+
+

साउथको बी ग्रेडको फिल्मसँग समेत हामी भाग्नुपर्ने अवस्था आइसक्यो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १६ गते १७:३९
निर्देशक दीपक श्रेष्ठ

फिल्म बुझ्ने कुरा कहिल्यै नसकिने कुरा रहेछ । प्रविधिले फड्को मारिरहेको छ । हामी पहिले रिलमा फिल्म खिच्थ्यौं । १६ बाट ३५ एमएमको सिनेमास्कोपमा पनि मैले फिल्म खिचें । त्यो बेलाको फिल्म मेकिङको स्टाइल अर्कै थियो । हरेक कुरा नापजोख गरेर खिच्नुपर्ने अवस्था थियो । गणितको विद्यार्थीले जसरी सूत्रअनुसार लेख्नुपर्छ, फिल्म बनाउन पनि त्यस्तै हिसाब गर्नुपर्थ्यो । त्यो बेला फिल्म स्क्रिप्ट नै बन्थ्यो अनि हामी हिसाबकिताब गरेर खिच्थ्यौं पनि । सुन जोख्याजस्तै हुन्थ्यो ।

डिजिटल प्रविधि आइसकेपछि घरघरमै फिल्म निर्माण भइरहेको छ । मोबाइलबाट समेत खिच्न थालिएको छ । अहिले जति एक्सपोजर गरे पनि हुने । आज चित्त बुझेन, भोलि पनि त्यही खिच्दा पनि हुने । अहिले मैले देखिरहेको छु– एउटा फिल्म सात-आठ घण्टा समेत खिच्ने रहेछन् ।

प्रविधिको कारण हरेक बच्चा–बच्चालाई फिल्मको निर्देशकजस्तै ज्ञान हुन थालेको छ । मोबाइल, इन्टरनेट, गुगलको कारण चाँडै प्रतिक्रिया आउँछ । भीएफएक्समा सानो गल्ती भएपनि सोसल मिडियामा प्रतिक्रिया आइहाल्छ । यसकारण प्रत्येक घरमा हामीभन्दा ठूला निर्देशक भइसके । यसले गर्दा भयानक चुनौती छ । सानो कुरा चुकेपनि त्यो कुरा सोसल मिडियामा प्रमुखता पाउँछ । एकैपटक सबै कुरा डामाडोल हुन्छ । यसकारण पहिलेको तुलनामा धेरै चुनौती छ ।

अहिलेको फिल्म निर्माणमा नेपालीपन कसरी देखाउने, ग्रामीण परिवेशलाई बुनेर कसरी फिल्म बनाउने भन्ने परिपाटी चलेको छ । जुन फिल्मलाई दर्शकले मन पराएका पनि छन् । यसकारण स्टोरी टेलिङ, लेखन, संवाद शैली र अभिनयमा धेरै परिवर्तन आएको छ ।

प्रमुख कुरा त हामीले दिनानुदिन नेपाली फिल्म हेर्ने दर्शक गुमाइरहेका छौं । सांस्कृतिक अतिक्रमण यसमा प्रमुख जिम्मेवार छ । एक किसिमले म यसलाई सांस्कृतिक अतिक्रमण भन्छु । तर अर्को पाटोबाट हेर्दाखेरि हाम्रो आँखाले राम्रो कुरा मात्र हेर्न चाहन्छ । राम्रो चीजको मात्र हामी खोजी गर्छौं । जसले गर्दा हलिउड, बलिउडको फिल्म एकसाथ नेपालमा रिलिज हुन्छन् ।

त्यो सँगै युटयुब, अमेजन प्राइम, नेटफ्लिक्स लगायतका प्लाटफर्म छन् । करोडौं खर्च गरिएका फिल्म ती प्लाटफर्ममा आइरहेका हुन्छन् । तिनको तुलनामा हामीले डेढ-दुई करोड लगानीमा बनाएका फिल्म यति फिक्का हुन्छन् कि नुन खुर्सानी नराखेको पकवानजस्तै हुन्छ फिक्का । हाम्रो आँखाले राम्रो चीज हेर्न चाहन्छ । अनि त्यतातिर हाम्रो लत बसिसक्यो । त्योसँगै नेपालमा जति पनि मल्टिप्लेक्स हल बनेका छन्, उहाँहरुले नेपालीभन्दा ती फिल्मलाई बढी शो दिनुहुन्छ ।

हामी आफैं पनि चुकेका छौं । हामी अब्बल छौं भनेर पनि म भन्दिनँ । हामीमा ज्ञान र सीपको भण्डार छ पनि भन्दिनँ । हामी आफैं पनि चुकेका छौं । हलिउड बलिउडतिर वर्षौंवर्ष लगाएर स्क्रिप्ट लेख्छन् । त्यसरी हामीले बनाउने हो भने यहाँ पनि हुन्थ्यो होला तर त्यसरी बनाएको प्रोडक्ट भोलि हामीले कहाँ बेच्ने त ? हाम्रो त बजार पनि छैन । सीमित बजार छ । सीमित बजार पनि अतिक्रमण भएको छ ।

सीमित बजारमा ठूलो लगानी गरेर बनाउनुको अर्थ भोलि गएर लगानी डुबाउने बाहेक अरु केही छैन । राष्ट्रिय कोणबाट एउटा फिल्म बन्छ– राष्ट्र, राष्ट्रियता र संस्कृतिको जगेर्ना गर्न । अर्कोथरी व्यावसायिक उद्देश्यले फिल्म बन्छन् । मनोरञ्जनात्मक फिल्म बनाउने र त्यसबाट दुई रुपैयाँ कमाउने । यसरी गर्ने अनुसन्धान गरेर फिल्म बनाउने हाम्रो सामर्थ्य छैन । हाम्रो लगानीले भ्याउँदैन । त्यति लगानी लगाउँदा रिटर्न छैन । रिटर्न हुने निश्चितता छैन ।

यस्तो अनुसन्धान गरेर बनाउने फिल्मलाई चलचित्र विकास बोर्ड प्रोत्साहन र अनुदान छैन । कमजोरी हाम्रो छ । कमजोरी हुँदाहुँदै पनि, हामी बनाइपनि रहेका छौं । हलिउड बलिउडका फिल्मसँग तुलना गरेर बनाउन सक्ने साथीहरु छन्, तर स्रोतको कमी छ ।

दुई-चारवटा फिल्म हिट भएर मात्र त्यसलाई सन्तुष्टिको रुपमा लिन पनि सकिंदैन । १०० वटामा पाँचवटा फिल्म चलेर त हामीले कसरी सन्तुष्टि लिने ? दुई-चारवटा त पहिले पनि चलेकै थिएन । अहिले पनि केही चलेकै छन् र राम्रो कमाइ पनि गरेका छन् । निर्माता जति डुबेपनि, फिल्म फ्लप भएपनि अधिकांश फिल्मले लगानी नउठाएपनि, यसको निरन्तरता न हिजो रोकिएको थियो, न आज रोकिएको छ, न भोलि रहेछ । तर तुलनात्मक रुपमा बोर्डमा पनि धेरै कम फिल्म दर्ता छन् ।

मलाई यतिबेला नेपाली फिल्मले दर्शक गुमाउँदै गएको भयानक स्थिति लाग्छ । सीमित एक-दुई फिल्म चलेर मात्र नेपाली फिल्म चल्यो भन्ने अवस्था हुन्छ जस्तो लाग्दैन । अहिले किन भयानक अवस्था हो भने बलिउड र हलिउडको फिल्म मात्र प्रदर्शन हुने, अन्तर्राष्ट्रियस्तरमा अर्बौं खर्च गरेर गरिएका प्रचार हुन्छन् । यसले हामीलाई प्रभाव पारेको हुन्छौं । हामीले मनस्थिति बनाइसकेका हुन्छौं । हामीलाई नेपालका कलाकारको फिल्म कहिले आउँछ, त्यो थाहा हुँदैन तर हामीलाई हलिउड र बलिउडको थाहा हुन्छ । यो डेटमा आउँदैछ भनेर भन्छन् ।

हुँदाहुँदा नेपालमा साउथ इण्डियाको बी ग्रेडको फिल्म पनि चल्ने अवस्था आइसक्यो । त्यसले पनि हामीलाई डोमिनेट गरिसक्यो । हामी त्यहाँ पनि भागिरहेका छौं । हामी नेपाली फिल्म रिलिज गर्नुअघि बलिउडको कुन फिल्म छ ? त्यसमा पनि साउथको छ कि छैन भनेर हेर्छौं । अनि रिलिज डेट निश्चित गर्छौं । त्यो डेटमा साउथको फिल्म आए, त्यहाँबाट पनि भाग्छौं हामी ।

सबैभन्दा ठूलो कुरा सरकार मातहतको चलचित्र विकास बोर्डले गर्नुपर्‍यो । चलचित्र विकास बोर्ड विदेशी फिल्मबाट विकास शुल्क कति आयो भनेर बुझ्दैछ । सलार र डंकीबाट कति आम्दानी भयो भनेर हेर्दैछ । त्यो बाहेक अरु केही पनि भएको छैन । नेपाली फिल्मको ट्रेलर नेपालको हलमा चलाएबापत पैसा तिर्नुपर्छ । मैले ‘पर्खिबसें तिमीलाई’ फिल्मलाई पुस २७ गते रिलिज गर्न आँटेको छु । पोस्टर टाँसेको पैसा पनि तिर्नुपर्छ । नि:शुल्क भनेर चलचित्र संघ र निर्माता संघबीच भएको सहमति भन्ने कुरा मात्र हुन्, रामकृष्ण ढकालको गीतजस्तै । सहमति पूर्णरुपमा कार्यान्वयन भएको छैन । स्टार कास्ट नभएको फिल्मलाई त कार्यान्वयन नै हुँदैन त्यो ।

(फिल्म निर्देशक श्रेष्ठसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?