थिए र शरणार्थीहरूबीचमा नै फाटो पारिदिएका थिए भन्ने उनले खुलाएका छन् ।

यस्ता अनेकौं प्रसंग पुस्तकमा छन् । राजाका एडीसी डासो कुछेसँगको ठाकठुकदेखि राजाका मामा डासो रिमसँगको अन्तरङ्ग सम्बन्धबारे डा. राईले खुलेर लेखेका छन्।

पुस्तक पढिरहँदा उनको देशभक्ति झल्किन्छ । भम्पा राईले ‘घर कहाँ’ भनेर सोध्दा शिविरको ठेगाना नबताउन अग्रजहरूले सचेत गराउने गरेको प्रसंग लेखक वीरेन मगरले पनि उद्धृत गरेका छन् । ‘लाग्थ्यो डा. भम्पा भन्ने मान्छेलाई भेट्नुअघि भुटानको आफ्नो ठेगाना त घोक्नैपर्ने रहेछ’, लेखकीयमा वीरेनले भनेका छन् । राईको देशप्रेम यो सानो प्रसंगले ठूलो गरी देखाउँछ ।

भुटानको शरणार्थी आन्दोनलका विषयमा रुचि हुनेहरूका लागि यो पुस्तक एक सन्दर्भ सामग्री बनेको छ । राईको जीवनको अन्तिम समयमा लेखिएको भएर पनि हुनसक्छ अझै केही विषयहरू छुटेको झैं लागे पनि लेखक वीरेन मगरको मिहिनेत सह्रानीय छ । यो पुस्तक राईको बकपत्र मात्र होइन भुटानी शरणार्थी जगतको एक जिउँदो इतिहास पनि हो । डा. भम्पा राईले बाँचेको समय र उनको जीवनदर्शन पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?