+
+

सर्वोच्चले खोल्यो हेटौंडा बजारमा सडक विस्तारको बाटो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २०:२२
हेटौंडा बजार/फाइल तस्वीर

१७ पुस, काठमाडौं । मकवानपुरको हेटौंडा बजार क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सर्वोच्च अदालतले बाटो खोलिदिएको छ । सडक विभागले राजमार्ग विस्तारको तयारी गरिरहेका बेला स्थानीयले त्यसलाई रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सडक डिभिजन कार्यालय हेटौंडाले २५ मिटर सडक विस्तारको लागि सूचना जारी गरेपछि परेको रिट सर्वोच्च अदालतले मंगलवार खारेज गरिदिएपछि सडक विस्तारको बाटो खुलेको हो ।

सीता कार्की, मनिष श्रेष्ठ, विजयलाल जोशी, सिता ढकालसहित २३ जनाले दिएको रिट सर्वोच्च अदालतको न्यायाधीशहरु साराङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले खारेज गरेको हो ।

सडक डिभिजन कार्यायलयले अन्तिम पटक १० असारमा ३५ दिने सूचना निकालेर दायाँबायाँ २५ मिटर सडक खाली गर्न भनेको थियो, त्यसका विरुद्ध २८ वटा रिट परेको थियो ।

‘हाम्रो सूचनाको विरुद्धमा परेको अधिकांश रिट आज सर्वोच्चले खारेजी गरिदिएको छ । छिटपुट केही रिट बाँकी छन्, तिनीहरु पनि सोहि प्रकृतिका हुन् । हामीले काम सुरु गर्ने मुख्य स्थानहरुमा अब रोकिने कानुनी जटिलता हटेको छ,’ डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले अनलाइनखबरसँग भने ।

पटकपटक सूचना निकाल्दा पनि रिट पर्दै रोकिँदै गरेकोमा सडक विस्तारको कामले अब तीव्रता पाउने उनले बताए ।

पछिल्लो समय गत बैशाखमा हेटौंडा उपमहानगरपालिकाले सर्वपक्षीय निर्णय गरेर सडक विस्तारको काम अघि बढाउन डिभिजन सडक कार्यालयलाई अनुरोध गरेको थियो । सडक क्षेत्रमा भएका घरधनीले अदालतमा रिट दिएपछि काम रोकिएको थियो ।

वर्षौंदेखि सडक विस्तार योजना अलपत्र

सडक डिभिजन कार्यालय हेटौंडाले १५ भदौ २०६९ मा १५ दिनभित्र २५ मिटर चौडाइ सडकमा अतिक्रमित संरचना हटाउन सूचना जारी गरेको थियो । तर, उक्त सूचनाको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो । उक्त रिटविरुद्ध सुनुवाइ गर्दै सर्वोच्च अदालतले ६ कात्तिक २०७६ मा मात्रै परमादेश जारी गर्दै अतिक्रमित संरचना हटाउन भनेको थियो ।

त्यसबेला सर्वोच्चले २०३४ पछि निर्माण भएका सडकको दायाँबायाँ २५ मिटरमा पर्ने कुनै पनि संरचना भत्काउँदा सरकारले क्षतिपूर्ति दिन नपर्ने आदेशमा भनिएको थियो । ०२१ देखि २०३४ को अवधिमा ७ फिटमा बनाएका संरचना भत्काउँदा मात्रै क्षतिपूर्ति दिनुपर्ने सर्वोच्चको आदेशमा उल्लेख थियो ।

त्यसपछि पनि सडक विभागले पटकपटक सडक विस्तारको प्रयास गरेकोमा अदालतमा फेरि पनि मुद्दा पर्दा अघि बढ्न सकेको छैन ।

यादवका अनुसार हेटौंडाको रातोमाटेदेखि राप्ती पुलसम्म (हेटौंडा बजार क्षेत्र)मा एसियन हाइवे स्तरको ६ लेनको करिब ६ किलोमिटर सडक विस्तार गर्नुपर्ने छ ।

हेटौंडा उपमहनगरपालिकाका एक कर्मचारीका अनुसार सडक विस्तार गर्नुपर्ने क्षेत्रमा मकवानपुरका ठूला राजनीतिक दलका नेता र व्यापारीहरुको घर पर्ने भएकोले यस्तो विरोध हुँदै आएको छ ।

सडकको २५ मिटरभित्र बागमती प्रदेश पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, उपमहानगरपालिकाका वहालवाला उपप्रमुख राजेश बानियाँ, व्यापारी अरुणराज सुमार्गी लगायतको घर पर्ने ती कर्मचारीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?