+
+

बालकुमारी घटनामा रास्वपाले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १४ गते १७:१४

१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला बनाएर रास्वपाको र्‍याट विभागले ‘जवाफ चाहियो सरकार’ कार्यक्रम सञ्चालन गरेको हो । त्यस क्रममा रास्वपाले प्रधानमन्त्री र गृहमन्त्रीलाई केही प्रश्न गरेको छ ।

पानीजहाज बनाउने काममा कोरिया जानका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षाका लागि पनि फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार ईपीएस कोरिया शाखाको कार्यालयबाहिर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो ।

रास्वपाले प्रधानमन्त्रीलाई सोधेका प्रश्नहरु :

१. रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनु भयो प्रधानमन्त्रीज्यू?

२. प्रधानमन्त्रीज्यू, नागरिकको ‘हत्या’का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ?

३. सरकार सामान्य प्रदर्शन पनि घातक बल प्रयोग नगरी रोक्न नसक्ने कमजोर अवस्थामा पुगिसकेको हो प्रधानमन्त्रीज्यू?

४. जनताको दुहाई दिएर सत्तामा पुग्नेले जनता नै किन मार्छन् प्रधानमन्त्रीज्यू?

५. मन्त्रीकै सवारी साधन जोगाउन नसक्ने सरकारले नागरिकलाई सुरक्षा दिन्छ भनेर कसरी पत्याउँ प्रधानमन्त्रीज्यू?

६. सरकारले समयमै माग सम्बोधन नगर्दा ज्यान गुमाएका युवाको आत्माले पिरोल्दा कसरी मन शान्त बनाउनुहुन्छ प्रधानमन्त्रीज्यू ?

७. गोली हानेर, मान्छे मारेर समस्याको समाधान खोज्ने कस्तो लोकतान्त्रिक शासन हो यो प्रधानमन्त्रीज्यू?

८. निरासाले तड्पिएका युवालाई गोली उपहार, दिनदाहडै जनता मार्ने किन चाहियो सरकार?

९. भ्रष्टाचार र अनियमितता मौलाउँदा युवा बेरोजगारी, जनता मार्दै शासन गर्ने कस्तो नियत सरकारी?

१०. इलम गर्न पाऊँ भन्नेलाई सरकार किन दिन्छ गोली, यस्तै शासक रहिरहे व्यवस्थै मासिएला भोलि!

गृहमन्त्रीलाई सोधेको प्रश्नहरु :

१. हिजोको घटनापछि तपाईं यो देशको गृहमन्त्री भइरहनु पर्ने एउटा मात्रै कारण देखाइदिनु न गृहमन्त्रीज्यू ? जवाफ चाहियो ।

२. दुई युवा देश छोड्न खोज्दै थिए, संसार छोड्न बाध्य बनाइदिनु भयो है, किन गृहमन्त्रीज्यू ? जवाफ चाहियो।

३. आन्दोलनलाई नियन्त्रण गर्न सुरुमै गोली चलाउने आदेश किन दिनुभयो गृहमन्त्रीज्यू? जवाफ चाहियो ।

४. आन्दोलन हुँदैछ भन्ने थाहा हुँदा-हुँदै भौतिक मन्त्रीलाई तपाईंको प्रहरी-प्रशासनले किन त्यो बाटोबाट पठायो गृहमन्त्रीज्यू ? जवाफ चाहियो।

५. तपाईंले गरेको काम र तपाईंका मातहतमा रहेको निकायले गरेको कामको छानबिन पनि त्यही निकायले गर्दा निष्पक्ष हुन्छ भनेर हामीले पत्याइदिनु पर्ने हो गृहमन्त्रीज्यू?  जवाफ चाहियो।

६. ज्यान लिनेलाईं निलम्बन मात्रै! फौजदारी अभियोग लगाउने हिम्मत किन आएन गृहमन्त्रीज्यू ? जवाफ चाहियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?