+

खानेकुरा कसरी बासी हुन्छ ?

२०८० पुष  १७ गते १४:०७ २०८० पुष १७ गते १४:०७
खानेकुरा कसरी बासी हुन्छ ?

दाल, भात, तरकारी वा पकाएका कुनैपनि खानेकुरा केही समयपछि ठुस्स गन्हाउन थाल्छ । खाँदा अमिलो हुन्छ । र, स्वाद फिका लाग्छ । विशेषतः गर्मी माैसममा ।

पकाएको खानेकुरा लामो समयसम्म राख्दा किन यसको रुप, स्वाद परिवर्तन हुन्छ ? किन गुणस्तर उही रहँदैन ? जवाफ सरल छ, ‘खानेकुरा बासी भएकाले ।’

खानेकुरा कसरी बासी हुन्छ ? यसको स्वाद र सुगन्ध किन हराउँछ ? किन यस्तो खानेकुरा खाँदा हाम्रो पेट गडबड हुन्छ ? किन पखाला लाग्छ वा बान्ता हुन्छ ? यो प्रश्नसँगै उठ्ने अर्को जिज्ञासा हो, ‘खानेकुरा कतिबेला बासी हुन्छ ? कति अवधिपछि यो खान अयोग्य हुन्छ ?’

कसरी बासी हुन्छ खाना

कुनैपनि पकाएको खानेकुरा लामो समयसम्म राख्दा त्यसमा सुक्ष्म जीवाणुहरु सक्रिय हुन थाल्छ । त्यसमा ढुसी, ब्याक्टेरिया र अन्य हानिकारक सूक्ष्म जीवहरू सक्रिय हुन थाल्छन् ।

प्रकाश, अक्सिजन, आर्द्रता, तापक्रम, र विभिन्न कीटाणुले खानाको गुणस्तरलाई असर गर्छ । जस कारण खानाको स्वाद परिवर्तन हुन थाल्छ ।

साथै अक्सिजन ग्यासले खाद्य पदार्थमा दुर्गन्ध निम्त्याउँछ, यसलाई ‘अक्सिडेटिभ रेन्सिडिटी’ पनि भनिन्छ । यो खानेकुरा बिग्रन लागेको सङ्केत पनि हो ।

कति अवधिदेखि सड्न थाल्छ ?

खानेकुरा विभिन्न प्रकारको हुन्छ । कति अवधिमा सड्न थाल्छ भन्ने कुरा खानेकुरा अनुसार फरक पर्छ । जुन खानेकुरामा पानीको मात्रा बढी हुन्छ । जस्तै, फलफूल, दूध, दही, पकाएको खानेकुरा एक हप्तामा कुहिन थाल्छ ।
नुन, चिनी मसलाजस्ता खाद्यवस्तु जुनमा पानीको मात्रा हुँदैन । त्यस्ता खानेकुरालाई महिनौंसम्म भण्डारण गरेर राख्न सकिन्छ ।

यस्ता खानेकुरा खाँदा पेटमा के हुन्छ ?

खानेकुरा बासी हुनु भनेको त्यसमा सुक्ष्म जीवाणुहरु सक्रिय हुन थाल्नु हो । त्यसमा जीवाणु, फंगस (ढुसी) हरु बढ्न थाल्छ । यस्तो खाना खाँदा खाना पचाउन कठिन हुन्छ । त्यही कारण पेट दुख्ने, कब्जियत र एसिडिटी/अम्लियपना (ग्यास्ट्राईटिस) को समस्या हुन सक्छ ।

खानालाई बिग्रनबाट बचाउने उपाय

सामान्यतयाः हामीले फ्रिजमा काँचो र पकाएको खाना सँगै राख्छौँ । काँचो तरकारी र पकाएको खाना एउटै ठाउँमा राख्नाले फ्रिजमा ब्याक्टेरिया बढ्छ । यसले खाना छिट्टै बिग्रन्छ, त्यसैले काँचो र पकाएको खानालाई सधैँ छुट्टाछुट्टै ठाउँमा राख्ने, राम्ररी छोपेर राख्ने गर्नुपर्छ ।

फ्रिजमा राखेको खानेकुरा चिसो हुन्छ । त्यसैले खानालाई झिकेर पटक पटक तताउने गरिन्छ । तर एक पटक भन्दा बढी तताउँदा खाना बिग्रन्छ । त्यसैले खाना बारम्बार तताउनु भन्दा खाई सिध्याउने जतिकाे अंश निकालेर तताई खाने गर्नुपर्छ ।

खाना पाकिसेको दुई घण्टाभित्र त्यसमा फ्रिजमा भण्डारण गर्नुपर्छ । बाहिरी तापक्रममा धेरै बेर राख्नु भनेको खाना असुरक्षित बनाउनु हो । धेरै तातो खाना पनि फ्रिजमा सोझै राख्नु हुँदैन । कम्तीमा बाफ उड्न बन्द हुने बेलासम्म कुर्नुपर्छ ।

खानेकुरा कसरी बासी हुन्छ
भूपाल बानियाँ
लेखक
भूपाल बानियाँ
पोषणविद्

बानियाँ हाल वीरेन्द्र प्रहरी अस्पतालमा पोषण विभाग प्रमुखको रुपमा कार्यरत छन् । उनले क्लिनिकल न्यूट्रिसन र पोषणमा बीएस्सी र न्युट्रिसन र डाइटेटिक्समा एमएस्सी गरेका छन् । उनी पोषण तथा आहार विशेषज्ञ संघको अध्यक्षसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय