१५ पुस, काठमाडौं । करण केसीको विष्फोटक ब्याटिङक अनि सागर ढकालको ४ विकेट बलिङ प्रदर्शनमा नेपाल पुलिस क्लबले प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि जितेको छ ।
शनिबार पर्सास्थित नारायणी क्रिकेट मैदानमा भएको फाइनलमा घरेलु टोली पर्सा-११ लाई १०० रनको फराकिलो अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याएको पर्सा-११ पुलिसको बलर सामु टिक्न नसक्दा ११ ओभरमा ४५ रनमै अलआउट भयो । पर्सा ११ का लागि ओपनर अनिल शाहले सर्वाधिक १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पर्सालाई अलआउट गर्न पुलिसका सागर ढकालले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । यस्तै ललित राजवंशीले २ ओभरमा ५ रन तथा रासिद खानले १ ओभरमा ४ रन दिएर समान २ विकेट लिए । करण केसीले र शेर मल्लले समान एक/एक विकेट लिए । करणले तीन ओभरमा ७ रन मात्र खर्चे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले करणको आक्रामक ब्याटिङमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो ।
करणले १७ बल खेल्दै पाँच छक्का प्रहार गरी अविजित ४० रन बनाए । अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ तथा कप्तान आरिफ शेखले १६ रन जोडे ।
पर्सा-११ का सइफुल्लाह अन्सारी र पवन सर्राफले समान २ विकेट लिए ।
जोरा इन्टरनेसनलको आयोजनामा भएको दश दिने प्रतियोगितामा नेपालका चार र भारतका दुई गरी कुल ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4