
१५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कुरा कसैले नबुझ्ने भन्दै गुनासो गरेका छन् ।
नेपाल पर्यटन बोर्डको २५ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले भने, ‘मेरो कुरा कसैले पनि बुझ्दैन, त्यसैले पीडा हुन्छ ।’
उनले यो विषय रैथाने पर्यटन प्रवर्द्धन गर्ने सन्दर्भमा उल्लेख गरेका हुन् । आफूले नेपालीपनको पर्यटन नेपालमा विकास गर्नुपर्छ भन्दै आएको भन्दै उनले भने, ‘नेपालको प्रकृति भव्य छ, संस्कृति भव्य छ, संस्कृति र प्रकृतिको समायोजनबाट हुने पर्यटन नेपालीपनको हुन्छ ।’
यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै उनले काठमाडौंमा मात्र विकास गरेर पर्यटनको विकास नहुने बताए ।
गाउँमा नयाँ पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले सोहीकारण सम्पदा गाउँ, सांस्कृतिक गाउँको कुरा गरेको उनले बताए । तर, यसको सुनुवाइ हुन नसकेको उनले बताए ।
नेपालका जात्रा महोत्सवहरुलाई अन्तर्राष्ट्रियकरण गर्न नसकिएको उनले स्वीकार गरे । ‘कुनै देशमा गोरू जुधाएको हेर्न एक महिना अगाडिदेखि टिकट बुकिङ गर्छ, हामीले त्यस्ता गोरू कति जुधायौं जुधायौं,’ उनले भने, ‘भक्तपुरमा जिब्रो छेड्ने मौलिक जात्रा छ, त्यही जात्राको एक रातमै ५ लाख पर्यटक भित्र्याउने संकल्प हामी किन गर्न सक्दैनौं ?’ यो विना बोकेर कस्तुरी उफ्रिएजस्तै भएको उनले बताए ।
नेपालका उच्च भेगमा रहेका गोठहरुलाई आयस्रोतको माध्यम नबनाउने हो भने त्यहाँको गोठालो जीवनको समेत अन्त्य हुने भन्दै उनले यसलाई जोगाउन पर्यटनसँग जोड्न सुझाव दिए । ती भेगमा पर्यटकले आफैं चौंरी दुहुने, आफैं मही पार्ने, आफैं पकाउने कुराको ब्राण्डिङ गर्न सकिने उनको भनाइ छ ।
नेपालमा हिमाल चढ्दा एउटा मन्त्री भएकोमा फर्किंदा अर्के भइसक्ने परिपाटी रहेको भन्दै उनले आफूले कुनै लोभविना काम गरिरहेको समेत दाबी गरे ।
प्रतिक्रिया 4