
१७ पुस, काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने दिन बिहीबार दिएको सार्वजनिक बिदाको निर्णय फिर्ता लिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले भवन उद्घाटनको दिन गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, शिक्षण संस्था, लगायत गाउँपालिका क्षेत्रभित्रका बैक, वित्तीय संस्थाहरुमा स्थानीय सार्वजनिक विदा दिने सूचना जारी गरेका थिए ।
तर गाउँपालिकाको उक्त निर्णयको विरोध भएपछि सूचना रद्द गरिएको छ । ‘हामीले उत्सवको रुपमा मनाउनको लागि बिदा दिएका थियौं तर यति धेरै अप्रिय भयो भनेर तत्काल नै आकस्मिक कार्यपालिका बैठक बसेर रद्द गर्यौं,’ गाउँपालिका अध्यक्ष ठूलाकान्छा लामाले भने ।
उनले गाउँपालिकाका वडाध्यक्ष, स्थानीय भद्रभलाद्मीको सल्लाह सुझाव अनुसार फिर्ता लिएको भन्दै गाउँपालिकाले गरेको सामान्य गल्ती तत्काल सुधार गरेको सुनाए ।
‘वडाध्यक्षज्यूहरुले पनि यो बिदा ठीक होइन, गाउँपालिकाको पुरै बदनाम हुने भयो भन्नुभयो, स्थानीय अन्य साथीहरुले पनि ठीक भएन भनेपछि रद्द ग¥यौं’ लामाले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4