+

अप्लास्टिक एनिमिया कसलाई हुन सक्छ ? (भिडियो)

२०८० पुष  १७ गते १५:४५ २०८० पुष १७ गते १५:४५
अप्लास्टिक एनिमिया कसलाई हुन सक्छ ? (भिडियो)

काठमाडौं । अप्लास्टिक एनिमिया यस्तो अवस्था हो जसमा शरीरले नयाँ रक्तकोषिकाहरु उत्पादन गर्न छोड्छ । यस्तो अवस्थामा बोनम्यारोमा रगत बन्नमा कठिनाइ हुन्छ, जसकारण बिरामीमा कमजोरी र थकान जस्ता समस्या आउन थाल्छन् । यो रोग जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ । यदि यसलाई लामो समयसम्म बेवास्ता गरियो भने यसको परिणाम गम्भीर हुन सक्छ र बिरामीको मृत्यु समेत हुन सक्छ ।

शरीर स्वस्थ हुन सधैं नयाँ रक्तकोषिकाहरु उत्पादन हुनुपर्छ । तर अप्लास्टिक एनिमियाको अवस्थामा, शरीरमा नयाँ रक्तकोषिकाहरुको उत्पादन बन्द हुन्छ । अप्लास्टिक एनिमियाको समस्या देखिनुको कारण के हो ? यसको उपचार सम्भव छ कि छैन ?

अप्लास्टिक एनिमियाको कारण के हो ?

कतिपय बालबालिकालाई यो समस्या जन्मजात पनि हुन्छ । धेरै पटक ‘अटोयम्युन’ आफ्नै प्रतिरक्षा प्रणालीले स्वस्थ कोषिकाहरुलाई आक्रमण गर्छ र तिनीहरूलाई बिस्तारै मार्न थाल्छ । यसले हड्डीमा रहेका कोषिकाहरूलाई पनि नष्ट गर्न थाल्छ, जुन एक विकार हो ।

भाइरल संक्रमण पनि अप्लास्टिक एनिमियाको कारण हुन सक्छ । भाइरसहरूमा हेपाटाइटिस बी, एचआईभी, एपस्टेन–बार, साइटोमेगालो भाइरस पनि पर्छन् ।

लक्षणहरू के के देखा पर्छन् ?

हाम्रो शरीरमा विभिन्न रक्तकोषिकाहरुको आ-आफ्नै भूमिका हुन्छ । शरीरमा रातो रक्तकोषिकाहरुले शरीरको हरेक भागमा अक्सिजन पुर्‍याउने काम गर्छन्, जबकि सेतो रक्तकोषिकाहरुले संक्रमणसँग लड्ने काम गर्छन् । यसबाहेक प्लेटलेट्सले हाम्रो शरीरमा रक्तस्राव रोक्न भूमिका खेल्छ ।

अप्लास्टिक एनिमियाको अवस्थामा यीमध्ये कुनै पनि रक्तकोषिकाहरु हाम्रो शरीरमा कमी हुन सक्छ र यस्तो अवस्थामा तिनीहरूका लक्षण पनि फरक हुन्छन् । सामान्यतया अप्लास्टिक एनिमिया हुँदा शरीरमा रगतको कमी हुने, शरीर सेतो हुने, श्वासप्रश्वासको समस्या, थकान, पटकपटक संक्रमण हुने हुन्छ ।

साथै कुनै चोटपटक लागेको ठाउँमा लामो समयसम्म रक्तस्राव हुने,  शरीरमा निलो दाग देखिने, पटकपटक ज्वरो आउनेजस्ता लक्षण देखा पर्छन् ।

अप्लास्टिक एनिमिया र रक्त क्यान्सरको लक्षण एकै प्रकारका हुने रहेछन् नि ?

रक्त क्यान्सर र अप्लास्टिक एनिमियाको लक्षण मिल्दोजुल्दो हुन्छ । यी दुवै रोग कडा हुने भएकाले लक्षणहरू देखिएपछि जतिसक्दो छिटो अस्पताल पुगेर चिकित्सकको सल्लाह लिनुपर्छ । हड्डीको मासीको जाँच गरेर अप्लास्टिक एनिमिया हो कि रक्त क्यान्सर भन्ने छुट्टाउन सकिन्छ ।

यसको उपचार के छ ?

अप्लास्टिक एनिमियाको सबैभन्दा राम्रो उपचार बोनम्यारो ट्रान्सप्लान्ट हो । तर नेपालमा बोनम्यारो ट्रान्सप्लान्ट सहज नभएकाले ‘इम्युनोसप्रेसिभ थेरापी’ औषधिको प्रयोगबाट यसको उपचार गरिन्छ ।

क्यान्सरको उपचारमा किमोथेरापी भने जस्तै अप्लास्टिक एनिमियामा ‘इम्युनोसप्रेसिभ थेरापी’ औषधिबाट उपचार हुन्छ । ट्रान्सप्लान्ट मार्फत गरेको उपचारमा बिरामी ९० प्रतिशत निको हुन्छन् भने औषधिमार्फत गरेको उपचारमा ७० देखि ८० प्रतिशत निको हुन्छन् ।

उपचार खर्च कति लाग्छ ?

अप्लास्टिक एनिमिया कडाखाले रोग हो । यसको उपचारमा प्रयोग हुने औषधि महंगो हुन्छ । यसको उपचारमा लगभग चारदेखि पाँच लाख रुपैयाँ खर्च हुन्छ । तर विभिन्न जिल्लाका बिरामीहरू पनि उपचारका लागि रिफर भएर पाटन अस्पताल आउने गर्छन् । उपचार अलि लामो समय चल्ने भएकाले अन्य खर्च पनि जोडिएर लगभग ७ लाख रुपैयाँ जति खर्च लाग्न सक्छ ।

उपचारपछि के के कुरामा ध्यान दिनुपर्छ ?

अप्लास्टिक एनिमिया भएका बिरामीहरूमा रगतको कमी, डब्लुबिसी र प्लेटलेटको पनि कमी हुने गर्छ । त्यसैले उपचाररत बिरामीलाई संक्रमण हुने सम्भावना हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ, भीडभाडबाट बच्नुपर्छ । बिरामीलाई कडा औषधि चलाइने भएकाले उसको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ यस्तो अवस्थामा कुनै इमरजेन्सी अवस्था आए तुरुन्त अस्पताल पुर्‍याउनुपर्छ ।

उपचार नेपालमै सम्भव छ भन्ने सूचना फैलाउनु जरुरी छ ?

अप्लास्टिक एनिमियाको उपचार नेपालमा सुरु भएको केही वर्ष मात्र भयो । त्यसैले यो कडा रोग हो, यसको उपचारमा धेरै रकम खर्च हुन्छ, विपन्न नागरिकलाई अन्य कडा रोगमा सहयोग गरेको जस्तो यो रोगमा पनि सहयोग गर्नुपर्छ भन्ने कुरामा सरकारको ध्यान जान जरुरी छ ।

यसको उपचार औषधिको माध्यमबाट नेपालमा नै सम्भव छ । यसको पहुँचमा बिरामीलाई पुर्‍याउनुपर्छ । उपचार नपाएको कारण कसैले ज्यान गुमाउनु नपरोस् ।

भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

अप्लास्टिक एनिमिया डा. सुचरिता तुलाधर
डा. सुचरिता तुलाधर
लेखक
डा. सुचरिता तुलाधर
बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्ट

डा. तुलाधर हाल ललितपुर लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक र पाटन अस्पतालमा बाल हेमाटोलोजिस्ट तथा ओन्कोलोजिस्टको रुपमा कार्यरत छिन् । उनले पेडियाट्रिक्स एमडी, पेडियाट्रिक हेमाटोलोजी र ओन्कोलोजीमा फेलोसिप गरेकी छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६४७२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय