+
+

विद्यार्थी आकर्षण गर्ने जनसंख्या केन्द्रीय विभागको योजना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २०:०८

१७ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागले विद्यार्थी आकर्षण गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । विभागका अनुसार २४ पुससम्म जुनसुकै विषयमा स्नातक गरेको विद्यार्थीले भर्नाका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै मेरिट र कक्षा क्रियाशीलताका आधारमा ५ जना विद्यार्थीले छात्रवृत्ति पाउने, अर्को वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय जनसंख्या सम्मेलन तथा राष्ट्रिय तथ्यांक कार्यालयसँग समझदारी भई जनगणनाका तथ्यांकहरुको आधारमा तयार हुँदै गरेका थिम्याटिक रिपोर्टहरुमा इन्टर्नसीपको व्यवस्था हुने पनि विभागले जनाएको छ ।

त्यस्तै विभागमा कार्यरत प्राध्यापकहरुको पहलमा गरिने अध्ययन अनुसन्धानमा रिसर्च असिस्टेन्टको रुपमा काम गर्ने अवसर पाउने र जनसंख्या अध्ययन अनुसन्धान गर्न आवश्यक पर्ने कम्प्युटर सफ्टवेयरहरु सिक्ने अवसर पाउने जनाएको छ ।

बसाइँसराई, घट्दो जन्मदरका कारण आन्तरिक जनसंख्याको वितरण सन्तुलित हुन नसकेको अवस्थामा जनसंख्या अध्ययनमा राम्रो सम्भावना रहेको विभागको भनाइ छ । जनसंख्या अध्ययन गर्ने विद्यार्थीको भविष्य उज्वल भएपनि यसको महत्व तथा फाइदालाई वृहत बनाउन नसक्दा विद्यार्थीको आकर्षण नबढेको विभाग प्रमुख डा.योगेन्द्रबहादुर गुरुङ बताउँछन् ।

‘जनसंख्या अध्ययनले रिसर्चर, मनिटरिङ इभ्यालुएसन एक्सपर्ट, नीति निर्माता जस्ता जनशक्ति उत्पादन हुन्छ’, उनी भन्छन् ‘तथ्याङ्क विश्लेषण र सफ्टवेयरहरुमा पोख्त भएपछि बेरोजगार हुनुपर्ने अवस्था छैन र योसँग जोडिएका विषयमा अध्ययन गर्न सहजै अवसर पाइन्छ ।’

आर्थिक, राजनीतिक, भौगोलिक, जनसांख्यिक हरेक दृष्टिकोणबाट समाज अध्ययन गर्नको लागि जनसंख्या अध्ययन जरुरी रहेको उनको तर्क छ ।

हाल स्नातकोत्तर तहमा जम्मा पाँच जना विद्यार्थी अध्ययरत रहेको विभागले जनाएको छ । एमफिल र पीएचडीमा समेत गरी २२ जना अध्ययनरत छन् ।

२०४५ सालमा मानविकी ताथा सामाजिक शास्त्र संकाय अन्र्तगत खुलेको विभागले अहिलेसम्म स्नातकोत्तर तहमा दुई हजार ३०० जना भन्दा बढी, एमफिलमा १८२ जना र पीएचडीमा १९ जनशक्ति उत्पादन गरिसकेको छ ।

किन पढ्ने ?

विभागका अनुसार जनसंख्या अध्ययन गर्दा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मानव प्रवृत्तिको विकास जान्न, जनसंख्या परिवर्तनको प्रक्रिया र त्यसका निर्धारकहरुबारे ज्ञान लिन, जनसंख्या र विकाससँग स्रोतहरु जोड्ने जनसंख्या अध्ययन गर्नुपर्छ ।

त्यतै गरी राष्ट्रिय र स्थानीय विकास योजनाको लागि जनगणना र तथ्याङ्क विश्लेषण गर्न, जनसंख्या र सामाजिक विज्ञान अनुसन्धानमा ध्वनि र वैज्ञानिक ज्ञान हासिल गर्न अध्ययन गर्न जरुरी रहेको विभागको तर्क छ ।

विभागले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर अहिलेसम्म गरेको अध्ययन, अनुसन्धान तथा अब भर्ना हुनेको लागि विद्यार्थीको लागि अवसरबारे जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?